पञ्चकन्या गापाबाट चोरिएको सामाजिक सुरक्षाको ५३ लाख कहाँ पुग्यो ?

कविलास: पञ्चकन्या गाउँपालिकाको वडा नं.– २ को वडा कार्यालयबाट हराएको ५३ लाख नगद ४५ दिन बितिसक्दा पनि चोरीमा संलग्न व्यक्ति पत्ता लागेको छैन । चोरीमा संलग्न व्यक्तिको पहिचान नहुँदा वडावासीले उक्त हराएको रकम हराइरहने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । कोरोनाको महामारी फैलिएसँगै उक्त घटना ओझेलमा परेको छ ।
गत ०७७ चैत २४ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट नगद झिकेर वडा कार्यालय कविलासको मिश्रगाउँमा राखेको अवस्थामा राति चोरी भएको थियो । वडा नं.– २ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि बैंकबाट ल्याएको ५० लाख र वडामा राजस्वलगायत अन्य रकम तीन लाख गरी ५३ लाख हराएको वडाध्यक्ष ध्रुव मिश्रले जानकारी दिएका छन् । उनले भने, ‘गेटको ताला, कार्यालयको मुख्य ढोकाको ताल्चा र पैसा राखेको दराजको कोठा र ताल्चा खोलेर पैसा निकालेको देखियो । ताल्चा फोर्न ढोकामा प्रहार गरिएको दाग नदेखिएको, ताल्चा पनि फेला नपरेकाले घटना शङ्कास्पद रहेको र वडा कार्यालयसँग राम्रोसँग परिचितबाट घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । वडामा रहेको सिसिटिभी रेकर्डमा मास्कसहित पूरा ज्यान ढाक्ने लुगा लगाएको मानिसले आठ–दश मिनेटमै पैसा निकालेर लगेको देखिएको छ ।’
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले वडासचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रहरीले तीनजनालाई सरकारी रकम सुरक्षा, व्यवस्थामा सावधानी नअपनाएको भनी अपराध विश्वासघात मुद्दामा अदालतमा पेस गरेको छ । प्रहरीले तीनजनालाई अदालतमा पेस गरेर अनुसन्धान जारी राखेको छ । सरकारी धनमाल जिम्मा जमानीमा राखेर न्यूनतम सुरक्षा प्रदान गर्न नसकेकोमा वडाका तीनजना कर्मचारी दोषी ठहरिएका हुन् । उनीहरूले पैसा झिकेर बैंकबाट लगेको देखिन्छ, वडा कार्यालयको दराज खोलेर पोको राखेकोे देखिन्छ, तर नगद नै राखेको र नराखेको विश्वस्त हुन प्रहरी सकेको छैन । प्रहरीले वडा कार्यालयमै पैसा आइपुग्यो कि आइपुगेन, किन एकैचोटि यति ठूलो रकम झिकेको, अरूलाई पैसा राखेको जानकारी नगराएको विषयमै केन्द्रित रहेर अनुसन्धान गरिरहेको छ । अदालतले सचिव सरिता रावतलाई तीन लाख धरौटीमा छाडेको छ भने कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई कोरोना सङ्क्रमण भएपछि त्रिशूली अस्पतालको कोरोना वार्डमा उपचार गराइरहेका छन् ।
गाउँपालिकाले चाँडो सामाजिक सुरक्षाको व्यवस्थापनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि वैकल्पिक व्यवस्था के हुन सक्छ भनेर पालिकाले मन्त्रालयलाई पत्रचार गरेकोमा मन्त्रालयबाट कुनै जानकारी निर्देशन नआएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । प्रहरीको अनुसन्धान र अदालतको प्रक्रिया अगाडि बढिरहेकाले चोरी घटनामा संलग्न पत्ता लगाउन अझै केही समय लाग्ने गाउँपालिकाको अध्यक्ष तेज (रमेश)बहादुर लामाले जानकारी दिए । वडा कार्यालयको ताला फुटाएरभन्दा पनि साँचोमार्फत ताला खोलेर रकम झिकेर लगेको घटनास्थलमा देखिएकाले चोरीमा संलग्न व्यक्ति कार्यालयसँग सम्बन्धित हुन सक्ने स्थानीयले बताएका छन् ।