अझै सतर्कता जरुरी (सन्दर्भ: कोरोना महामारी)

  •  फुर्पा तमाङ

स्वास्थ्य विज्ञका अनुसार गत सालको कोरोना (कोभिड– १९) को भाइरसभन्दा यसपालिको भाइरस कडाखालको देखिएको छ । बेलायतबाट नयाँ स्वरूपमा विकसित भएको युके भेरियन्ट नामबाट चिनिने कोरोना भाइरसले गत सालको तुलनामा यसपालि सङ्क्रमित हुनेलाई लक्षण देखिएको हो । यो लेख लेख्दासम्म नेपालकै पनि नयाँ भेरियन्ट पुष्टि भएको समाचार बिबिसी नेपाली सेवाले दिएको छ । नयाँ म्युटेन्ट भाइरसले बाल, युवा र वृद्धवृद्धासम्मलाई कडा लक्षण देखापर्ने दाबी गरिएको छ । अक्सिजन र भ्याक्सिनको उपलब्धता सहज नभएको हुँदा प्रत्येक नेपाली नागरिकले आफैँ सतर्कता र सजगता अपनाउनु जरुरी छ ।

कोभिडको भाइरस नयाँ स्वरूपमा विकसित हुँदै गएको पुष्टि भइसकेको छ । जति नयाँ स्वरूप (म्युटेन्ट)मा यो भाइरस विकास हुँदै गयो यसले जनस्वास्थ्यमा थप जटिलता सिर्जना गर्दै जाने स्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । यसरी तीव्र रूपमा फैलिँदै गएको भाइरसबाट हामी प्रत्येक नेपाली सङ्क्रमण हुनबाट कसरी जोगिने भन्ने नै ठूलो चुनौती हो । हामीलाई थाहा छैन कि प्रत्येक नेपाली नागरिकले कहिलेसम्ममा भाइरसबाट जोगिने भ्याक्सिन पाउने ? जबसम्म भ्याक्सिन उपलब्धता सहजता हुँदैन, तबसम्म हामीसँग सुरक्षित भएर बस्ने कुनै उपाय छैन । उसो त अक्सिजन पनि सहज ढङ्गले आपूर्ति एवम् उपलब्धता नहुँदा धेरैको अकालमा ज्यान गइरहेको समाचार आइरहेकाले भाइरसबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पूर्णतः पालना गरेर आफूलाई भाइरसबाट टाढा राख्नुको विकल्प हामीसँग छैन । यो वास्तविकतालाई हामी प्रत्येकले बुझौँ । ख्याल–ख्याल नगरौँ । उपाय भनेको एउटै हो, घरमै बसौँ र मानिसको सम्पर्कबाट टाढा रहौँ ।

गाउँघरमा निकै चलेको उखान छ, ‘हुलमुलमा ज्यान जोगाऔँ, अनिकालमा बिउ जोगाऔँ ।’ कति सान्दर्भिक लाग्छ यो नेपाली उखान । हाम्रा पितापुर्खाले त्यसै भनेको होइन रहेछ । एकपटक सोचौँ, उहिले औषधि विज्ञानको विकास नहुँदा मानव विकास क्रमको चरणमा कति दुःख भोगेको रहेछ ? हामी सानो छँदाको कुरा हो । विद्यालयमा छुट्टी हुँदा गाईवस्तु चराउन जङ्गल जानुपथ्र्यो । उर्केन श्याब्च्यी भन्ने भिरको आसपासका ओडारमा मानव खप्पर र कङ्काल प्रशस्त देखेको थिएँ । त्यसैगरी, दुर्सागङ, फङ्गोदी लम्डाको डाँडासम्मको ओडारमा पनि मानव खप्पर र कङ्काल देखेको थिएँ । उता सानो भार्खुतर्फ जाने ग्योनैबा, तबुप्विन्पे पोदोल, दुम्बुङ, कोगङ आदि स्थानमा पनि मानव खप्पर र कङ्काल देखेको हुँ । घरमा आई बाबुआमा र गाउँघरमा बुढापाकालाई सोध्दा उहिले झाडापखाला, उच्च ज्वरो आदि महामारी आएर मानिस बेलाबेलामा मरेका थिए रे । ती लास उठाउने मानिस नपाउँदा घरकै परिवारका सदस्यले थुन्से (दगा) वा घ्याम्पोमा हालेर बोकेर ओडारमा राख्ने गर्थे रे । कुनै परिवार सबै सोत्तर भएको सुनाउनुहुन्थ्यो । कुनै परिवारको मुस्किलले एक–दुईजना बाँचेका रे । यसकारण भिडभाडमा जाँदा रोग सर्ने र अनिकाल आयो भनेर बिउसमेत खायो भने खेतबारीमा रोप्न नपाउँदा त्यो बालीको बिउ नै लोप हुने भएकाले यस्तो उखान जन्मेको रहेछ । अहिले पनि यो उखानको सान्दर्भिकता रहेको देखिन्छ । यसरी महामारीको बेलामा मरेकाको लास ओडारमा राख्ने चलन उहिले रहेछ । अरू बेला मरेकाको लास डाँडामा लगेर जलाउने चलन रहेछ । तामाङ जातिमा लास गाड्ने वा खोलाछेउमा लगेर जलाउने चलन उहिले पनि छैन रहेछ । अहिले पनि छैन ।

अन्त्यमा, यो महामारीको अहिलेसम्म ओखती छैन । यसको रोकथामका लागि केही विकसित देशले भ्याक्सिन विकास गरेका छन् । ती भ्याक्सिन अहिले विश्वबजारमा सहज तरिकाले उपलब्ध छैन । पहिलो कारण जुन देशले भ्याक्सिन बनाए, ती देशले पहिलो प्राथमिकता आफ्नो देशका नागरिकलाई दिने नै भए । दोस्रो, भ्याक्सिन बनाउने देश र भ्याक्सिन ल्याउने देशबीच सरकारी तहमा कूटनीतिक रूपमा कुराकानी हुनुपर्छ । साना केटाकेटीले पसलमा गएर चाउचाउ वा बिस्कुट किनेर ल्याउनेजस्तो सजिलो छैन । अतः दुई देशबीच कूटनीतिक तहबाट कुराकानी भई नेपालमा भ्याक्सिन ल्याउँदा र प्रत्येकले खोप लाउन पाउने दिन नजिक छैन भनेर बुझ्नैपर्छ । अतः हामी प्रत्येकले खोप पाउने सुनिश्चितता नहुँदासम्म भाइरसबाट बच्ने उपाय अवलम्बन गर्नुको विकल्प छैन । सरकारले जारी गरेको निषेधाज्ञाको पालना गरौँ । कानुन र स्वास्थ्य मापदण्डको पालना गर्नु भनेकै आफूलाई सुरक्षित राख्नु हो । यो कुरा बुझौँ ।
त्यसैले,
तपाईं–हामी सबैजना घरमै बसौँ
कोरोना खोज्दै बाहिर घुम्न नजाऔँ
स्वास्थ्य मापदण्डको पालना गरौँ
हामी सबैजना भाइरसबाट सुरक्षित रहौँ ।

phurpatamang10@gmail.com