बैंकको लगानीबिनै भाल्चेमा व्यावसायिक कालिजपालन

किस्पाङ: नुवाकोटको किस्पाङ गाउँपालिका– १ भाल्चे नुचेतमा बैंक तथा वित्तीय सङ्घसंस्थाको लगानीबिनै पनि उदाहरणीय र आशालाग्दो कालिजपालनले व्यावसायिक सफलता हासिल गरिरहेको छ । बैंकलाई कृषि व्यवसायी प्रवद्र्धनमा लगानी गर्न सरकारले नीति बनाए पनि बैंकले जोखिम हुने डरले राम्रो धितो माग गर्ने गरेका छन् ।

राजनीतिक अस्थिरता र बेरोजगारबाट निराश युवाका लागि आशालाग्दो कालिजपालन व्यवसाय भाल्चेका पाँचजना युवाले गत वर्षबाट सुरु गरेका छन् । व्यवसाय गर्न बैंक तथा वित्तीय सङ्घसंस्थाको मुख ताक्ने अहिलेको प्रवृत्तिलाई भाल्चेका पाँचजना युवाले बाइबाई गरिदिएका छन् । ०७६ पुसमा व्यक्तिगत ६० लाख लगानी गरी १५ रोपनी जमिनमा एक हजार कालिजका चल्ला बुटवलबाट १४ सयको दरमा खरिद गरेर सुरु गरेको फार्ममा पाँच सयवटा भाले–पोथी अहिले रहेका छन् । किस्पाङ वाइल्ड लाइफ एन्ड एग्रो प्रा.लि. फार्म दर्ता गरेर सुरु गरेको कालिजपालन व्यवसायमा पाँचजना सञ्चालक रहेका छन् । गत वर्ष कालिजपालन सुरु गर्नासाथ लकडाउन भएपछि निराश नबनी सञ्चालकले हिम्मत गरेर व्यवसायलाई थप विस्तार गरेका छन् । फार्ममा अहिले कालिजको ह्याचिङ गरेर चल्ला उत्पादन सुरु गरिरहेको सञ्चालक शुक्रमान घलेले बताए । बुटवलबाट दाना ल्याएर कालिजपालन गरिरहेको बताउने शुक्रमानले आगामी दिनमा दाना फार्ममै बनाउने योजना रहेको बताए । उनले भने, ‘अहिलेको निषेधाज्ञाले दाना ढुवानीमा समस्या परिरहेको छ ।’

गत वर्ष एक हजार चल्ला राखेर सात महिनापछि तीन सय ५० वटा तीन हजारदेखि तीन हजार पाँच सयमा बिक्री गरेको, दुई सयभन्दा बढी जंगली जनावरले नास गरेको सञ्चालक कालु लामाले बताए । कालिजपालनमा गबारो र रानीखेत रोग लाग्ने गरेको उनले बताए । दाना बुटवलदेखि फार्म आइपुग्दा एक केजीको लागत मूल्य एक सयभन्दा बढी परेको अर्का सञ्चालक धामीसिंह लामाले बताए । कालिजपालनबारे कुनै ज्ञान नभए पनि युट्युब र गुगलबाट सर्च गरेर जानकारी लिएर व्यवसाय थालेको बताउने पाँचजना सञ्चालकको ६–७ हजार कालिजपालन गरेर गाउँका अन्य युवालाई पनि आकर्षण गराउने योजना रहेको छ । कालिजलाई दाना र स्थानीय घाँस खुवाएर हिँडाएर पालन गर्नुपर्ने उनीहरूको भनाइ छ । चराएर पालन नगर्दा कालिजको ओरजिनल हराउने बताउने शुक्रमान डेढ किलोभन्दा ठूलो कालिजको स्वाद अर्गानिक नहुने बताउँछन् । अहिले उनीहरूले कालिजको अन्डा र चल्ला बिक्री गरिरहेका छन् ।
अहिले सञ्चालक पाँचजना नै यो व्यवसायमा सक्रिय रहेका छन् । कालिजपालनले किस्पाङ गाउँको भाल्चे नुचेतको पहिचान दिएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताए । गत हप्ता फार्म देखाउन पुगेका अध्यक्ष लामाले कालिजपालनमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न आग्रह गर्दा अनेक बहाना बनाउँदै पन्छिरहेको बताए । सरकारले कृषि व्यवसायमा वाणिज्य बैंकलाई अनिवार्य लगानी गर्ने नीति बनाए पनि बैंकहरू पन्छिरहेको उनको भनाइ छ । गाउँपालिकामा रहेको सानिमा बैंकलाई लगानी गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै चासो नदिएको अध्यक्ष लामाले बताए । बैंकले व्यवसायीको हौसला बढाउनभन्दा पनि युवालाई निरुत्साहित बनाइरहेको उनले दुःखेसो पोखे ।
१५ रोपनी क्षेत्रफलमा किस्पाङ वाइल्ड लाइफ एन्ड एग्रो प्रा.लि. फार्मले चिटिक्क पारेर बनाइएका टहरामा एक हजारभन्दा बढी कालिज खेलिरहेका लोभलाग्दो दृश्य अहिले देखिन्छ । डाँडामा प्राकृतिक वासस्थानजस्तै निर्माण गरेर सञ्चालन भइरहेको फार्मलाई चारैतिरबाट तारले घेरिएको छ । कालिज फार्म जिल्लाकै पहिलो फार्म भएको दाबी उनीहरूले गरेका छन् । यो फार्मबाट कालिजका चल्ला लगेर अन्यत्रका युवाले व्यावसायिक कालिजपालनसमेत गरिरहेका छन् । उनीहरूले कालिजको चल्लासँगै व्यावसायिक परामर्श र प्राविधिक सहयोगसमेत गर्दै आइरहेका छन् । जिल्लामा कालिज व्यवसायलाई विस्तार गर्ने अभियानमा लागिपरिरहेका उनको समूहले त्यस फार्ममा भविष्यमा रिसोर्ट सञ्चालन गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माण गर्ने सोच बनाएका छन् । अहिले फार्मबाट कालिजको व्यावसायिक उत्पादनसमेत सुरु भइसकेको छ ।

सरकारले नेपालमा कालिज फार्मको व्यावसायिक सुरुवात खुला गरेपछि व्यवसाय सुरु गरेका उनीहरू थप जग्गा खरिद गर्न र विस्तारका लागि बैंकसँग ऋण लिन धाइरहेका छन् । फार्ममा एकै प्रजाति (रङ नेक)का कालिज छन् । यस प्रजातिको कालिजले चैत, वैशाख र जेठको सिजनमा अन्डा पार्छ । एक सिजनमा ४० देखि ५० वटासम्म अन्डा उत्पादन गर्छ । यहाँ उत्पादित कालिज जिल्लामै बिक्री हुने गरेको छ । कालिजलाई जीवितै ओसार–पसार गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ । त्यसैले यसको मासु मात्र बिक्री–वितरण हुने गरेको छ । सुत्केरी र युरिकएसिडका बिरामीका लागि कालिजको मासु निकै उत्तम मानिन्छ । युरोपमा त चिकित्सकले यसको मासुलाई औषधिकै रूपमा प्रयोग गर्न सल्लाह दिने गरेका छन् । नेपालमा पनि अचेल यसको बिक्री–वितरण बढ्दै गएको छ । अचेलका युवाको मानसिकता नै जसरी हुन्छ विदेश जाने बनिरहेको छ । तर, यी उद्यमीहरू स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । रचनात्मक सोच राखी स्वदेशमै केही गर्न उनीहरूले अन्य युवालाई सुझाब दिइरहेका छन् ।