कोभिड अस्पताललाई सहयोग

धादिङ: कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ । स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभावका कारण सङ्क्रमितको उपचारमा समस्या भइरहेको छ । कोरोना उपचारमा भइरहेको समस्यालाई ध्यानमा राखी मुक्तिनाथ विकास बैंक उपक्षेत्रीय कार्यालय धादिङ गल्छीले नगद सहयोग गरेको छ । कोरोना सङ्क्रमण व्यवस्थापनका लागि अक्सिजन भर्न तथा ढुवानीका लागि नगद ८० हजार रुपैयाँ सहयोग गरेको बैंकका उपक्षेत्रीय प्रबन्धक प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

उक्त रकम मुक्तिनाथ विकास बैंक धादिङ शाखाका प्रमुख विनोद खतिवडाले धादिङ अस्पताल विकास समितिलाई हस्तान्तरण गरेका हुन् । धादिङ अस्पतालले सदरमुकाममा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि बैंकले सहयोग गरेको हो । त्यस्तै, धादिङ उद्योग वाणिज्य सङ्घले पनि नगद १५ हजार सहयोग गरेको छ । जिल्लाका नागरिक समाजले अस्पताललाई झुल ६० थान, थर्मस १० थान र पानी तताउने भाँडा १० थान प्रदान गरेका छन् । अस्पतालमा ४२ जना कोरोना सङ्क्रमित उपचाररत छन् । त्यस्तै अस्पताललाई नीलकण्ठ नगरपालिका– ८ साँघुटारका राम श्रेष्ठले पिउने पानी (मिनिरल वाटर), ढोला खाद्य स्टोरका इन्द्रकुमार श्रेष्ठले ६ हजार पाँच सय रुपैयाँबराबरको खाद्य सामग्री सहयोग गरेका छन् ।