कोरोना रोकथाममा स्थानीय तह सक्रिय एक सय ८१ बेडको आइसोलेसन कक्ष

विदुर: नुवाकोटमा कोरोना भाइरसको दोस्रो लहरका कारण जोखिम बढ्दै गएसँगै स्थानीय तहले सक्रियता देखाउन थालेका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि स्थानीय तहले सचेतना कार्यक्रम सञ्चालनसँगै एक सय ८१ शय्याको आइसोलेसन तयार बनाएका छन् । नुवाकोटमा रहेका १२ वटै स्थानीय तहले एक सय ८१ बेडको आइसोलेसन तयार बनाए पनि सङ्क्रमितको रोजाइ त्रिशूली अस्पताल बन्ने गरेको छ । सामान्य लक्षण भएका सङ्क्रमित पनि त्रिशूली अस्पताल आउन थालेपछि आइसोलेसन कक्ष भरिएको छ । त्रिशूली अस्पतालमा अहिले मध्यम र गम्भीर प्रकारका सङ्क्रमितले आइसोलेसन कक्ष पाउन कठिन छ ।

विदुर नगरपालिकाले बट्टारमा रहेको नुवाकोट तेक्वान्दो सङ्घको कभर्डहलमा २२ र सिटी कम्युनिटी अस्पतालमा १५ गरी ३७ शय्याको आइसोलेसन कक्ष तयार गरेको विदुर नगरपालिका कोभिड फोकलपर्सन रामराजा भण्डारीले जानकारी दिए । उनका अनुसार आइसोलेसन कक्षमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पल्स–अक्सोमिटरसहित चिकित्सकको व्यवस्था गरिएको छ । जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा कोरोनाको उपचारका लागि ‘कोभिड– १९ अस्थायी अस्पताल’को स्थापनासहित थप २५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनका अनुसार अस्पतालमा डाक्टरसहित पाँचजना स्वास्थ्यकर्मीलाई २४सै घन्टा खटाइएको छ ।

जिल्लाको गाउँपालिकातर्फ लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा आठ, किस्पाङमा पाँच, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा नौ, दुप्चेश्वरमा आठ, पञ्चकन्यामा पाँच र ककनीमा पाँच शय्याको आइसोलेसन कक्ष तयार बनाइएको छ । स्थानीय तहमा हाल एक सय ८१ शय्या भए पनि सङ्क्रमित बिरामी भने न्यून सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । सङ्क्रमणको लक्षण देखिएकालाई पालिकाको आइसोलेसनमा राख्न सकेमा त्रिशूली अस्पतालमा बिरामीको चाप घटाउन, अतिआवश्यक पर्ने बिरामीको लागि शय्या उपलब्ध गराउन, बिरामीले पनि उपचार सुविधा सहजै पाउन सक्ने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको बताए ।

त्रिशूली अस्पतालमा दरबन्दी अभावले जनशक्ति कम छन्, त्यसमा पनि आधाभन्दा बढीलाई आफैँ सङ्क्रमित भएसँगै कामको दबाब बढी परेको छ । उता स्थानीय तहले बनाएको आइसोलेसनमा खटाइएका स्वास्थ्य जनशक्ति बिरामी पर्खिरहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालिम गण र त्रिशूली अस्पतालमा गरेर दुई सय २२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टाइन (सुरक्षित वासस्थान)लाई स्तरोन्नति गरेर हाल आइसोलेसन शय्यामा रूपान्तरण गरेका छन् । स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिन्डरसहितको सुविधा उपलब्ध रहेको छ । कोरोना सङ्क्रमितलाई स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महसुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारका लागि शय्याको अभाव नहुने भएको छ ।

आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजनसहित अक्सिजन कन्सन्ट्रेटर, पल्स–अक्सोमिटर, पिपिई, भाइरस परीक्षण गर्ने एन्टिजेन किट, पिसिआरका लागि स्वाब सङ्कलन गर्न भिटिएमसहितको सुविधा रहेको छ । हाल दुई सय शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर तीन सयसम्म पु¥याउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।