हाम्रा कुरा : एक भएर कोरोना विरूद्ध लडौं

कोरोना महामारीले नेपाल थला परेको छ । यो अवस्थामा सबै मिलेर यसलाई पराजित गर्नु बाहेक अर्को विकल्प छैन । सरकार, राजनीतिकर्मी, सर्वसाधारण, नागरिक समाज, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत सबै संघ–संस्था मिलेर अघि बढ्ने हो भने कोरोनालाई सजिलै पराजित गर्न सकिन्छ । सरकारले कोरोना खोप जतिसक्दो चाँडो आम नागरिकको पहुँचमा पु¥याउनुपर्छ । अस्पतालमा प्रयाप्त मात्रामा अक्सीजन र बेडको ब्यवस्था जतिसंक्दो चाँडो मिलाउन सरकारले जोड दिनुपर्छ । भारतमा कोरोना बढेसँगै नेपालमा पनि कोरोना बढिरहेकै छ । त्यसप्रति सरकारको ध्यान जान सकेन । जसका कारण कोरोनाले अहिले महामारीको रूप लिईरहेको छ ।

       हिजोको गल्ती कमजोरीलाई सच्याउँदै सबै दलको अर्जुन दृष्टि कोरोना पराजित गर्नमै केन्द्रित हुनुपर्छ । एकले अर्कालाई आरोप लगाएर समस्याको हल हुँदैन । आफ्नो महत्वाकांक्षा त्यागेर सबैलाई समेटी अघि बढ्नु सरकारको पनि कर्तब्य हो । सरकार भाषण र उखान–टुक्कामा रमाउनु भन्दा पनि जनताका समस्याप्रति गम्भीर बन्नुपर्छ । कोरोनाका कारण ७४ जिल्लामा निषेधाज्ञा जारी छ । जसले गर्दा दैनिक मजदुरी गरेर खाने गरीव नागरिकको अवस्था गम्भीर हुँदै गएको छ । यतातिर पनि सरकारको ध्यान जान सकोस् । देशमा अहिले तीन तहको सरकार छ । यस्तो अवस्थामा प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ । प्रदेश सरकार कसका लागि भन्ने प्रश्न चौतर्फी उठ्न थालेको छ । प्रदेश सरकारले आफ्नो जनताका लागि न्युनतम काम पनि गरेको देखिंएन । निर्वाचनका बेला देखिएका प्रदेश सांसद निर्वाचन जितेपछि एक दिन पनि देख्न सकिएन भन्ने जनगुनासो बढिरहेको छ । यो संकटका बेला प्रदेश सरकारको अझ महत्वपूर्ण भूमिका हुनुपर्ने थियो, तर जनताले महशुस गर्न पाएनन् । वाग्मती प्रदेशकै कुरा गर्नुपर्दा सरकार हेटौंडामै सिमित भईरहेको छ । अन्य भू–भाग पनि वाग्मती प्रदेशभित्रै पर्छन् भन्ने उसलाई ख्याल भएको देखिंदैन ।

        पहिलो चरणको कोरोना महामारीमा संक्रमण ढिला गरी फैलिएको थियो । स्थानीय तहमा अस्थायी आईसोलेसन र होल्डिङ सेन्टर प्रयाप्त बने । निश्चित लक्षण देखाउँदै आएको महामारीमा तिनै तहका सरकारले हात धुन र मास्क लगाउन सिकाउँदैमा करोडैं खर्च गरे । सहजै कोरोनालाई जितेर फर्किनेको तथ्याङ्क राखियो, कथा पनि बन्यो । संक्रमितलाई अस्पतालमा राख्न र स्वास्थ्य सामाग्री जुटाउन सरकारलाई पसिना काढ्न खासै परेन । भएका र किनेका स्वास्थ्य सामाग्री केही आरोप–प्रत्यारोप बीच प्रयाप्त भए । पहिलो महामारीलाई छल्यौ पनि । अब समय सहज छैन । महामारीले पूर्णविराम लगाउँदैन भन्ने हेक्का राख्ने बेला आएको छ । इतिहासलाई केलाउँदा पनि समय–समयमा आएका महामारीले पनि आफूलाई परिवर्तन गर्दै मानव स्वास्थ्यसँगको युद्ध रोकेको छैन । विश्वलाई नै आच्छु–आच्छु बनाएको कोरोनाको दोस्रो चरणको ‘भेरियन्ट’ ले छिमेकी मुलुक भारतसहित नेपाललाई गलाउन थालेको छ । यो महामारीलाई रोक्नु त परकै कुरा, तत्कालका लागि बाँच्नु र बचाउन सके नै ठूलो काम हुनेछ ।