नेताका आडमा ठेकेदारले काम नगर्दा बालाजु-रानीपौंवा सडक अलपत्र

ककनी: नुवाकोटको पहिलो सडक पासाङल्हामु मार्ग ठेकेदारले सम्झौता गरेको एक दशक पुग्न लाग्दासमेत निर्माणकार्य सुरु नगर्दा अलपत्र परेको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरेबेटी नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका बागेश्वरीका शारदाप्रसाद अधिकारी उक्त सडक निर्माणको काम छाडेर फरार भएका छन् ।

     काठमाडौं-नुवाकोट-रसुवाको पासाङल्हामु राजमार्गको बालाजु-रानीपौंवा खण्डको काम छाडेर अधिकारी टाप कसेका हुन् । भारतीय ठेकेदारसँगको जेभीमा अधिकारीको सैलुङ कन्स्ट्रक्सनले काम गरिरहेको सडक करिब एक दशकदेखि अलपत्रमा अवस्थामा रहेको छ । काम सुरु गरेको तीन वर्षमा सकिने भनेर सम्झौता गरेको भए पनि सरकारलाई असहयोग गर्ने नाममा उनले ठेक्का हत्याउने र काम नगर्ने गरेका छन् । देशैभर उनले ठेक्का लिएका दर्जनौँ निर्माणका काम कही पनि राम्रोसँग अघि बढाएका छैनन् । ठेकेदार अधिकारीलाई कारबाहीको माग गर्दै पीडित उपभोक्ताले सयौँपटक जिल्लादेखि केन्द्रसम्म आन्दोलनसमेत गरेका छन् । कतिपय अवस्थामा जनताको आँखामा छारो हाल्न राजनीतिक दलका नेताहरूले पनि आन्दोलन गरेजस्तो गरेका छन् । यद्यपि उनीहरूले दबाब दिने हो भन्ने सडकको काम तीव्र गतिमा हुन्छ भन्ने आशा नागरिकमा अझै पनि रहेको छ ।

      सडक स्तरोन्तिका नाममा भत्काएर छाडिएपछि त्यस क्षेत्रका जनताको आर्थिक गतिविधि शून्य भएको छ । सडकको अवस्था नाजुक भएकाले बिरामी बोकेका एम्बुलेन्स आवत–जावत गर्न नसक्दा दर्जनौँभन्दा बढीले अकालमा ज्यान गुमाएका छन् । वर्षाका समयमा त उक्त सडकमा गाडी नचलेर खट र स्ट्रेचरमा बिरामी बोकेर नुवाकोटबाट काठमाडौं लैजानुपरेको स्थानीय अशोक तामाङले बताए । सडकमार्गकै कारण गत वर्ष एक बिरामीको बाटोमै मृत्युसमेत भएको थियो । पछिल्लो समयमा नुवाकोटका नागरिक र नेतृत्वले सडकमार्ग नै अवरुद्ध गरेर आन्दोलन चलाएपछि केही काम भएकोजस्तो देखिएको थियो । यद्यपि पछिल्लो साता सडकमा ठेकेदारका कामदार देखिएका छैनन् । अहिले पूर्ण रूपमा काम बन्द भएको छ । यस्तो काम गर्न निषेधाज्ञाको बीचमा पनि सरकारले रोकेको छैन । तर, अघिकारी बहाना बनाएर भागेका छन् । उनले असारसम्ममा बालाजुदेखि रानीपौंवासम्मको सडक कालोपत्रे नै गर्छु भनेर सडका आयोजनामा यसअघि प्रतिबद्धता जनाएका थिए ।

      सरकारको पटक-पटक ध्यानाकर्षण गराउँदासमेत सडकमा काम भएको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसँग नुवाकोटका सबै सांसदले मन्त्रालयमै पुगेर सडक निर्माणको सुस्तता हटाइदिन अनुरोध गरेपछि यसअघि उक्त सडकको आयोजना प्रमुख भएर ठेकेदारसँग कमिसन खाएर कुनै ताकेतासमेत नगरी बसेका नीरज शर्माको सरुवा भएको थियो । यद्यपि नयाँ आएका आयोजना प्रमुख पनि सडक निर्माणको काममा त्यति सक्रिय भएको देखिएको छैन । समयमा नै सडक मार्ग स्तरोन्नति हुन नसक्दा पर्यटकीय स्थल ककनीसमेत ओझेलमा परेको छ । दैनिक एक हजारभन्दा बढी पर्यटक ककनी आउने गरेकोमा सडकमार्गकै कारण पर्यटक ककनी जान रुचाउँदैनन् । जसको कारण अहिले ककनी सुनसान देखिन्छ ।