चिज बिक्री नहुँदा उत्पादन बन्द

धुन्चे: नेपालकै तेस्रो गन्तव्यको रूपमा परिचित रसुवाको लाङटाङमा पर्यटकको आवत-जावत हुन छाडेपछि त्यहाँ उत्पादित चिज बिक्री नहुँदा स्टोरमै अलपत्र परेको छ ।

      नेपालकै जेठो र उच्च स्थानमा रहेको चिज कारखाना लाङटाङले उत्पादन गरेको चिज पर्यटकबाट खपत हुने गरेको थियो । विगत एक वर्षदेखि कोरोना सङ्क्रमण बढेपछि विदेशीको आगमन बन्द हुँदा त्यहाँ उत्पादित चिज तथा मख्खन बिक्रीमा समस्या आएको चिज केन्द्रका केन्द्रप्रमुख कग्याल्पो तामाङले जानकारी दिए । करिब चार सय चौँरीबाट उत्पादन हुने दूध आपूर्ति गर्ने गरेका २१ जना किसानले चिज तथा मखन बिक्रीमा समस्या आएपछि गत असोज १५ बाट नै उत्पादन बन्द गरिएको बताइएको छ । केन्द्रप्रमुख तामाङका अनुसार गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएको पाँच लाख मूल्यबराबरको मख्खन अलपत्र परेको छ । लामो समयसम्म राख्दा चिजको तौल घट्नाले नोक्सानी हुने भएकाले दुग्ध विकास संस्थानको काठमाडौंस्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग गरिरहेको केन्द्रप्रमुख तामाङले बताए ।