निषेधाज्ञामा रोकिएन बेत्रावती–धुन्चे–स्याफ्रुबेंसी सडक मर्मत

धुन्चे: रसुवाको लाइफलाइन सडक पासाङल्हामु राजमार्गको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेंसी सडकखण्डको मर्मत गर्ने कार्य निषेधाज्ञाको असहज परिस्थितिमा समेत धमाधम भइरहेको छ । धुन्चे हुँदै रसुवागढी जोड्ने एक मात्र बेत्रावती-धुन्चे-स्याफ्रुबेंसी सडकखण्डको मर्मत कार्य कोरोना महाविपत्तिको असहज अवस्थामा समेत प्राथमिकतामा परेको छ ।

     सडक डिभिजन कार्यालय नुवाकोटले १३ वटा प्याकेज बनाएर बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्मको सडक चालू आवको असारसम्म टेन्डर गरेर ठेक्का लगाएको थियो । आव ०७७/७८ को बजेटबाट २० करोडको ठेक्का लगाएर सडकको खाल्डा-खुल्डी टाल्ने, ग्याबिन वाल लगाई सडक चौडा गर्ने, मोडमा ढलान र कालोपत्रे गर्ने कार्य अहिले तीव्र रूपमा भइरहेको छ । १३ प्याकेजमध्ये चारवटा प्याकेजका ठेकेदारले भने सम्झौता गरेर काम सुरु गरेका छैनन् । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रु जोडिने ५२ किलोमिटर यो सडकखण्डमा अहिलेसम्म ५० प्रतिशत मात्र मर्मतकार्य सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । धुन्चे-स्याफ्रुबेंसी खण्डमा चार हजार वर्गमिटर खाल्डा-खुल्डी कालोपत्रे गरेर टाल्ने काम र राम्चे-ग्राङ सडकखण्डको तीन हजार वर्गमिटर खाल्डा-खुल्डी कालोपत्रे गरेर टाल्ने तथा एक सय ५० मिटर सडक ढलान गर्ने कार्य राम्चे नेसनल कन्स्ट्रक्सनले सम्झौता गरेर काम सुरु नगरेपछि पत्राचार गरेर सचेत गराइएको कार्यालयले जानकारी दिएको छ । सम्झौता गरेर काम सुरु नगर्ने ठेकेदार चामसिंह लोप्चनलाई कार्यालयले कारबाही अगाडि बढाएको छ ।

    त्यसैगरी, बागमती प्रदेश सभाका सदस्यसमेत रहेका सांसद प्रेम तामाङ र रमेश लामिछानेले सोलेदेखि त्रिशूली नदी किनार (मैलुङबाट स्याफ्रु जोडिने सडक)सम्म साढे ६ किलोमिटर सडकमा ३ सेन्टिमिटर मोडाइको कालोपत्रे ओभरले गर्ने तथा एक सय २० मिटर सडक ढलान गर्ने कार्यको ठेक्का सम्झौता गरेर एक महिना बितिसक्दासमेत सुरु गरेका छैनन् । वर्षात्को मौसम सुरु हुने समय भइसकेकाले ठेक्का सम्झौताअनुसार निर्माण कार्य अगाडि बढाउन सांसदलाई कार्यालयले पत्राचार गरे पनि अनेक बहाना बनाएर काम सुरु गर्न आलटाल गरिरहेका छन् । सांसद नै ठेकेदार भएकाले कार्यालय अन्य ठेकेदारलाई जस्तो कडाइ नगर्दा यो वर्षात्मा सडक सास्ती धुन्चेवासीले व्यहोर्नुपर्ने भएको छ । यो सडकखण्डकै ठाडे–सोले सडकखण्डको खाल्डा–खुल्डी टाल्न ४१ सय वर्गमिटर कालोपत्रे गर्ने कार्यको ठेक्का सम्झौता गरेका गौरीगाई निर्माण सेवाका ठेकेदार रेमकुमार पौडेलले गत ०७७ चैतमा म्याद सकिएको डेढ महिना बितिसक्दा पनि निर्माणकार्य थालनी नगरी सम्पर्कविहीन भएकाले कालोसूचीमा राख्ने प्रक्रिया कार्यालयले अगाडि बढाएको छ । चालू आवमा १३ वटा प्याकेजमा टेन्डर गरेर सडक मर्मत अगाडि बढाएको भए पनि ठेकेदारले समयमा काम नगर्दा आवको डेढ महिना बाँकी हुँदासम्म ५० प्रतिशत मात्र निर्माणकार्य सम्पन्न भएको छ । यस पत्रिकाको सम्पादक उक्त सडकखण्डको स्थलगत निरीक्षण र जानकारी लिन गत हप्ता पुग्दा नौवटा खण्डमा काम राम्रोसँग स्वास्थ्य मापदण्ड पालना गरेर गरिरहेको देखेको थियो ।

    सरकारले गल्छी-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक दक्षिण एसियाली मापदण्डको निर्माण गरिरहेको भए पनि सदरमुकाम धुन्चे जोडिने बेत्रावती, कालिकास्थान हुँदै धुन्चे, स्याफ्रु (त्रिशूली नदी किनार) को पासाङल्हामु सडक मर्मतलाई महत्व दिएर बजेट विनियोजन गरेको डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए । गल्छी हुँदै मैलुङ, स्याफ्रुबेंसी, रसुवागढी सडक निर्माणाधीन रहेकाले चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिने सामान बोक्ने ट्रक, कन्टेनर धुन्चे हुँदै आवत-जावत गरिरहेका छन् ।

       निर्माण व्यवसायीले प्रतिस्पर्धामा काम लिने सम्झौता भएपछि अनेक बहाना बनाएर काम अगाडि नबढाउने प्रवृत्ति अन्त्य हुनुपर्ने माग नागरिक समाज रसुवाको अध्यक्ष बाबुलाल तामाङले गरेका छन् । ठेक्का हात पार्ने अधिकांश निर्माण व्यवसायी रसुवाली भएकाले स्थानीयले विरोध गर्दैनन् । स्थानीयले चासो नदिँदा सडक मर्मतकार्य निर्धारित समयमा हुन सकेको छैन । स्थानीय उपभोक्ता नै ठेकेदारसँग मिलेपछि काम नगर्ने ठेकेदारलाई कारबाही गर्न अप्ठ्यारो भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । अन्य जिल्लामा विकास निर्माणमा स्थानीयले निगरानी गर्ने, उजुरी दिने चलन छ । तर, रसुवामा स्थानीय चुप बस्ने प्रवृत्तिले ठेकेदारलाई गुणस्तर र निर्धारित समयमा काम सम्पन्न गर्न दबाब दिने समूहको खाँचो रहेको उनले बताए । रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले सहजीकरण र सहयोग गरिदिएकाले कोरोनाको महाविपत्तिमा समेत सडक मर्मतको काम धमाधम गर्न पाएको डिभिजन प्रमुख भण्डारीको भनाइ छ ।