लाङटाङ खोला जलविद्युत्को निर्माणकार्य सुरु

धुन्चे: रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ मा बन्न लागेको २० मेगावट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना निर्माणकार्य आइतबारबाट सुरु भएको छ ।

      लाङटाङ खोला जलविद्युत् आयोजनाका सहायक योजना प्रमुख नारायणप्रसाद सुवेदीका अनुसार चार अर्ब पाँच करोड रुपैयाँको लागतमा २०८० साल असार मसान्तसम्ममा बन्ने गरी निर्माणकार्य सुरु भएको छ । आयोजनाको वार्षिक अनुमानित आम्दानी प्रथम वर्षमा ७६ करोड रहेको र वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै गएर वार्षिक आम्दानी ९२ करोड रहने बताइएको छ । यस आयोजनाले दोमने क्षेत्रबाट लाङटाङ खोलाको पानी बाँधबाट करिब तीन किलोमिटर लामो हेडरेस टनेल हुँदै स्याफ्रुबेंसीमा रहेको पावरहाउसमा पुगी विद्युत् उत्पादन हुनेछ । प्रमुख संरचना भनेको बाँध, डिसेल्ट्यिाङ बेसन, हेडरेस टनेल, प्रेसर टनेल र पावरहाउस रहेको छ । आयोजनाको विद्युत् उत्पादन लाइसेन्स, विद्युत् खरिद–बिक्री सम्झौता, ग्रिड कनेक्सन सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कार्य सम्पन्न भइसकेका छन् ।

      आयोजनाको हाइड्रोलोजी अध्ययन विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन सम्पन्न गरी आइतबारबाट निर्माण थालेको छ । निर्माण शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल, गोसाइँकुण्ड गाउँपालिकाक अध्यक्ष कैसाङनुर्पु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख सुष्मा राना, जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धानका अधिकृत सविन श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख लव सापकोटा, एमालेका जिल्ला कमिटीका अध्यक्ष कर्णेल तामाङ, नेपाली काङ्ग्रेसका जिल्ला सभापति पेम्बाछिरिङ तामाङ, वडाध्यक्ष सिङ्गेडिण्डुप तामाङ, जिल्ला समन्वय समितिका सदस्यलगायत स्थानीय बुद्धिजीवी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।