कोरोना महामारीबीच उज्यालो खोजौँ

सकेसम्म प्रकृतिसँग नजिक रहने कोसिस गरौँ ।
प्रकृतिसँगको सहकार्य नै मानव स्वास्थ्यका लागि लाभदायक हुनेछ ।

  •  सज्जन उत्सुक सापकोटा

ब्रह्माण्डीय अस्तित्वमा एउटा नियम छ– दुःख छ र त सुख पनि छ । अँध्यारो छ र त उज्यालो पनि । नकारात्मक छ र त सकरात्मक पनि छ । अनि कालो छ र त सेतो पनि छ । यी दुवै विपरीत गुणको समान उपस्थिति छ पूरा पृथ्वीमा ।
पृथ्वीमा आज अस्तित्वमा भेटिएका सम्पूर्ण प्राणीमध्ये सबैभन्दा विशिष्ट र परिष्कृत प्राणी मानिन्छ मानव । मानव जाति विशेष रूपमा आफ्नो बुद्धि र चेतनास्तरका कारण अन्य जातभन्दा माथिल्लो स्तरमा छ । मानव जातिले यही विशेष गुणको प्रयोग गरेर आफ्नो भाषा, संस्कृति, सामाजिक, मूल्य–मान्यताअनुसार अगाडि बढ्दै आजको दिनसम्म आइपुग्दा एक उच्चतम तहको भौतिक विकास गरिसकेको छ । जसले आज मानव जातिलाई शान्ति दिन सकेको छैन । मानवले भौतिक विज्ञानको उपयोग गरेर विकास गरेको यन्त्र–उपकरणले भौतिक सुख, सुविधा दिए पनि शान्ति दिन सकेको छैन । भौतिक विज्ञानले वर्तमान अवस्थासम्म आइपुग्दा धेरै ब्रह्माण्डीय रहस्यको पर्दा उधार्न सफल भइसकेको छ ।

      सन् १६५ देखि १९० सम्म फैलिएको एन्टोनाइन महामारीले रोमन जनसङ्ख्याको एकतिहाइ मानिसलाई मृत्युका मुखमा पु¥याएको थियो । सन् १८८९ देखि १८९० सम्मको रसियन फ्लुको कारण १० लाख मानिसले ज्यान गुमाउनुपरेको थियो । यस्तै, सन् १९९८ देखि दुई वर्षसम्म नरोकिएको स्पेनिस फ्लुले विश्वमा भयानक आतङ्क मच्चाएको थियो । मानव इतिहासले सबैभन्दा डरलाग्दो महामारीको रूपमा दर्ज भएको यस फ्लुले पाँच करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो । त्यस महामारीमा ज्यान गुमाउने अधिकांश मानिस २० वर्षदेखि ४० वर्ष उमेर समूहका थिए, जुन त्यसअघिका महामारीभन्दा नौलो र फरक तथ्य थियो । सन् १९५७ को एसियन फ्लु, सार्स, स्वाइन फ्लु, इबोलाजस्ता महामारी हुँदै सन् २०१९ देखि सुरु भएको कोभिड– १९ ले आज विश्व आतङ्कित बनेको छ ।

      कोरोना सङ्क्रमितको अस्पतालमा उपचार गर्न ठाउँ नपाएर बिरामी छटपटाइरहेका छन्, प्राण त्यागिरहेका छन् । पैसा मूल्यहीन बनेको छ, कागजको खोस्टासरह । सजिलोसँग सास फेर्न पाउनु नै कोरोना सङ्क्रमतका लागि आज एक मात्र उद्देश्य बनेको छ । जीवनका ठूला–ठूला सपना साँघुरिएर सानो सपनामा सीमित भएको छ । यही सपना पनि कसैका त पूरा भए, तर कसैका भने अधुरै रहे । थाकिसके रुँदा–रुँदा आफन्त गुमाउने, रित्तिसके आँखाभित्र आँसुहरू । संसारलाई शोकमा डुबाउन कोरोना भाइरस अगाडि आज आधुनिक विज्ञान निरीहझैँ देखिएको छ । दिनरातका प्रयास र मिहिनेतको बाबजुत जब औषधि विज्ञानले यसको खोप परीक्षण गर्न सफल हुन्छ खोप पूर्ण रूपमा प्रयोग गर्न नपाउँदै भाइरसले रूप फेरिसकेको हुन्छ ।

      फरक रूपमा देखिएका यस भाइरस पहिलेभन्दा अझ शक्तिशाली बनेर आएको छ । यस कोरोना भाइरस उत्पत्तिको करिब डेढ वर्ष बित्दा पनि यसको निश्चित लक्षण, प्रभाव र यसको सङ्क्रमणबाट पूर्ण रूपमा ठीक हुने उपाय पत्ता लगाउन सकिएको छैन । विश्वलाई नै भ्रम र डरमा राख्न सफल कोरोना महामारी कहिले अन्त्य हुने हो भन्ने कसैले बोल्न सकने अवस्था छैन । महामारीको दोस्रो भेरियन्ट सकिन नपाउँदा तेस्रो भेरियन्टका समेत लक्षण केही देशमा देखिएको चर्चा चलिरहेको छ । यस्तो परिस्थिति बढ्दै गएमा अहिले उत्पादित खोपसमेत अपडेट गर्नुपर्ने हुन सक्छ । यस्तो जटिल अवस्थामा कहिलेसम्म विज्ञान पनि खोज र अनुसन्धान गरिरहन सक्षम होला ? भोलिका दिनमा यस भाइरसले आफ्नो रूप फेर्दै अझ सशक्त हुँदै गएमा विज्ञानले पनि सधैँ यसलाई नियन्त्रण गरिरहन सक्ला भन्ने प्रश्न अहिले तेर्सिएको छ ।

      विश्व मानव समुदाय आज कोरोना महामारीको चपेटाको कारण निषेधाज्ञा र लकडाउनका अवस्थामा छ । मानिस घरभित्रै थुनिएका छन् पिँजडाको सुगाझैँ । उद्योग, कलकारखाना सबै ठप्प छन्, सवारीसाधन बन्छ छन् । एकपटक फेरि वायु स्वच्छ भएको छ । दिनरात कोरोनाको डर र त्रासबाट गुज्रिरहँदा आकाशमा चराहरू भने आनन्द र हर्षका साथ उडिरहेझैँ देखिन्छन् । न कुनै डर छ न त कुनै चिन्ता । मानिसबाहेकका सम्पूर्ण प्राणी यो कोरोना कालमा स्वाभाविक देखिन्छन् । यसरी हेर्दा कोरोनाको कारण आज केवल मानव जाति मात्र प्रताडित छ । किन यसो भइरहेको छ ? धर्तीका अन्य प्राणीभन्दा सर्वश्रेष्ठ प्राणी मानव जातिको मात्र यो अवस्था हुनुमा को–को जिम्मेवार हुन सक्ला ? कतै हामी आफैँ नै पो जिम्मेवार छौँ कि ? कतै पृथ्वीको चक्र प्रणालीमै असर पर्ने गरी हामीबाहेकका अन्य प्राणी र प्रकृतिको अस्तित्वलाई नै नजरअन्दाज पो ग¥यौँ कि ? पर्यावरण र मानिसबीचका सन्तुलन कायम गरेनौँ कि ?

       यस धर्तीमा उपस्थित सम्पूर्ण प्राणीमध्ये विशिष्ट प्राणी मानिस भए तापनि हाम्रा कमजोरी र सीमा थुप्रै छन् । पृथ्वीमा पाइने धेरै जीवले सजिलै सुन्न सकने ध्वनि हामी भने सुन्न सक्दैनौँ । हामीले सुन्न नसक्ने ध्वनि मुसा वा कुकुरले सुनिरहेका हुन्छन् । मानिसले कुनै वस्तुलाई जस्तो रंगमा देख्छौँ, अन्य प्राणीले त्यस वस्तुलाई अर्कै रंगमा देख्छन् । यस धर्तीको चक्र प्रणाली सन्तुलित राख्न अन्य प्राणीको तुलनामा मानिसको भूमिका न्यून रहेको वैज्ञानिक बताउँछन् । यति सीमाका बाबजुत हामी भने धर्तीलाई आफ्नो इच्छानुसार चलाउन खोज्छौँ, प्रकृतिभन्दा माथि जान खोज्छौँ । के यो ठीक होला त ?

       पूर्वीय दर्शनका साधकका भनाइअनुसार संसारमा केही मानिस छोडेर बाँकीले आफूभित्र कहिल्यै हेरेनौँ । आफूलाई चिन्ने कोसिस गरेनौँ । मन, मस्तिष्क, शरीरको सम्बन्ध र संरचनामा कहिल्यै लागेनौँ । जे–जे चिजमा समस्या देखिन्छ ती सबै चिज परिवर्तन गर्न तयार भयौँ । आफूभित्रका समस्या पत्ता लगाएर आफैँ परिवर्तन हुन भने कहिल्यै तयार भएनौँ । पूर्वीय वैदिक सभ्यताको करिब सुरुवाती मानव शरीरको आन्तरिक विज्ञानलाई बुझ्नु अनि यसका सबै आयामबीच सन्तुलन कायम गर्नु योग हो भन्छन् उनीहरू । यसरी हेर्दा कोरोनाको भयावह परिस्थितिमा योगलाई अँगाल्न सक्यौँ भने यसले हाम्रा शरीरका आन्तरिक र बाह्य संरचना मजबुत बनाउन सक्ने देखिन्छ । योग र प्राणायामको माध्यमद्वारा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन सकिन्छ भनेर योग विज्ञानले भन्छ । यस्ता सङ्क्रमणबाट बच्ने दीर्घकालीन उपाय यिनै हुन सक्छन् । जस्तोसुकै रोगसँग लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमताकै महत्वपूर्ण हात हुन्छ भनेर आजको विज्ञानले समेत मानेको छ ।

       यस विषम परिस्थितिमा दैनिक जीवनमा योगसँगै आयुर्वेद पनि जोड्नु अपरिहार्य छ । आयुर्वेद पनि वेदकै एक उपवेदको रूपमा रहेको ग्रन्थ हो । आजको आधुनिक चिकित्सा विज्ञानको विकास नभइसकेको प्राचीन समयमा आयुर्वेदकै माध्यमद्वारा उपचार गरिन्थ्यो । आयुर्वेदमा मानिसको शरीर पञ्चमहाभूत, वायु, पित्त र कफ गरी तीन दोषमा विभाजन गरिएको छ । जब तीन दोषबीचको सन्तुलन बिग्रन्छ तब मानिस अस्वस्थ हुन्छ भनेर आयुर्वेदले भनेको छ । आयुर्वेदले मानिसका लागि बिहानको समयमा उठ्नेदेखि, के खाने, के नखाने, कसरी खाने हुँदै राति कुन समयमा सुत्नसम्मका सम्पूर्ण दिनचर्या र रात्रिचर्याको बारेमा व्याख्या गरेको छ । यसका अलवा कुन मौसममा कस्तो भोजन गर्ने, कुन–कुन भोजन सँगै ग्रहण गर्न मिल्ने, कुन एक–आपसमा विरोध हुनेसमेत यसले व्याख्या गरेको छ ।

      भोजन र जीवनशैलीका यी सम्पूर्ण नियमलाई हामीले केही हदसम्म लागू गर्न सकेको खण्डमा पनि मानव स्वास्थ्यमा यसले धेरै सकारात्मक प्रभाव पार्ने देखिन्छ । कोरोना महामारीको यस परिस्थितिमा आयुर्वेदलाई जीवनमा जोड्न सके धेरै लाभ हुनेछ । कोरोनाका कारण धेरै देशको स्थिति भयावह र कारुणिक छ । नेपाल पनि यसबाट अछुतो छैन । तर, हरकालो बादलभित्र चाँदीको घेरा हुन्छ भनेझैँ यस महामारीको अँध्यारोभित्र छरिएर रहेका आशाको उज्यालोलाई खोज्नुपर्छ, समेट्नुपर्छ । वर्षौँदेखि बिछोडिएका सन्तान देख्न आतुर आमाबुबा आँखा कोरोनाकै कारण सन्तान नजिक बस्न पाएका छन् । उच्च शिक्षा हासिल गर्न राजधानी छिरेका छोराछोरी गाउँ फर्किएका छन् । धेरै परिवार एक ठाउँका भेला हुन पाएका छन्, सुख, दुःख साट्न पाएका छन् । त्यसैले यो अवसरलाई सदुपयोग गर्दै सकारात्मक अनि जीवनपर्यन्त प्रभाव पार्न सक्ने कार्य गर्ने कोसिस गरौँ । पहाड मानवविहीन हुँदै जाँदा धेरै जग्गा–जमिन बाँझै छन् । त्यसको खनजोत गर्ने अवसर पनि कोरोनाले ल्याइदिएको छ ।

       योग, आयुर्वेद साथ आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको अधिकतम रोगको मूल चित्त विकारलाई मानेको छ । त्यसैले चित्तलाई शुद्ध र निर्विकार बनाउन सकारात्मक सोचका साथै बढीभन्दा बढी खुसी र प्रफुल्लित रहने कोसिस गर्न सुझाएको छ । जति बढी हाँस्न र खुसी हुन सक्छौँ, त्यति नै हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि सक्रिय हुँदै जान्छ । समयले सम्भव भएसम्म कम्तीमा पाँचदेखि दश मिनेट प्रत्यक्ष सूर्यको प्रकाशमा बसौँ । सकेसम्म प्रकृतिसँग नजिक रहने कोसिस गरौँ । प्रकृतिसँगको सहकार्य नै मानव स्वास्थ्यका लागि लाभदायक हुनेछ ।