केरुङमा रोकिएका सामानसहितका कन्टेनर नेपाल भित्रिन थाले

धुन्चे, गत वर्ष कोरोना सुरु हुनुभन्दा अगाडिदेखि सामान लिन चीनको केरुङ गएका नेपाली कन्टेनर गत हप्ताबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिन थालेका छन् । विगत डेढ वर्षदेखि केरुङमा रोकिएका तीन नेपाली कन्टेनर सामानसहित गत बुधबार नेपाल भित्रिएको छ ।

      भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार सोमबार एउटा र मंगलबार दुईवटा कन्टेनर सामानसहित चिनियाँ पक्षले नेपालको यार्डसम्म ल्याइदिएको थियो । ती कन्टेनरले भन्सारको प्रक्रिया पूरा गरेर गत बुधबार काठमाडौंका लागि छुटेका थिए । गत वर्षको कोरोनाको लहर सुरु हुनुभन्दा अगाडिदेखि अझै १८ वटा कन्टेनर केरुङमा रहेका छन् भन्ने जानकारी भए तापनि अहिले तीनवटा मात्रै नेपाल आइपुगेको भन्सार अधिकृत रेग्मीले बताए । नेपालतर्फबाट नेपाली अधिकारीबाट चिनियाँ अधिकारीसमक्ष रोकिएका कन्टेनर नेपाल ल्याउन पहल गरेपछि करिब डेढ वर्षपछि चिनियाँ पक्षले नेपाली सीमा क्षेत्रसम्म ल्याइदिन थालेका हुन् । अहिले तीनवटा मात्र कन्टेनर आएका छन् । त्यसमा खाद्यान्न, लत्ताकपडा, खेलौनालगायतका उपभोग्य सामग्री आएको भन्सार प्रमख रेग्मीले जानकारी दिए ।

      गत डेढ वर्षदेखि केरुङमा कन्टेनर रोकिएपछि बैंकबाट ऋणमा निकालेका व्यापारी व्यवसायी मर्कामा परेका थिए । आम्दानी नभएपछि बैंकले किस्ता तिर्नु भनेर पत्र पठाइरहेको हुन्छ । व्यवसाय डुबेपछि समयमा कसरी किस्ता तिर्ने भनेर व्यवसायी अन्योलमा रहेका छन् । ०७६ साल माघ १५ गतेबाट ल्होसारका कारण एक महिना बन्द रह्यो । त्यसपछि लगत्तै कोरोनाका कारण चीन सरकारले नाका बन्द गरेपछि केरुङमा रहेका कन्टेनर उतै रोकिए । रोकिएका कन्टेनर नेपाल ल्याउने लामो प्रयासपछि अहिले चिनियाँले नै नेपालतर्फ कन्टेनर ल्याइदिन सुरु गरेका छन् । गत वर्षको जेठ २२ गतेसम्म चीनले रसुवागढी नाका बन्द ग¥यो । त्यसभन्दा यता चीनले एकतर्फी मात्र नाका खुला गरिरहेको छ । चिनियाँ पक्षले दैनिक पाँचदेखि आठवटासम्म उनीहरूको ट्रकमा नेपाल सामान निर्यात गरिरहेको छ । नेपालतर्फबाट हुने निर्यात तथा आगमन ०७६ माघ १५ गतेदेखि ठप्प नै रहेको छ ।