व्यक्तिगत बीस लाखको सहयोगमा अस्पतालमा शुक्रमान कक्ष

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०७८, मंगलवार १३:३७

कोलनी, विदुर नगरपालिका-९ निवासी व्यवसायी शुक्रमान श्रेष्ठले त्रिशूली अस्पताललाई भेन्टिलेटरसहितको २० लाखबराबरको उपकरण प्रदान गरेका छन् । श्रेष्ठ नुवाकोटका स्थापित पुराना व्यवसायी हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै उनले अस्पताललाई अतिआवश्यक भेन्टिलेटरसहित उपकरण हस्तान्तरण गरेका हुन् । श्रेष्ठको सहयोगमा भेन्टिलेटरसहितको उपकरण रहेको बिरामी उपचार कक्षको नाम सम्मान गरेर अस्पतालले शुक्रमान कक्ष नामकरण गरेको छ ।

       २० लाख रुपैयाँबराबरको सामग्रीसहित एक उपचार कक्ष निर्माण गरी हस्तान्तरण गरिएकाले दाता शुक्रमान श्रेष्ठकै नामबाट उक्त कक्षको नामकरण गरिएको अस्पताल प्रशासनले बताएको छ । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप वृद्धि हुँदै गएसँगै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोगस्वरूप स्वास्थ्य उपचारका निम्ति आवश्यक सामग्री उपलब्ध गराउने कार्य भइरहेको छ । त्रिशूली अस्पतालमा हाल आइसियू शय्या ११ पुगेको छ भने भेन्टिलेटर सातवटा जडान भएको छ । अस्पतालले रसुवा र धादिङका कोभिड तथा ननकोभिड बिरामीलाई समेत उपचार सेवा दिँदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटी पिसिआर प्रयोगशाला, अक्सिजन प्लान्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ । पछिल्लो समय सेवा प्रवाह उत्कृष्ट बन्दै गएको छ । व्यक्तिगत रूपमा २० लाखबराबरको भेन्टिलेटरसहित उपकरण सहयोग गर्ने शुक्रमान श्रेष्ठ पहिलो भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।