एमाले एकताको बाधक : ओलीको निरंकुशता र नेपालको दोधारे चरित्र

नेपाल कम्युनिष्ट पार्टी एमालेमा एकताको प्रयास गिजोलिएको छ । एकतालाई सार्थक बनाउने प्रयासमा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल÷झलनाथ खनालबिच विश्वासको संकट देखिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । यस्तै प्रस्ताव दुई साताअघि वरिष्ठ नेता माधव नेपालले पनि सारेका थिए । आफ्नो स्वार्थ अनुकूल सारिने यस्ता प्रस्ताव लोकका लागि राम्रो देखिए पनि तिनका अन्तर्य अरूले बुझ्न सक्दैनन् । यस्ता प्रस्ताव सफल हुन विश्वासको वातावरण बन्नुपर्छ, जुन अहिले देखिंदैन । दुई नेताबिचको चपली हाइट बैठकले विश्वासको वातावरण बनाउने भन्दा बिगार्ने काम ग¥यो । ओलीले अहिले सारेको यो प्रस्ताव उहीँ चपली हाइट भाग दुई हुने त होइन भन्ने सर्वत्र चासो र आशंका गरिएको छ । चपली हाइटमा ओलीले देखाएको ललिपपमा वरिष्ठ नेता नेपाल नफसेको भए, अहिले वैकल्पिक सरकार बनिसकेको हुन्थ्यो । नेता नेपालको त्यहीँ गल्तीले पुनः प्रतिनिधीसभा विघटन हुन पुगेको हो । ओलीको अहिलेको प्रस्तावमा गोलमटोल भाषा प्रयोग गरेर शब्दको जाल बुनेका छन् । २०७५ जेठ २ नभनि ३ भनिएको छ । यसैगरी पुरानै र जनवर्गिय कमिटी नभनि मूलभूत भनेर झुक्काउन खोजिएको छ अनि अदालतमा गरिएका हस्ताक्षर फिर्ता लिई मुद्दालाई कमजोर पार्ने आशय राखिएको छ ।

      पार्टी बलियो होस्, पार्टी एकता अक्षुण्ण रहोस् भन्ने चाहना हरेक एमालेका नेता÷कार्यकर्ताको हुन्छ नै, हुनुपर्छ पनि तर ‘मै पार्टी हुँ, मै राज्य, अरू सबै झिनामसिना हुन्’ भन्ने अहम्ले पार्टी सञ्चालन गरिरहेका अध्यक्ष ओलीले यो प्रवृत्ति नसुधारेसम्म एकता सार्थक रूपले अगाडी बढ्न नसक्ने अवस्था अहिले देखिएको छ । ओलीको यहीँ दम्भले हिजो नेकपा विभाजित भयो, आज एमाले विभाजनको संघारमा छ । फलस्वरूप, ओली सरकार कमजोर भई दक्षिणपन्थीसँग अप्राकृतिक माया पिरती गाँसिन पुगेको छ । यो स्थितीबाट पार पाउने हो भने, नेताहरूले लोभ हटाउनुपर्छ । पार्टी एकताका लागि ओली र नेपाल दुवैले आजैदेखि आफूहरू दलको नेता र प्रधानमन्त्री नबनि अभिभावक बनेको घोषणा गर्नुपर्छ । प्रधानमन्त्रीको रूपमा दुवै नेताले विश्वास गरेको नयाँ नेतालाई अघि सार्नुपर्छ । दुवै नेताले त्याग देखाउन सकेमा पार्टी एकता सम्भव छ, होइन भने कसैले कसैलाई विश्वास गर्ने आधार छैन । संबैधानिक इजलासको कम्पोजिसनबाट प्रतिनिधीसभा पुनःस्थापना हुने सम्भावना बढेपछि नै ओलीको यो नयाँ प्रस्ताव आएको हो । एकातिर माधव नेपाल पक्ष ओलीलाई निरंकुशताको प्रतिक, अधिनायकवादी र तानाशाह भन्छन्, अर्कातिर उनै ओलीसँग एकताको याचना पनि गर्छन् । यो दोधारे चरित्र हो । नेपाल समूहको ढलपलले नै ओलीको निरंकुश सत्ताले अहिले निरन्तरता पाईरहेको छ ।

      केपी शर्मा ओली विरोधी देख्ने बित्तिकै बहकिन्छन्, ‘मैले के बोले’ भन्ने हेक्कै उनमा रहन्न । पछिल्ला दिन थोरै सम्हालिएको भएपनि नानीदेखि लागेको बानी छुट्न गाह्रो परिरहेको छ । सायद कहिलेकाहीँ उनी ‘म प्रधानमन्त्री हुँ’ भन्ने पनि बिर्सन्छन् । त्यसैले आफ्नो पद र स्तर भन्दा निकै तल झरेर बोल्ने गर्छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई बारम्बार दोहो¥याइँरहँदा हिजो र आजको नेपालको तुलना गर्ने क्षमता उनमा देखिंदैन । संविधानमाथि पटक–पटक प्रहार गर्दै कालीदास चरित्रको पटाक्षेप गरेका ओली निष्ठाको राजनीतिमा निकम्मा सावित भएका छन्, सत्ता उनको पहिलो स्वार्थ हो । सत्ता प्राप्तीका लागि जेसुकै त्याग्न तयार छन् र जस्तोसुकै सम्झौता उनका लागि मान्य हुनेछ भन्ने विगतका राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको छ ।

      पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताको रगत पसिनाले बनेको सग्लो एमाले हो भन्ने हेक्का राख्न अध्यक्ष ओलीले नसंक्दा एमालेका होनोहार नेता÷कार्यकर्ता बिच्किएका छन् । घर डढाएपछि खरानीको दुःख हुँदैन भन्ने प्रवृत्ति माधव नेपाल समूहले त्याग्नुपर्छ । उहाँहरूले पनि आफ्नो स्वार्थ पूर्ति गर्न एमालेमा बखडा झिकीरहनु सुहाउँदैन । हिजो एमालेका मतदाताले त शेरबहादुर देउवालगायतलाई प्रधानमन्त्री बनाउन एमालेका उम्मेदवार बनेका नेतालाई मत दिएका थिएन भन्ने हेक्का नगर्दा अहिले निर्वाचन क्षेत्र फर्कन धेरै नेपाल–खनाल समूहमा रहेका नेतालाई गाहे परिरहेको छ । घरको सबै मरे भने म चुलोमा बसुला भन्ने बिरालो प्रवृत्ति ओलीलाई उक्साउने समूहले बेलैमा बुझेनन् सग्लो एमाले रहिँरहने सम्भावना क्षण हुँदै गएको छ । प्रजातन्त्रको रक्षा गर्नको लागि अनि राजनीतिक स्वेच्छाचारिता अन्त्यको लागि एमालेको एकता अपरिहार्य छ । तर ओलीलाई न राष्ट्रको चिन्ता छ, न त राष्ट्रियताको, उनका लागि सबैभन्दा ठूलो सत्य भनेकै सत्ता हो । जेठ ३ अगाडी पार्टीलाई फर्काउन मनैदेखि चाहन्थे भने एकतर्फी रूपमा मन्त्रीमण्डल पुर्नगठन किन गरे ? पार्टीभित्रका विद्रोही एकताका लागि हदैसँग लचिलो बनेकै हुन् । उनीहरूले बेलैमा राजीनामा दिएको भए सत्ता पल्टिएको थियो । ओली यावत् कुरामा जानकार छन् । सर्वोच्चले फेरी पनि संसदलाई ब्युँताउन सक्ने अनुमान गरेर शकुनी पासाका रूपमा पार्टी एकताको अर्को नाटक ओलीले मञ्चन गरेका छन् । एकताको चाहना राख्नेले पहिला आफूले त्याग गरेर देखाउन सक्नुपर्छ, अरूलाई घुँडा टेकाउने प्रपञ्च गर्नु हुन्न । माधव नेपाल र झलनाथ खनाल पार्टीको नेतृत्व र देशको प्रधानमन्त्री भईसकेको ब्यक्तित्व भएपनि उहाँहरूको ढलपले प्रवृत्तिले गर्दा पनि एमाले कमजोर हुँदै गईरहेको छ ।

     एमालेकै वरिष्ठ नेता, प्रतिपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारको कमिकमजोरी औल्याए पनि उनी पटक्कै सुन्न चाहँदैनन् । आफ्नो सत्ताको आयु बढाउन मधेशवादी समूहसँग अप्राकृतिक गठबन्धन गरेका छन् । प्रतिनिधीसभा ब्युँतिने अनुमान गरेर एमालेलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउन आफू तयार रहेको वक्तब्य जारी गरेका छन् । यो असन्तुष्ट पक्षलाई भुलाउने ओलीको दाउ हो । के जेठ ३ पूर्वको अवस्थामा फर्किएपछि उनले गरेका सबै प्रतिगामी कदम क्षम्य हुन्छन् ? दुई–दुई पटक प्रतिनिधीसभा विघटन गरेको गल्ती माफ हुन्छ ? कोरोनाका बेला सरकारको असमवेदनशीलताका कारण ज्यान गुमाएकालाई फर्काउन सकिन्छ ।