लाङटाङ अस्पताललाई सात लाखको स्वास्थ्य सामाग्री

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–४ लाङटाङमा रहेको लाङटाङ स्वास्थ्यचौकीलाई अमेरिकाको डाईरेक्ट रिलफ संस्थाले सात लाख रूपैयाँको बराबरको स्वास्थ्य सामाग्री शनिबार हस्तान्तरण गरेको छ ।
नेपाल हिमालयन सिमापार वाणिज्य संघका केन्द्रिय सदस्य एवं वडासदस्य छिरिङफिन्जो तामाङ र रसुवा ट्रेकका प्रोपाईटर गगनराज न्यौपानेको पहलमा माउन्टेन हार्ट नेपालका डाईरेक्टर डा.अबन गौतमले करीव सात लाख बराबरको ४ वटा भोल्टेज रेगुलेटरसहित अक्सिजन, कन्सट्रेटर र दुई हजार वटा मास्क जनप्रतिनिधीसहित स्वास्थ्यकर्मीको रोहवरमा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो ।

      नेपाल हिमालयन सिमापार वाणिज्य संघका केन्द्रिय सदस्य एवं वडासदस्य छिरिङफिन्जो तामाङ र रसुवा ट्रेकका प्रोपाईटर गगनराज न्यौपाने सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार लाङटाङ पुगी उक्त सामाग्री वितरण गर्नुभएको थियो । उक्त स्वास्थ्य सामाग्री लैजान प्रतिनिधीसभा सदस्य मोहन आर्चायले हेलिकप्टरको लाग्ने खर्च ब्यहोर्नुभएको थियो । डा.अबिनले आपतकालीन अवस्थामा अक्सिजन कन्सट्रेटर कसरी चलाउनेबारे समेत स्वास्थ्यकर्मीलाई जानकारी गराउनुभएको थियो । २०७२ को भूकम्पले थिलथिलो पारेको पर्यटकीय लाङटाङ गाउँ पुरानै लयमा फर्कदै गरेको अवस्थामा कोरोना महामारी नियन्त्रणमा ब्यवसायीबाट प्राप्त स्वास्थ्य सामाग्री उपयोगी हुने लाङटाङ स्वास्थ्यचौकी प्रमुख खम्बु बोहोराले बताए । वि.सं.२०७२ को विनाशकारी भूकम्पले पूर्ण क्षति बनाएको लाङटाङ स्वास्थ्यचौकीको पुनः स्थापना गत वर्ष भएको हो ।