ढिकी जाँतो चुली पर्यटकीय सम्भावना

विदुर, नेपालका धेरै जिल्लामा स्थानीय सरकार पर्यटन प्रर्वद्धनको लागि प्रचार-प्रसार, पूर्वाधार निर्माणका कार्यमा जुटिरहेको छ । आफ्नो पालिकाभित्र रहेको पर्यटनसँग सम्बन्धित ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं प्राकृतिक स्थलको खोजीनीति र प्रचार-प्रसारमा लाखौं बजेट आईराईरहेका छन् । नुवाकोटमा पनि ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं प्राकृतिकरूपमा असंख्य सम्भावना बोकेको क्षेत्र रहेको भएपनि त्यसको खोजीनीति, प्रचार–प्रसार, संरक्षण र त्यहाँसम्म पुग्ने बाटो, सडक र अन्य पूर्वाधारको लागि स्थानीय तहले खासै महत्व दिएको देखिंदैन ।

        नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट १५ किलोमिटरको दूरीमा रहेको ढिकी जाँतो चुलीको बारेमा स्थानीय पालिकाले चासो नदिंदा पर्यटकीय सम्भावनाको क्षेत्र हुँदा-हुँदै पनि ओझेलमा परेको छ । विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाको सिमानामा रहेको ढिकी जाँतो चुली पर्यटकीय सम्भावना रहेको स्थान हुँदा-हुँदै पनि स्थानीय निकायको प्राथमिकतामा पर्न नसंक्दा ओझेलमा परेको छ । विदुर नगरपालिकाको वडा नं.-८, १२, १३ र तारकेश्वर गाउँपालिकाको वडा नं.-६ को शिरमा रहेको ढिकी जाँतो चुली पर्यटकीय आकर्षण केन्द्र बन्न सक्ने सम्भावना रहेको क्षेत्र हो । यस क्षेत्रमा पुग्ने सडकमार्ग, पैदलमार्गको लागि सिढीँ र न्युनतम पर्यटकीय पूर्वाधार निर्माण गर्न स्थानीयले गाउँपालिका र नगरपालिकालाई घचघचाईरहेका छन् । विदुर नगरपालिकाको बट्टार हावाघरबाट चारघरे-भट्टगाउँ हुँदै जामुनेबाट ढिकी जाँतो चुली र बट्टार हावाघरबाट मूलाबारी-भदुवार-फिर्केप हुँदै ढिकी जाँतो चुली पुग्न सकिन्छ । त्यसैगरी, विदुरबाट गौरीवेंशी-चारघरे-भट्टगाउँ-जामुने हुँदै र त्रिशूलीबजारबाट कोलनी-बगुवा-माझीगाउँ-कठेरी-जामुने हुँदै चुली पुग्न सकिन्छ । यी चार स्थानबाट सडकमार्ग हुँदै भट्टगाउँसम्म गाडी, मोटरसाईकल, बस, ट्रकमा सहजै पुग्न सकिन्छ । भट्टगाउँबाट चुली पुग्न ५ किमी उकालो लागेपछि पुग्न सक्ने स्थानीय सामाजिक अभियान्ता रामप्रसाद भट्टले जानकारी दिनुभयो । विदुरबाट चुली पुग्ने दूरी १५ किमी रहेको समेत उनले बताए । चैनपुरबाट पन्थगाउँ–भदुवार–फिर्केप हुँदै चुली पुग्न पनि सकिन्छ । झण्डै २ हजार मिटरको उचाईमा रहेको ढिकी जाँतो चुलीको प्रचार–प्रसार र संरक्षणमा एक दशक अघिदेखि स्थानीय ब्यवसायी एवं सामाजिक अभियान्ता बद्रिप्रसाद भट्ट सक्रिय रहेका छन् । यो क्षेत्रको प्रचार–प्रसारमा विगत १२ वर्षदेखि नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सञ्चार उद्यमी शरण उत्सुक सापकोटाले सहयोग गरिरहेको समेत सामाजिक अभियान्ता भट्टले बताए ।

       १२ वर्ष अगाडी शरण उत्सुकले यो क्षेत्रको भ्रमण गरेपछि प्रचार-प्रसार र जिल्लाबासीको चासो बढेको स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस विदुर नगरपालिका वडा नं.-१२ इकाई सभापति झंक भट्टले बताउनु भयो । विदुरबाट सवारी साधन लिएर आउँदा एक घण्टामा भट्टगाउँ र डेढ घण्टामा चुली पुग्न सकिन्छ । विदुर नगरपालिकाभित्र रहेको उच्च स्थान मध्ये यो चुलीबाट धादिङ, गोरखा, भक्तपुरको नगरकोट, रसुवा, काठमाडौंको रानीवनको डाँडा, चन्द्रागिरी, मकवानपुरको दामन, सिमभञ्ज्याङ, चितवन, तनहुँको बन्दीपुरलगायत १८ वटा भन्दा बढी जिल्ला मौसम सफा भएको समयमा देखिने भएकोले युवा-युवतीको रोजाईमा पर्ने गरेको छ । विदुरबाट छोटो दूरीमा रहेको ढिकी जाँतो चुलीको प्रचार–प्रसारमा नुवाकोट उद्योग वाणिज्य संघले विगतमा गरेको महोत्सवले प्रचार-प्रसार भएका अध्यक्ष ताराबहादुर कार्कीले बताउनु भयो । हामी यो क्षेत्रमा पर्यटक बढाउन पहल गर्न विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकालाई त्यहाँसम्म पुग्ने सडकमार्ग र सिढीँ निर्माणमा घचघचाउने उहाँले बताउनु भयो । २/३ वर्षदेखि चुली जाने ईच्छा गत हप्ता पूरा भएको बताउँदै यस क्षेत्रमा कालिका, भुमेदेवीको मन्दिर समेत रहेकोले धार्मिक पर्यटन अभिबृद्धिसँगै प्राकृतिक अध्ययन, अवलोकनको रस्वादन गर्न तथा पदयात्रा गर्न रमाउनेको लागि गन्तब्य बन्न सक्ने सम्भावना रहेको समेत उहाँले बताउनु भयो । अहिले विदुर नगरपालिका वडा नं.-१२ ले गत वर्ष जामुनेबाट चुलीको फेदीसम्म सडक खन्न शुरू गरेपनि ठाँडे चुलीसम्म पु¥याएर अलपत्र छाडेको छ । उक्त सडकको निरीक्षण र ढिकी जाँतो चुली हेर्न विदुर नगरपालिका मेयर सञ्जु पण्डित, १ नम्बर वडाध्यक्ष लेलिन रञ्जित, १२ नम्बर वडाका अध्यक्ष सिताराम अर्यालसहितको टोली लिएर गत हप्ता पुग्नुभएको थियो । उहाँले स्थानीयसँग भेटघाट गरेर सडक निर्माणलाई निरन्तरता दिंदै ढिकी जाँतो चुलीको फेदीसम्म पु¥याउने र फेदीबाट चुलीसम्म सिढीँ निर्माण र चुलीमा अन्य पर्यटक आकर्षण गर्ने पूर्वाधार के-के बनाउन सकिन्छ बिस्तृत प्राविधिक अध्ययन गराएर काम अगाडी बढाउने बताउनुभएको छ ।

      चुलीको लागि स्थानीय पालिकाले कामै नगरेको भने होइन । तारकेश्वर गाउँपालिकाले गत वर्ष गुरूयोजना बनाएर काम थालेको छ । यस वर्षदेखि पालिकाले बजेट विनियोजन गरेर फिर्केपको भुमेस्थान हुँदै भिरकुनासम्म सिढीँ निर्माण गरिसकेको छ । ५ सय मिटर भन्दा बढी सिढीँ निर्माण यो वर्ष भईसकेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिनुभयो । प्रत्येक वर्ष बजेट छुट्याएर चुलीसम्म सिढीँ बनाउने गुरूयोजनामा रहेको छ । विदुर, बट्टारको हावाघर र बगुवा, माझीगाउँ हुँदै चुलीसम्म पुग्न छोटो र सहज सडक निर्माण भईरहेको वि.न.पा.-१२ नम्बरका वडाध्यक्ष सिताराम अर्यालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । चुलीको फेदीसम्म सडक पु¥याउने कार्य शुरू भईसकेको र त्यहाँ खानेपानी र बिजुली पु¥याउने योजना वडाले बनाएको उहाँले बताउनु भयो । ढिकी जाँतोसँगै वरपर रहेका सिङ्गला डाँडो, ठाँडेचुली, थाकले डाँडाबाट सुर्योदय र सुर्यास्तको दृश्य हेर्न सकिने भएकोले तारकेश्वर र विदुर नगरपालिकाले संयुक्तरूपमा ढिकी जाँतो चुलीको प्रर्वद्धन गर्नुपर्ने धारणा स्थानीयको रहेको छ । आजभोली चुली हेर्न जानेहरूको संख्या बढिरहेको छ । ड्राई पिकनिक अर्थात् घरबाटै खानेकुरा लिएर जानेहरू दैनिक १/२ ग्रुप हुने गरेको छ । मौसमानुसार चुलीको वरपर गुराँसको फुल, काफल, ऐसैलु र टिम्मुरलगायत आर्युवेदिक औषधीजन्य जडिबुटी प्रशस्त पाईन्छ । यो क्षेत्रको विकास गर्न सके ढिकी जाँतो चुली बट्टार, त्रिशूली, कोलनीलगायतको नयाँ पिकनिक स्थल बन्न सक्नेछ ।