खेलमैदान रंगशाला बन्ने भो

त्रिशूलीबजार, नुवाकोट जिल्लाको पहिलो सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको खेलमैदान स्तरोन्नति भएर रंगशाला बन्ने भएको छ ।

     सङ्घीय सरकारले ११ करोड ५० लाख खर्च गरेर उत्कृष्ट खेलमैदान निर्माण गर्न लागेको छ । पहिलो चरणमा ५० लाख रुपैयाँ मैदान स्तरोन्नतिका लागि आइसकेको विद्यालयले जनाएको छ । बजेटको घोषणाअनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तह पूर्वाधार विकास कार्यक्रमअन्तर्गत त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको जग्गामा खेलमैदान निर्माण हुनेछ । सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रमअन्तर्गत विदुरका लागि त्रिशूलीको खेलमैदान छनोट भएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए । खेलमैदान निर्माणका लागि इन्जिनियर सुरज लामाले नक्साको नमुना तयार पारेका हुन् । खेलमैदानको डिपिआर तयार भइसकेको र नक्सा तयार पारेको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए । खेलमैदान निर्माणको तयारीका लागि यसअघि विदुर नगरपालिका र विद्यालयबीचमा सम्झौतासमेत भएको थियो । बहुवर्षीय ठेक्कामा रंगशाला निर्माणको काम सुरु भइसकेको छ । एक पालिका एक खेलमैदान निर्माण गर्ने योजनाअनुसार त्रिशूलीमा रंगशाला निर्माण सुरु भएको हो । त्रिशूलीको खेलमैदानमा निर्माण हुने रंगशाला राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सञ्चालन हुने गरी सबै खेलका लागि पूर्वाधार बनाइनेछ ।