नुवाकोटमा जारी निषेधाज्ञा यथावत्

विदुर, नुवाकोट जिल्लामा जारी निषेधाज्ञा कोरोना सङ्क्रमितको सङ्ख्या नघटेको कारण एक साताका लागि थप भएको छ ।

     सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारको वरपर नै रहिरहेकाले थप एक साताका लागि निषेधाज्ञा जारी गरेको कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको अवस्था सामान्य नभइसकेको भन्दै एक साता निषेधाज्ञा थप गर्न जिल्ला सुरक्षा समितिमा सिफारिस गरेको थियो । केन्द्रको सिफारिसको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले असार १५ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो । केन्द्रको निर्णयअनुसार अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज-भतेरलगायतका भिडभाड हुने कार्य नगर्ने-नगराउने र कोभिड-१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नुपर्नेछ ।

      नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पाटी, भोज, भतेरलगायतका भिडभाड हुने कार्य गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश पूर्ण रूपमा पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले निर्देशन दिए । कोरोना सङ्क्रमण न्यूनीकरणको वैकल्पिक माध्यमको रूपमा निषेधाज्ञा रहेकाले हाललाई एक साता थप गरी १५ गतेसम्म पु¥याइएको उनले बताए । अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपश्चात् यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थामा अनावश्यक भिडभाड हुन नदिने व्यवस्था मिलाउनुपर्नेछ । घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

       बैठकले खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्रीलगायतका अत्यावश्यक पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने र अन्य पसल पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसल २४सै घन्टा खुला हुनेछ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिनेछ ।