स्टक बालुवा, गिटी र ढुङ्गाको नाप-जाँच पालिकाले गर्ला ?

विदुर, नदीजन्य ढुङ्गा, गिटी र बालुवाको अवैध उत्खनन र ओसार-पसारको कारण नुवाकोट जिल्ला बेलाबेलामा चर्चामा आउने गरेको छ । जिल्लाभित्र बग्ने त्रिशूली, तादी, लिखु, सामरी, संलाखु, फलाखु, कोल्फु खोलालगायतको अवैध दोहन गर्ने र गराउने निकायबीच हिसाबकिताब नमिल्दा कहिलेकाहीँ जिल्ला नै सिद्धिने समाचार बाहिर आउने गरेको छ ।

     जिल्लाभित्र रहेका क्रसर नदी तथा खोलाबाट उत्खनन गरी स्टकमा राखिएको बालुवा, गिटी र ढुङ्गाको नाप-जाँच गरी पठाउन जिल्ला समन्वय समितिले स्थानीय तहलाई निर्देशन दिएको छ । जिल्ला अनुगमन समितिको बैठकले नदी तथा खोला र खानीबाट उत्खनन गरी घाटगद्दीमा सङ्कलन गरिएको ढुङ्गा, गिटी र बालुवा एवम् क्रसर उद्योगमा सङ्कलित नदीजन्य सामग्रीको सम्बन्धित स्थानीय तहले नाप-जाँच गरी दुई साताभित्र विवरण पठाउन गरेको निर्णयअनुसार जिल्ला समन्वय समितिले परिपत्र गरेको छ । क्रसर उद्योगमा सङ्कलन भई प्रशोधन भएको र नभएको दुवैको विवरण पठाउनुपर्ने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एवम् जिल्ला अनुगमन समितिका संयोजक सन्तमान तामाङले बताए ।

     हरेक वर्ष वर्षात्को तीन महिना असार, साउन र भदौमा नदीजन्य सामग्री उत्खनन गर्न नपाइने सरकारी नियम नै रहेको छ । यस अवधिमा नदीजन्य पदार्थको कोही कसैबाट उत्खनन, सङ्कलन तथा ओसार–पसार हुन नदिनलाई स्थानीय तह तथा सम्बन्धित कार्यालयबाट पूर्ण सक्रियताको साथ अनुगमन गरिने समितिले जनाएको छ । यस अवधिमा अवैध रूपमा नदीजन्य सामग्री उत्खननको कार्यमा संलग्न रहेको पाइएमा प्रहरी परिचालन गरी कारबाही गर्ने बताइएको छ । जिल्लामा बग्ने त्रिशूली, तादी, लिखु, सामरी, संलाखु, फलाखु, कोल्फुलगायतका खोला तथा नदीमा वर्षाको समयमा बगेर जाने बालुवा सदुपयोग गराउन नदीमा बाँध बाधी ‘हार्भेस्टिङ’ सम्बन्धमा जिल्ला समन्वय समितिले सम्भाव्यता अध्ययन गर्ने बताउँदै आए पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन । वर्षात् सुरु भएसँगै जिल्ला तहमा बैठक र छलफल भइरहने, नदीजन्य सामग्री उत्खनन र ओसार-पसार अवैध रूपमा हुने क्रम हरेक वर्ष जारी रहेको छ ।