हाम्रा कुरा : मनसुन विपत्तिबाट सजग होऔँ

मनसुन सुरु भएसँगै असारको पहिलो दिन मंगलबारदेखिको वर्षाका कारण आएको बाढीपहिरोबाट देशैभर प्रभावित पा¥यो । पहिरो र बाढीबाट सिन्धुपाल्चोक, मनाङ र लमजुङका सार्वजनिक संरचना, व्यक्तिगत आवास तथा प्राकृतिक सम्पदामा व्यापक क्षति पुगेको छ ।

      यस वर्षको मनसुनको सुरुमै पहिरो र बाढीबाट डेढ दर्जनभन्दा बढीको मृत्यु र दर्जनौँ हराइरहेका छन् । क्षतिको पूर्ण विवरण आइसकेको छैन । अझै जनधनको क्षति बढ्न सक्नेछ । अहिले बाढीपहिरोले विभिन्न जिल्लामा मानवीय र भौतिक क्षति गर्ने क्रम बढिरहेको छ । नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मको मनसुनको अवधि हो । यो अवधि बाढीपहिरोको दृष्टिले चुनौतीपूर्ण मानिन्छ । विगतमा नेपाल प्रवेश गरेको झन्डै दश दिनपछि मात्र सक्रिय हुने मनसुनले यो वर्ष केही चाँडै बाढी-पहिरोका अप्रत्यासित दुस्परिणाम निम्त्याएको छ । मौसमविद्ले पूर्वानुमान गर्दै यस वर्ष धेरै वर्षा र क्षति हुन सक्ने बताएका थिए । प्राकृतिक प्रकोप मानव नियन्त्रणमा हुँदैन, तर प्रकोप न्यूनीकरण गर्दै यसको दुस्परिणाम घटाउन सकिन्छ । घटाउँदै आएका पनि छन् । विपत् आउन नदिनु पहिलो बुद्धिमत्ता हो तापनि घटना भइसकेपछि उद्धार, राहत, पुनस्र्थापना र जीविकोपार्जनमा ध्यान जानु स्वाभाविक र अपेक्षित हुन्छ ।

      कतिपय बाढी, पहिरो, डुबानमा मानवीय गतिविधि निर्णायक कारण भएका छन् । अवैज्ञानिक सडक, असीमित नदी दोहन देखिएका छन् । अपत्यारिला ठाउँ पनि डुबानमा परेका छन् । तराई-मधेसका सुरक्षित मानिएका कतिपय सहर-बस्ती सीमा क्षेत्रमा भारतले बनाएको उच्च सडकले दुबानमा पर्ने गरेका छन् । जमिनमुनिको पानीको सतह घटेर हिउँदमा तराई मधेस क्षेत्रमा खानेपानीको हाहाकार र आगलागीजस्ता समस्या देखिन थालेका छन् । कतिपय विपत् मानवीय कारणले निम्तिएकाले मानव र उसको समुदायको सत्प्रयासले मात्र यस्ता विपत् न्यूनीकरण गर्न सकिनेछ । खासगरी पहाडमा बनाउने भौतिक संरचना, नदी, खोला तथा पानीका स्रोतको निर्बाध विकास, मौसम पूर्वानुमानअनुसारका होसियारीबाट यस्ता विपत्का दुष्परिणाम कम गर्न सकिनेछ ।

      सरकारले विपत्पछि उद्धार र राहतमा पहल गर्दै आएको छ । तर, विपत् नै नआउने गरी विकास निर्माणको कार्य सञ्चालनमा पहिलो ध्यान जानुपर्ने हुन्छ । विपत्जस्तो अप्रत्यासित घटनाको रोकथामदेखि घटनापछिको उद्धार, राहत, पुनस्र्थापनामा सरकार बसोवास, अवैज्ञानिक सहरीकरण, प्राकृतिक स्रोतको अधिक दोहनले यस्ता चुनौती आउने भएकाले योजना तथा विकासलाई वातावरणअनुकूल बनाउनुपर्ने आवश्यकता थप टड्कारो बनेको छ । कतिपय स्थानमा नदीकिनारमै घर बनाएर बस्नेजस्ता प्रवृत्तिले पनि नदी निकासमा व्यवधान भई डुबान हुने गरेको छ । नुवाकोटमा पनि नदी दोहन, अतिक्रमण र गाउँगाउँमा हिउँदे सडक खन्ने प्रतिस्पर्धा कायमै छ । वर्षात् सुरु भएपछि तादी, लिखु, संलाखु, फलाखु, सामरी, त्रिशूली नदी तथा ठाडाखोलाले विपत्ति मच्चाउने गरेको छ । यो समाचार तयार पारुञ्जेल नुवाकोट र रसुवामा खासै बाढी–पहिरोबाट भएको क्षतिको जानकारी आएको छैन । यस्ता समस्या निराकरण गर्न विपत्पछिको सक्रियताभन्दा विपत्पूर्वका योजना, तयारी तथा सक्रियता आवश्यक हुन्छ ।