नुउवासंको खोपका लागि ज्ञापनपत्र

विदुर, जिल्लाको आर्थिक गतिविधि अभिवृद्धिमा प्रत्यक्ष जोडिएको वर्गलाई कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन नुवाकोट उद्योग वाणिज्य सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसँग माग गरेको छ ।

     कोरोनाले थलिएको जिल्लाको आर्थिक गतिविधिलाई तत्काल तङ्ग्रिने वातावरण बनाउन व्यवसायी क्षेत्रसँग जोडिएका सबैलाई खोप लगाएर निर्वाध रूपमा काममा फर्काउन जरुरी रहेको सङ्घको ठहर छ । जिल्लाको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई प्रत्यक्ष भेटेर ज्ञापनपत्र बुझाउँदै खोप उपलब्ध गराउन माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा जानकारी पठाउने बताए । उनले उद्योग वाणिज्य सङ्घको टोलीलाई जिल्लामा कोरोना सङ्क्रमणको दर नघटेको, सक्रिय सङ्क्रमितको दर स्थिर रहेको जानकारी दिँदै नागरिकको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको बताए ।

      सङ्घका अध्यक्ष कार्कीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै व्यापार, व्यवसाय गर्न, बजार खुलाउन सङ्घीय र प्रदेश सरकारले बजेट वक्तव्यमार्फत करछुट तथा कर तिर्ने समयको सम्बन्धमा उल्लेख भए पनि सवारीसाधनमा कुनै छुट नभएकाले यथाशीघ्र छुटको व्यवस्था र समय थपिदिन आग्रह गरेको छ । सङ्घले व्यवसायीलाई खोपको व्यवस्थापन गर्न प्रजिअमार्फत सरकारसँग माग गरेको छ । उनले कोरोना सङ्क्रमणदर घट्ने क्रममा रहेको बताउँदै सङ्क्रमण घट्दै जाँदा आगामी हप्तादेखि समयतालिका तयार गरी आलोपालो पसल, उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गरे । सङ्घले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने माग गरेको छ । ज्ञापनपत्र बुझाउन नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष गीता अमात्य, उपाध्यक्षद्वय राजेन्द्र श्रेष्ठ, सन्तोष उप्रेती, महासचिव कृष्ण अधिकारी, कार्यकारी सचिव ईश्वर डङ्गोललगायतको सहभागिता थियो ।