नेगीको जोखिम ढुङ्गा फुट्ने भो

समुन्द्रटार, बर्खायाम सुरु हुँदै गर्दा दुप्चेश्वर गाउँपालिकामा रहेको जोखिमपूर्ण ढुङ्गा व्यवस्थापनका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गरेको छ । जनप्रतिनिधि र सरोकारवालाको स्थलगत अध्ययन र निर्देशनपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले अति जोखिम भनि एक वर्षअघि नै गृह मन्त्रालयमा पत्राचार गरी ताकेता गरे पनि ढुङ्गा व्यवस्थापनको काम यसै आवमा हुने भएको छ ।

      दुप्चेश्वर गाउँपालिका-१ नेगीखोला उत्तरतर्फ करिब एक किलोमिटरमाथि टापुमा रहेको पाल्छोङ ऊ नाम गरेको १०औँ लाख टनबराबरको ढुङ्गा शिलामाथि छ । उक्त ढुङ्गा गत वर्षको वर्षात्मै केही भाग सरेपछि प्रभावित क्षेत्रका ४० भन्दा बढी घर र बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । जोखिमयुक्त ढुङ्गा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो । तर, गाउँपालिकाले चासो नदिँदा काम अगाडि बढेन । नुवाकोटमा तैनाथ नेपाली सेना जबरजंग गणले उक्त ढुङ्गाको अवस्थाबारे स्थलगत अवलोकन गरेर प्रतिवेदन तयार गरेको थियो । गणको उक्त प्रस्तावअनुसार सेनाको केन्द्रमा रहेको विज्ञ प्राविधिक टोलीले अध्ययन गरेर ढुङ्गा फुटाउन र ढुङ्गाको व्यवस्थापन गर्न मात्र आवश्यक सामानका लागि ४५ लाख लाग्ने विवरण पेस गरेको थियो । ठूलो ढुङ्गा व्यवस्थापन गर्न जनशक्तिबाहेक ४५ लाख रुपैयाँ लागत अनुमान गरेर प्रतिवेदन केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा पेस गरेको थियो । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा आफूले केन्द्र सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पटक–पटक ताकेता गरे पनि बजेट व्यवस्थापन गर्न नसक्दा ढुङ्गा व्यवस्थापन कार्य ढिलाइ भएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । गत बुधबार केन्द्रीय सरकारले ढुङ्गा व्यवस्थापनका लागि २५ लाख बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को बैठकले जोखिमयुक्त ढुङ्गाको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिसकेकोे छ ।

      सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार राति बाढीले बबन्डर मच्चाएपछि सरकारले गत बुधबार विपत् न्यूनीकरणका लागि बजेट छुट्याउँदा नुवाकोटको दुप्चेश्वरलाई पनि समेटेको छ । पाल्छोङ ऊ (ओडार) नाम गरेको ढुङ्गाको ओडारमा स्थानीय किसानले विगतदेखि नै गाई, गोरु र बाख्रा बाँध्ने, घाँस-दाउरा राख्ने गरेका थिए । उक्त ओडार खुम्चिएर किसानले राखेको दाउरा च्यापिएको र ओडार भित्रपट्टिका ढुङ्गा चर्किएको उत्तरतर्फको भित्ता र ढुङ्गा करिब दुई-तीन फिटको दूरीमा छुट्टिइसकेको जबरजंग गण देवीघाट नुवाकोटका गणपति उदय लामिछानेले बताए । ठूलो वर्षा र भूकम्प आएमा कुनै पनि बेला ढुङ्गा पल्टिन सक्ने र ठूलो क्षति हुन सक्ने खतरा कायमै छ । उक्त ढुङ्गा पल्टेको स्थितिमा नेगी खोलास्थित सूर्यमति आधारभूत विद्यालय भवन र २८ घरपरिवार र ढुङ्गाभन्दा माथिल्लो गाउँ बोतगाङ र हेजीको बस्तीलाई तत्कालै प्रत्यक्ष असर पुग्ने प्राविधिकले आकलन गरेका छन् । ढुङ्गा ज्यादै ठूलो भएकाले यदि उक्त ढुङ्गा पल्टेको अवस्थामा सयौँ मिटर वरपर कम्पन हुने र त्यतिबेला चारैतिर पहिरो जाने, डाँडा पाखा बग्ने एवम् घन्टौँ-घन्टा खोला थुनिने तथा त्यसपछिको क्षति के-कति हुन्छ भन्ने अनुमान गर्न नसकिने अवस्था रहेको स्थानीयले बताएका छन् ।