कोरोनाबाट बच्न ‘द’

  • हरिप्रसाद रिमाल
  1. ‘द’ नामक सूत्रात्मक अक्षरबाट हामी पनि धेरै कुरा सिक्न सक्छौँ र
    यस पापी कोरोना जीवाणुको आक्रमणबाट बच्न सक्छौँ । के–के सिक्ने त ‘द’ बाट ?

१. परापूर्वकालमा चराचर जगत्का स्रष्टा ब्रह्माकहाँ देवता, मनुष्य र दानव ज्ञान प्राप्त गर्ने ध्येय लिएर गएछन् । पूरा ब्रह्मचर्य पालना गरी अनुशासन र नियमको पालनाका साथ ब्रह्माको सेवा, सुश्रुषामा लागे छन् सबै । आफूहरूको सेवा देखेर विधाता खुसी हुनुभयो होला भन्ने ठानेर पहिले देवताहरू गएछन् र भनेछन्, ‘प्रभु हामीलाई ज्ञान दिनुप¥यो अब ।’ ब्रह्माले मुस्कुराएर भन्नुभएछ ‘द’ । देवताले आफ्नै स्वभावअनुसार यसको अर्थ बुझेछन् र धाताप्रति आभार प्रकट गर्दै भने छन्, ‘प्रभु हामी कृतकृत्य भयौँ, बुझ्नुपर्ने कुरा बुझ्यौँ, प्रभुको जय होस् ।’ त्यसपछि ब्रह्माले सोध्नुभएछ, ‘के बुझ्यौ ।’ उनीहरूले आफूहरूले बुझेका कुरा यसरी भनेछन्, ‘प्रभु हाम्रो स्वर्ग अथवा देवलोक भनेकै सुख भोग गर्ने ठाउँ हो । कहिल्यै बुढो हुन नपर्ने चाहेअनुसारका चौरासी व्यञ्जन खान, नन्दनवनमा घुम्न र अप्सराहरूसँग मदमस्ती गर्न पाइरहने भएकाले हामीहरू भोगविलासमा चुर्लुम्म डुबी उन्मत्त हुँदै गएका थियौँ । प्रभुकृपाबाट प्राप्त ‘द’को अर्थ ‘इन्द्रियदमन’ भन्ने बुझ्यौँ । सधैँ भोग र मदमस्तीसँग बस्ता दुःखका दिन पनि चाँडै आउन सक्छ भन्ने बुझ्यौँ प्रभु, अब हामी संयमित हुन्छौँ ।’ त्यो सुनेर देवतालाई ‘क्याबात् देवताहरू हो ! तिमीहरूले ठीक बुझ्यौ, अब बुझेअनुसार गर’ भनेर बिदा दिई पठाउनुभयो ।

२. त्यसपछि मनुष्य ब्रह्माकहाँ ज्ञान प्राप्त गर्न गए र बिन्ती गरे । उनीहरूलाई पनि विश्व स्रष्टाले ‘द’ भन्नुभयो । मनुष्यले पनि आभार प्रकट गर्दै भने, ‘यसको अर्थ राम्रै बुझ्यौँ प्रभु ! हजुरका कृपाले हामी कृतकृत्य भयौँ ।’ उनीहरूसँग पनि ब्रह्माले सोध्नुभयो, ‘के बुझ्यौ ?’ उनीहरूले भने, ‘हामी मनुष्य कर्म गर्न र कमाउन मात्र जान्ने छौँ । दान गर्न भन्यो कि दाँतबाट पसिना आउने लुब्ध छौँ । त्यसैले प्रभुको कृपाबाट प्राप्त ‘द’ को अर्थ दान भन्ने बुझ्यौँ । अब सन्तान दरसन्तानका लागि समेत भनेर राख्नभन्दा कमाएको धन उदार मनका साथ विपत्तिमा परेका दीनदुःखी र राष्ट्रको कल्याणका खातिर दान पनि गर्नुपर्ने रहेछ । भन्ने यो शाश्वत सत्य बुझ्यौँ प्रभु !’ उनीहरूका कुरा सुनेर पनि ब्रह्मा अत्यन्त खुसी हुनुभयो र भन्नुभयो, ‘स्याबास मनुष्य हो ! तिमीहरूले ठीक बुझ्यौ, अब कमाएको धन असल काममा, दीनदुःखीको कल्याणका लागि दान गरेपछि सन्तानले के खालान् भन्ने चिन्ता छोड । उनीहरूलाई असल मानिस मात्र बनाइदेऊ, तिनका निम्ति धन थुपारेर राखिदिनुपर्दैन ।’ तिमीहरूको जय कल्याण होस् भनेर उनीहरूलाई बिदा गरी पठाउनुभयो ।

३. मनुष्य बिदा भइसकेपछि दानवले आएर अब्जयोनी (ब्रह्मा)सँग ज्ञान दिन निवेदन गरे । उनीहरूलाई पनि उहाँले ‘द’ भन्नुभयो । एकछिन चिन्तन गरेर दानवले पनि आफ्नै किसिमले त्यसको अर्थ बुझे र ब्रह्माप्रति आभार प्रकट गरे । त्यसपछि उनीहरूसँग पनि ब्रह्माले ‘के बुझ्यौ ?’ भनेर सोध्नुभयो त्यसको उत्तरमा उनीहरूले भने, ‘प्रभु हामी दानव स्वभावैले क्रोधालु, हिंसालु र पापालु छौँ । त्यसै भएर प्रभुले हामीलाई प्राणी मात्रमा दया गर, हिंसा त्याग, कसैसँग झगडा नगर र देवताजस्तै बन भन्ने ज्ञान दिनुभएको रहेछ भन्ने बुझ्यौँ प्रभु !’ त्यो सुनेर त झन् ब्रह्मा अत्यन्तै खुसी हुनुभयो र तिमीहरूमा सद्बुद्धि आओस् भनेर बिदा गरी पठाउनुभयो । यसरी एकै अक्षर ‘द’ भित्र कति महत्वपूर्ण अर्थ लुकेका हुँदा रहेछन् । यो कुरा हामीले बुझ्यौँ ।

४. यस प्रसङ्गमा शब्द ब्रह्मको पनि अलिकति कुरा गर्रौँ न ! शब्द भनेको ब्रह्म हो । एक अक्षरको शब्द होस् कि एकभन्दा बढी अक्षरको शब्द, त्यसमा अत्यन्त गहिरो ज्ञान लुकेको हुन्छ । शब्दलाई राम्ररी प्रयोग गर्न सकियो भने त्यसले ब्रह्मज्ञान दिन सक्छ । फेरि त्यही शब्दको दुरुपयोग भयो भने समाजमा मनुष्यले प्रयोग गरेको शब्दबाट नै हिंसा, अशान्ति र भाँडभैलो पनि मच्चिन सक्छ ।

५. विश्वव्यापी कोरोनाले संसारलाई नै सन्त्रस्त बनाइरहेका बखत ब्रह्माजीले सत्ययुगमा देवता, मनुष्य र दानवलाई दिनुभएको ‘द’ नामक सूत्रात्मक अक्षरबाट हामी पनि धेरै कुरा सिक्न सक्छौँ र यस पापी कोरोना जीवाणुको आक्रमणबाट बच्न सक्छौँ । ‘द’बाट के–के सिक्ने त ?

‘द’-मनलाई दह्रो बनाउने । मनलाई दह्रो पार्ने भनेको आफूमा आत्मबल बढाउने । रोगै लागिहाले पनि धैर्य गर्ने, संयम लिने, नआत्तिने त्यसो भएपछि यसलाई सहजै जित्न सकिन्छ ।
‘द’-दान । विपत्तिमा परेका, यस महामारीका कारण भोकभोकै बस्न विवश आफ्नै घरवरपरका दीनदुःखीलाई जो सकेको दान गर्ने, आफ्नो घरमा कोही भाडामा बसेका छन् र तिनको भाडा तिर्ने हैसियत छैन भने पूरै वा आंशिक छुट दिने ।
‘द’-दया । दुःखी-पीडित मनुष्यलाई मात्र होइन कि घरवरपरका पशुपक्षीलाई पनि दिने । आफूले खाना खानुभन्दा अघि आफूले खाने कुरा देवदेवता र पितृलाई अर्पण गर्ने (त्यो त हामीले खाने बेला औरासन औसनी) हाल्दा पनि गर्दै आएका छौँ ।

(लेखक : पूर्व प्रशासक, साहित्यकार एवम् आध्यात्मिक चिन्तक हुनुहुन्छ ।)