त्रिशूली अस्पताललाई आइसियू बेडसहित १६ लाख सहयोग

त्रिशूली, नुवाकोट समाज जापानले त्रिशूली अस्पताल नुवाकोटलाई आइसियू बेडसहित १६ लाख रुपैयाँको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

      विदुर नगरपालिकामार्फत समाजले आइसियू बेड तीनवटा, तीन थान मोनिटर, अक्सिमिटर, सिरिन्ज, पिपिई सेट र मास्क उपलब्ध गराएको हो । विभिन्न जिल्लाबाट जापानमा अध्ययन र रोजगारीको सिलसिलामा रहेका युवाको सक्रियतामा सङ्कलित रकमले स्वास्थ्य सामग्री खरिद गरी त्रिशूली अस्पताललार्ई नगरपालिकामार्फत उपलब्ध गराएको नुवाकोट समाज जापानका सल्लाहकार राजेन्द्र अधिकारीले बताए । तीनवटा जिल्लाका नागरिकलाई उपचार सेवा उपलब्ध गराउँदै आएको त्रिशूली अस्पताललाई रोजगारी तथा अध्ययनमा रहेका व्यक्तिले सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्कलन गरेको रकमको सही सदुपयोग गर्न त्रिशूली अस्पताललाई उनले आग्रह गरेका छन् ।

     नुवाकोट समाज जापानबाट उपलब्ध सामग्री त्रिशूली अस्पताललाई उपलब्ध गराउँदै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले वैदेशिक क्षेत्रमा पुगेका व्यक्तिको रगत र पसिनाबाट सङ्कलन भएको स्वास्थ्य सामग्रीबाट नुवाकोट, रसुवा र धादिङका नागरिकले उपचार सेवा पाउने बताए । कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि अत्यावश्यक आइसियू बेड र स्वास्थ्य उपकरणको सहयोगले त्रिशूली अस्पतालमा सहयोग पुगेको मेयर पण्डितले बताएका छन् । नुवाकोट समाज जापानमा आबद्ध एक सय २० जनाले सङ्कलन गरेको रकमबाट स्वास्थ्य सामग्री खरिद गरेको हो ।