अ+सारको चटारो

  • श्याम रिमाल

असार लागेको छ । मनसुन सुरु भइसकेको छ । धान रोपाइँ गर्ने बेला भएको छ । असार र धानको निकै सम्बन्ध छ हामीकहाँ । यसपालि त आध्यात्मिक धान रोपाइँ पो गर्ने रे, यो पनि हेर्नु छ । असार १५–दहीचिउरा खाने दिन । यसै दिन धान दिवस छानिएको छ । असारको चटारो भन्छन् । हामीकहाँ यही चटारोमा बजेट पनि बन्छ । वर्षे अधिवेशन बजेटकै चटारोमा बित्छ ।

       खेत हुने त यसैमा रमाउने भए, नहुनेलाई के त ? कागलाई बेल पाक्यो हर्ष न बिस्मात् । वर्षा, हिलो, गजगजी । छाता भए पनि हराउने पिर, नभए झन् पिर । त्यसो होइन, वर्षाले गर्मी ज्यानलाई केही राहत त अवश्य मिल्छ । असारमै सबै प्राण अडिएको छ, जीवनको सार असारमै छ । असार = अ + सार अर्थात् सारविहीन । असार कसरी सारविहीन हुन्छ ? कस्तो उपसर्ग र धातु अनि व्युत्पति हो यो ? होइन क्यारे, बरु असार नै मूल शब्द हो । आषाढलाई बिगारेर असार बनाएपछि सारविहीन हुने भइहाल्यो । असारको अर्थ लगाउन हाडे कसारजस्तो पो भयो ।

     हजुरबाको पालामा अलिकति खेत थियो विदुरतिर र रोपाइँमा सहभागी हुन पाइन्थ्यो । सानैमा खेत रोपेको हेरियो मात्र, रमाइलोमा सहभागी हुन पाइएन । छिमेकी मेजरको खेतको रोपाइँ पनि हेरियो मात्र । बगुवाको घर छेउबाट सामरी खोला वरपरका रोपाइँ हेरिन्थ्यो र मजा लिइन्थ्यो । बुबा स्कुलको गुरु मात्र, खेत नाइँ । घरै अगाडिको आँगनबाट गोरु लैजान्थे खेतधनीले मुखमा मुखौटो हालेर । असारको खास मर्म खेतमै पसेर पाउन सकिएन । फर्सीको मुन्टा र करेला भने मनग्य खाइयो ।

‘असारे मासको गजगजे हिलो छी मलाई घीन लाग्यो
पातली नानीलाई फरिया किन्दा छबिस रिन लाग्यो’

      आमा कहिलेकाहीँ सुनाउनुहुन्थ्यो । रत्नदास प्रकाशको ‘झमझम पानी प¥यो असारको रात, पारिपट्टि बज्न लागे मकैका पात’ पनि मिठो लाग्थ्यो । ‘असारै महिनामा पानी प¥यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैच्याङले मनै हरर, बिछोडको बेलामा’-छुसाङ डोक्पाको यस गीतले भने मनै रुवाउँथ्यो ।

         बेलामा खेतको एक कुनामा बिउ रोप, बिउलाई पशुपक्षी, किरा र रोगबाट जोगाऊ, आकाश हेर्दै मनसुन कुर, खेतमा पालो मिलाएर पानी लगाऊ, कहिले पानीका लागि झगडा गर, रोपाइँको साइत खोज, रोपार, लाठे, बाउसे र गोरु खोज । सब काम छाडी रोपाइँ गर (यतिन्जेल त आफ्ना मान्छे मरे पनि छोपेर रोपाइँ भ्याउनुपर्छ) गोड, फलेपछि असिना पानीबाट जोगाऊ (मान्छेले जोगाउने त होइन), पाकेपछि खेताला खोजेर धान कटाऊ, बिटा लगाऊ, फेरि पानी र असिनाबाट जोगाऊ, धान चुट, खसेको धान सँगेटेर बोरामा हाल, धान बेच या मिल वा ढिकीमा कुट । अब चामल त बन्यो, यसका भुस निफन र व्यिाँ फाल । बल्ल भात पकाउन तयार । धान किसानका कति दुःख कति । उत्तम खेती, मध्यम व्यापार, निर्घिणी चाकरी किन भनिएको होला ? भकारीमा हालेको धान मुसाले खाएर हैरान । वर्षभर नै तनाव । सिँचाइ, मल, बिउ, औषधिमा सरकारले अनुदान दिए, हानि–नोक्सानीको बिमा र क्षतिपूर्ति गरिदिए, धान चामलको बजार व्यवस्था गरिदिए कति असल हुन्थ्यो होला । किसानलाई हेरेर बजेट कहिले बन्ने हो हाम्रो देशमा ? राष्ट्रिय योजना आयोगको कक्षमा चाहिँ तिनको तस्बिर झुन्ड्याइएकै होला नि ?

       उद्योगपति, कर्मचारी पनि यही असार कुर्छन् र राजनीतिकर्मी पनि, बजेट कस्तो आउँला भन्ने चासो । भाउ के होला, करका दर के होलान् । विद्यार्थी, मजदुर, बुढाबुढी सब बजेटको पर्खाइमा ।

        धर्तीको शीतलताले मनै शीतल बनाउँछ । हरियाली जताततै । पानीमा रुझ्दा पनि रमाइलो । गर्मी जिउ सबै पखालिन्छ । आकाश धुम्म र बादलको राज-तर पनि केही छैन-घामपानी, इन्द्रेणीको रमाइलो । छाता भए पानीको डर छैन । उहिले त हामीलाई रुझ्नै रमाइलो लाग्थ्यो, न ज्वरो, न रुघाखोकी । काली, धोक्रे, सिन्दुरे, सुपारे आँप पानीमै रुझेर झोलामा हालिन्थ्यो, खाइन्थ्यो । असार र साउनको गर्मी बिदा आँप खाएर, खोलामा नुहाएर, बारीका पाटा, खेत र ग्राउन्डमा फुटबल, डन्डीव्यिो, कपर्दी खेलेर बित्थ्यो ।

       असारको वर्षा-ताण्डव नृत्य देखाउन थाल्छ । बाढीपहिरो, हिलो, खाल्डा-खुल्डी सब पोखरीमा परिणत । प्रकृतिको रोदन र आक्रोश हेरिनसक्नु । गड्याङ-गुडुङ, चट्याङ, झरझर-मनै कम्पित, तनै कम्पित । ‘जुन बेला जो व्यवस्था प्रकृति नियमले प्राप्त भो त्यहीँ छ राम्रो । जो त्यो मान्दैन राम्रो अबुझ समझ हो त्यो त्यसैको नराम्रो’ भन्ने कवि शिरोमणिको ऋतुसम्बन्धी कविता पढ्न र बुझ्न सके असार पनि बुझिन्छ, असोज पनि बुझिन्छ ।