नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:१४

शिवपुरी, आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै शिवपुरी र दुप्चेश्वर गाउँपालिकाको गाउँसभा गत मंगलबार नै सम्पन्न भएको छ । असार १० गतेभित्र गाउँसभा सम्पन्न गर्नुपर्ने संविधानमा व्यवस्था भए पनि शिवपुरी र दुप्चेश्वर गाउँपालिकाले ८ गते मंगलबार नै गाउँपरिषद् सम्पन्न गरेका थिए ।

       शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले पूर्वाधार निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शिवपुरीमा कृषि क्षेत्रलाई व्यावसायीकरण गर्ने, व्यावसायिक कृषकलाई उत्प्रेरणा दिने, प्रत्येक वडालाई कृषि तथा पशुपन्छी सेवा केन्द्रको रूपमा विकास गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’को नीति अवलम्बन गर्ने भएको छ । गाउँपालिकाभित्रको पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने, आवश्यकतानुसार नयाँ सहकारी दर्ता गर्ने, चालू अवस्थामा रहेका सहकारीसँग समन्वयात्मक कार्यक्रम गर्नेछ । शिवपुरी कृषि रिङरोड सम्पन्न गर्ने, भवन निर्माण बाँकी रहेका वडामा वडा भवन निर्माण सम्पन्न गर्ने नीति लिइएको छ ।

      शिवपुरीमा स्थायी घर भई विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नेलाई सम्मान गर्ने लक्ष्य राखिएको छ । यसका साथै सिँचाइ, सञ्चार, शिक्षा, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कोभिड-१९ सङ्क्रमण नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरेका छन् । गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले आगामी आर्थिक वर्षका लागि ५० करोड २६ लाख १३ हजारको अनुमानित आय-व्यय प्रस्तुत गरिन् । गाउँपालिकाबाट हुने आम्दानी तथा सङ्घ र प्रदेशबाट प्राप्त बजेटबाट विभिन्न योजनामा विनियोजित बजेट विवरण उनले प्रस्तुत गरेकी थिइन् ।

      बजेटमा चालू खर्च पाँच करोड १८ लाख, वडा सञ्चालन खर्च ४२ लाख, वडा नं. २, ३, ५ र ७ को फर्निसिङका लागि २० लाख, सामुदायिक भवन निर्माणका लागि ४० लाख, मठमन्दिर गुम्बा निर्माणका लागि ३० लाख विनियोजन भएको छ । गाउँपालिकाको आठवटै वडामा मरनपाटी निर्माणका लागि ३० लाख, सार्वजनिक शौचालय निर्माणका लागि १५ लाख, कृषि रिङरोड स्तरोन्नतिका लागि एक करोड विनियोजन गरिएको छ । एकल पुरुष भत्ताका लागि शिपवुरी गाउँपालिकाले २० लाख, कृषि विकास कार्यक्रममा ३० लाख, पशु सेवा कार्यक्रममा २५ लाख, शिक्षाका कार्यक्रममा एक करोड १४ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य कार्यक्रममा ९५ लाख ५० हजार, शिवपुरीका उत्पादनलाई बजारीकरण सहयोग गर्न कोसेली घर निर्माणमा १० लाख, कोभिड-१९ बाट मृत्यु भएकालाई किरिया खर्चबापत पाँच लाख छुट्याइएको छ ।

       प्रत्येक वडालाई ३० लाखका दरले दुई करोड ४० लाख, गाउँपालिका स्वागतद्वार निर्माणमा १५ लाख रहेको छ । गाउँपालिकाभरि उपाध्यक्ष आर्थिक पुनरुत्थान कार्यक्रमका लागि ३० लाख, हाइटेक नर्सरी निर्माणका लागि १० लाख विनियोजन भएको छ । शिवपुरी गाउँपालिकामा कोभिड-१९ नियन्त्रणका लागि २० लाख, विद्यालय शिक्षण सहयोग अनुदान पाँच लाख विनियोजन गरिएको छ । नुवाकोटकै अर्को स्थानीय तह दुप्चेश्वर गाउँपालिकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने भएको छ । गाउँपालिकाको गाउँसभाको नीति तथा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले आर्थिक वर्ष ०७८/७९ भित्र हवाई उद्धार सेवा र विपत्को बेला अत्यावश्यक सामग्री ल्याउन सहजका लागि सातै वडामा हेलिप्याड निर्माण गरिने बताए ।

      हेलिप्याडबाट आकस्मिक बिरामी दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपत्मा राहत उपलब्ध गराउन सहयोग पु¥याउन गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिन लागेको उनको भनाइ छ । हेलिप्याड निर्माण गर्न स्थान छनोटका लागि नेपाली सेनाको सहयोग लिइने जनाइएको छ ।