विनपाको एक अर्ब ३९ करोडको बजेट

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:१७

विदुर, आगामी आर्थिक वर्ष ०७८/७९ को लागि नुवाकोटको विदुर नगरपालिकाले एक अर्ब ३८ करोड ९७ लाख ८५ हजार दुई सयको बजेट पारित गरेको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै विदुर नगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ ।

      नगरसभामा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले ‘शिक्षा, समृद्धि, कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान’ भन्ने मूल नाराका साथ पूर्वाधार निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आर्थिक वर्ष ०७८/७९ का लागि प्रस्तुत भएको कार्यक्रममा पूर्वाधार विकास र कोरोना सङ्क्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । पाँचवर्षे कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयरले नगरपालिकाको समृद्धिको आधारलाई पछ्याउँदै समृद्ध नगर निर्माणको परिकल्पनालाई साकार बनाउन सबै विषयलाई नीतिगत रूपमै व्यवस्था गरेको बताए । मेयरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पूर्णता दिन यस वर्ष विदुर नगरपालिकाले एक अर्ब ३८ करोड ९७ लाख ८५ हजार दुई सयको बजेट विषयगत समितिबाट अनुमोदन भएको छ । नीति तथा कार्यक्रमलाई पूर्णता दिन नगर उपमेयर गीताकुमारी दाहालले विनियोजन विधेयक तथा बजेट प्रस्तुत गर्दै सबै नयाँ योजनाका लागि बजेट विनियोजन गरेको बताइन् । पुराना अत्यावश्यकबाहेक अन्य योजनालाई निरुत्साहित बनाउँदै नगरपालिकाले आक्रमक विकासका लागि बजेट ल्याएको उनले बताइन् ।

      विदुर नगरपालिकाले यस वर्ष कृषि क्षेत्रलाई व्यावसायीकरण गर्ने, व्यावसायिक कृषकलाई उत्प्रेरणा दिने, निजी क्षेत्रसँगको सहकार्यमा निजी सरकारी साझेदारी अभियान सञ्चालन गर्ने, पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने, नगरपालिकाभित्र रहेका सबै सार्वजनिक विद्यालयमा अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने, विकास निर्माण पूर्वाधार विकासका लागि निर्माण कम्पनीसँग कार्यादेशअनुसार काम गर्ने, तोकिएको समयमा कार्ययोजनाअनुसार काम नगर्नेलाई कारबाही गर्ने नीति विदुर नगरपालिकाले लिएको छ । नगरपालिकाले आ.व. ०७८/७९ का लागि विनियोजित कुल बजेटमध्ये चालूतर्फ ५७ करोड ५१ लाख ६२ हजार अर्थात् ४१ दशमलव ३८ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ८१ करोड ४६ लाख २३ हजार दुई सय अर्थात् ५८ दशमलव ६२ प्रतिशत रहेको छ । गत वर्षको भन्दा यस वर्ष १० प्रतिशत बजेट बढेको छ । बजेटले बहुवर्षीय योजनाका लागि गँगटे पार्कबाट वडा कार्यालय जाने सडक, चण्डेश्वरी, गहते, साहुगाउँ सडक, वितलब सेतीदेवी रुम्टी मोड हुँदै राधाकृष्ण मन्दिर सडक र मान्द्रेढुङ्गा, गौरीबेंसी, चारघरे, कठेरी, ढिकी-जाँतो-चुली जाने सडकलाई छनोट गरेको छ ।