विकासको गतिमा उत्तरगयाधाम

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:२३

बेत्रावती, रसुवा र नुवाकोटको सिमाना रहेको पवित्र धार्मिक तीर्थस्थल उत्तरगयाधाम बेत्रावती क्षेत्रको भौतिक पूर्वाधार निर्माणले गति लिइरहेको छ ।

     ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व रहेको बेत्रावतीको जति विकास हुनुपर्ने थियो, त्यो हुन नसकेको सामाजिक अभियन्ताले बताउँदै आएका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहले वार्षिक रूपमा दिने गरेको न्यून बजेटले बेत्रावती क्षेत्रमा मरणपाटी, घाट तटबन्द निर्माण भइरहेको छ । चुनावी पर्चामा विभिन्न राजनीतिक दलले उत्तरगयाधामको विकासका लागि यो गर्छु, त्यो गर्छु भनी प्रचार गरेका थिए भने गाउँगाउँमा भाषणमा पनि चिच्याउनुसम्म चिच्याएका थिए । फगतः सांसद तथा जनप्रतिनिधिको अवधि अब एक वर्ष पनि बाँकी छैन, यसबीचमा सरदर २० प्रतिशत काम भएको देखिन्छ । तर, आ–आफ्नो खुसीमा । मनलाग्दो तरिकाले, जता पायो त्यतै, जस्तोसुकै होस्, जो जसले बजेट ल्याएर काम गरेका छन्, त्यो आफ्नो खुसीमा, बिनायोजना, आवश्यक तयारीबिनै स्थानीयसँग समन्वय नगरी काम गर्ने प्रवृत्ति रहेको छ ।

     बृहत् उत्तरगयाधामको गुरुयोजना मुताबिक पूर्वाधार निर्माण नभएको गुनासो स्थानीय सरोकारवालाले गर्ने गरेका छन् । त्यस क्षेत्रमा भइरहेको कामको, योजनाको, बजेटको न त सार्वजनिक रूपमा सुनुवाइ भएको छ न कुनै सूचना बोर्ड राखिने गरेको छ । कसले काम ग¥यो, कहाँबाट कति बजेट आयो, उपभोक्ता समितिमा को–को छ, अन्य समितिले पो काम गरेको हो कि, सर्वसाधारणका लागि गुमनाममा राखी एकलौटी ढङ्गले काम गरिएको स्थानीय शशिकुमार डङ्गोलले बताए । भद्रगोल पाराले काम हँुदा एकातिर दिगो विकासको काम हुने देखिँदैन भने बजेटको सही उपयोग नहुने प्रस्ट देखिन्छ ।

      गाउँमा विकास हुनु राम्रो हो, बजेट आउनु राम्रो हो । जो-जसले बजेट ल्याएर काम गरे पनि राम्रै हो । तर, महत्वपूर्ण कुरा यो हो कि गाउँले भेला हुनुप¥यो, समिति गठन गर्दा सबैलाई समेट्नुप¥यो । सार्वजनिक रूपमा बजेट र काम खुलाउनुप¥यो । गुरुयोजनामुताबिकको काम हुनुप¥यो, यो क्षेत्रको महत्वलाई ध्यानमा राखेर आवश्यक स्थानमा आवश्यकताअनुसारको संरचना दिगो हुने तरिकाले बनाउनुपर्ने माग स्थानीयले एक दशकदेखि गर्दै आएका छन् । उत्तरगया धामको नाममा नुवाकोट र रसुवापट्टि आधा दर्जन संस्था भए पनि खासै उत्तरगयाधामको प्रचार–प्रसार र भौतिक पूर्वाधार निर्माणमा पहल गरेको देखिँदैन ।

      एक दशकदेखि उत्तरगयाधामको नाममा खुलेका सङ्घ-संस्थाबीच आरोप-प्रत्यारोपमै अल्मलिइरहेका छन् । धाममा यो वर्ष बनायो, अर्को वर्षको बाढीले क्षति पु¥याउने क्रम बढेको छ । गाउँपालिकाले के गर्दै छ ? वडापालिकाले के हेर्दै छ ? उत्तरगया क्षेत्रसँग सम्बन्धित विकास समिति एवम् अन्य सामाजिक संस्था कता छन् ? स्थानीय बुद्धिजीवी तथा समाजसेवी किन मौन ? राम्रो कामलाई स्याबासी दिऔँ, नराम्रो गर्नेलाई खबरदारी गरौँ । उत्तरगया क्षेत्रको बृहत् विकासमा सबैले जोड दिऔँ । भ्रष्टाचार रोकौँ, सरकारी बजेटको राम्रो उपयोग गरौँ भन्ने अभियानमा शशिकुमार डङ्गोल लागिपरेका छन् ।