नेपालकै पहिलो तामाङ सङ्ग्रहालय नयाँ व्यवस्थापनमा सञ्चालन

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:२५

धुन्चे, रसुवामा रहेको नेपालकै पहिलो तामाङ सङ्ग्रहालय नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ । गोसाइँकुण्ड गाउँपालिकाले नवौँ गाउँसभाबाट आवश्यक नीति, नियम र बजेटको व्यवस्था गरेको छ ।

       गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा ०४५ सालदेखि सञ्चालनमा रहेको नेपालकै पहिलो तामाङ सङ्ग्रहालय हो । सङ्ग्रहालयको अध्यक्ष सेननुर्पु तामाङका अनुसार ०५७/५८ सालमा पर्यटन प्रवद्र्धनका लागि जिल्लामा सञ्चालित टिआरपिएपी भन्ने संस्थाले भवन बनाइदिएको थियो । त्यसपछि नेपालभरि नै नभएको तामाङ सङ्ग्रहालय बनाउने निधो गरेर धुन्चे गाउँको बीचमा सङ्ग्रहालय स्थापना गरिएको स्मरण उनले सुनाए । परम्परागत रूपमा रहिआएको तामाङ धर्म-संस्कृति झल्किने सामान सङ्ग्रहालयमा राखिएको छ । रसुवा जिल्लामा तामाङ जातिको बाहुल्य रहेकाले यो सङ्ग्रहालय राख्नुपर्छ, जिल्लाको शान र धुन्चेको मानको रूपमा रहेको छ । तामाङ समुदायको वेशभूषा, धर्म, संस्कृतिलाई भावी पुस्तासम्म जीवितै बनाइराख्न सङ्ग्रहालय महत्वपूर्ण हुनेछ । गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई कायम राख्न चासो दिएको छ ।

       नेपालभर कहीँ-कतै नभएको सङ्ग्रहालय रसुवाको सदरमुकाम धुन्चेमा स्थापना गरिएको छ । लाखौँ खर्च गरेर बनाइएको भवन र भवनभित्रका बहुमूल्य सामानप्रति स्थानीय सरकारले चासो र ध्यान दिएर संरक्षण गर्न लागेकोमा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले अब यसको विकास र विस्तार हुने अपेक्षा गरेका छन् । ‘अबका पुस्ताले आफ्नो संस्कृति बिर्सिएर विदेशी चलन अँगाले आफ्नो पहिचान के हो भन्ने अर्थ हुुँदैन,’ गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङले भने । उनले गोसाइँकुण्ड गाउँपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका स्थान र सम्पदाको मौलिक एवम् प्राचीन नामको खोजी गरी त्यस्ता स्थानको मौलिकतालाई संरक्षण एवम् प्रवद्र्धन गर्दै जाने बताए ।