अर्गानिक खेतीबाट वार्षिक ८० लाख आम्दानी

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १३:२४

धुन्चे, रसुवा जिल्लाको समग्र उत्पादनले जिल्लालाई ६ महिना खान पुग्छ । बाँकी महिना जिल्लामा खाद्यान्न आयात हुन्छ । जिल्लामा खाद्यान्न तथा तरकारीको आयात घटाउन व्यावसायिक रूपमा कृषि फर्म सञ्चालन जिल्लामा सुरु भएको छ ।

       खाद्यान्न तथा तरकारी र पशुपालन उन्नत प्रविधि प्रयोग गरेर गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेका कामीनुर्पु तामाङले तीन वर्ष अघिदेखि सुरु गरेको फर्मले जिल्लाको आयात घटाइरहेका छन् । अर्गानिक खाद्य तथा तरकारी खेतीलाई व्यवस्थित रूपमा सुरु गर्न भइरहेको आफ्नो शिक्षण पेसालाई छाडे । विगत तीन वर्षदेखि खैदीमा आफ्नै जमिनमा अर्गानिक खेतीबाट वार्षिक ८० लाख कमाइ गरिरहेका छन् । उनले रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्र नाम गरेको फर्म दर्ता गरी च्याङ्ग्रा र चौँरीगाईसमेत पालन गरिरहेका छन् । उनले वार्षिक ७० हजार केजी आलु, ५० हजार केजी करू उत्पादन गर्ने गरिरहेका छन् । कृषि फर्ममा उनको अहिले स्थानीय जातको कुखुरा, लौकाट, च्याङ्ग्राको बोका, स्थानीयस्तरको बोका, चौँरीगाई, याक र स्थानीय जातका गाई पालेका छन् । उनको फार्ममा अहिले तरकारीमा ब्रोकाउली, बन्दा, काउली, मूला, रायो, आलु, करू र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जीसमेत उत्पादन भइरहेको छ । कामीनुर्पु तामाङ आफू मात्र नभई गाउँका सबैलाई कृषि कर्ममा लाग्न उत्प्रेरणा दिइरहेका छन् । अहिले देशमा काम गरेर खानेको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आर्थिक, प्राविधिक सहयोग गरिरहेकाले महिनाको एक-डेढ लाख कमाउन बिदेसिनु नपर्ने बताउने तामाङ उत्पादन भएको सामग्री बिक्रीका लागि समस्या नभएको बताउँछन् ।

      बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रगत पसिना बगाई उत्पादन गर्न जोड दिन्छन् । समृद्धि नारामा भन्दा काममा लाग्नुपर्ने र काम गर्नेलाई सरकारले आर्थिक, प्राविधिक र बजारीकरणमा सहयोग गर्नुपर्ने धारणा उनको छ । गत वर्ष उनले फार्मबाट आलु र चिज बिक्रीबाट २५ लाख आम्दानी गरेका छन् । अन्तर्राष्ट्रिय व्यापारिक नाका भएका कारण पनि उनको अर्गानिक तरकारी बढी खपत हुन्छ । उनी शिक्षण पेसालाई छोडे पनि दुःखेसो नभएको बताउँछन् । हाम्रो देश कृषि प्रदान देश भनेर चिनिएको छ । सबै युवा विदेश पलाएन भएर के गर्नु र आफ्नै देशमा आफ्नै माटोमा सुन फलाएर देखाउन उनी कस्सिएका छन् । रसुवागढी जाने सडकमार्गको टिमुरेमा उनको फार्म कृषि व्यवसाय स्रोत केन्द्रको रूपमा विकास भइरहेको छ । उनी यस क्षेत्रको नमुना व्यवसायी कृषकको रूपमा स्थापित भइरहेका छन् ।