कोरोनाबाट मृत्यु हुनेलाई एक लाख बुबा-आमा बितेमा सन्तानलाई दुई लाख

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १३:२८

बेलकोटगढी, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले आगामी वर्षदेखि कोरोना सङ्क्रमणका कारण परिवारको कुनै एक सदस्यको मृत्यु भएमा परिवारलाई एक लाख र बुबा-आमा बितेमा सन्तानलाई दुई लाख नगद सहयोग दिने योजना ल्याएको छ ।

     जिल्लाको बेलकोटगढी नगरपालिकाले सातौँ नगरसभाबाट आगामी वर्षका लागि पेस भएको नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । उक्त पारित बजेटमा कोरोना सङ्क्रमणका कारण परिवारको कुनै एक सदस्यको मृत्यु भएमा परिवारलाई एक लाख र बुबा–आमा बितेमा सन्तानलाई दुई लाख नगद सहयोग दिने उल्लेख गरिएको छ । नगर उपमेयर कविता ढुङ्गानाले कुल अनुमानित एक अर्ब १२ करोड ३१ लाख ५२ हजारको बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभाले उपमेयर ढुङ्गानाले पेस गरेको बजेट सर्वसम्मत पारित गरेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बेलकोटगढी नगरपालिकाले सामूहिक खेती गर्ने किसानलाई अनुदानस्वरूप ट्र्याक्टर खरिदमा ५० प्रतिशत दिने योजना ल्याएको छ । किसानलक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि सहकारीको माध्यमबाट दूध बेच्ने किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिने भएको छ ।

        यस्तै भैँसीपालक किसानले अब भैँसी सुत्केरी हुँदा दुई हजार भत्ता पाउने भएका छन् । जनयुद्धको समयमा राज्य र माओवादी पक्षबाट सहादत प्राप्त गर्ने सहिद परिवार र बेपत्ता परिवारका सदस्यलाई मासिक दुई हजार निर्वाह भत्ता दिइने भएको छ । जनमुखी र जनअपेक्षाको योजना नगरपालिकाले ल्याएको मेयर राजेन्द्ररमण खनालले जानकारी दिए । भूगोलको हिसाबले ठूलो र नयाँ नगरपालिका भएकाले नगरपालिकाले चार वर्षसम्म भौतिक पूर्वाधार निर्माणमै अधिकांश बजेट र जनशक्ति खर्चिनुपरेको उनले बताए ।