निषेधाज्ञाको मिति नुवाकोटमा थपिरहने, कोरोना सङ्क्रमित बढिरहने

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०७:३७

विदुर: नुवाकोटमा कोरोनाका सक्रिय सङ्क्रमित नघट्दा जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञा थप्दै लगेको छ । जिल्लामा कोरोना सङ्क्रमणको परिवर्तित रूप पुष्टि भएसँगै सङ्क्रमणको जोखिम बढ्न थालेको छ । जिल्लामा प्रशासनले निषेधाज्ञाको मिति थपिरहने, कार्यान्वयनमा ध्यान नदिने गरेकाले कोरोना सङ्क्रमित बढिरहेको छ ।

       शुक्रबार मात्रै नुवाकोटको तीनवटा नमुना स्वाबमा डेल्टा र थप एक स्वाबमा डेल्टा प्लस भाइरसको सङ्क्रमण पुष्टि भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । जिल्लामा सङ्कलन भएको स्वाबमध्ये पजिटिभ आएका चार केसको अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरसको परिवर्तित रूप पुष्टि भएको हो । त्रिशूली अस्पतालले विज्ञप्ति निकालेर चारवटा पिसिआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएकोमा एउटामा कोरोना डेल्टा प्लस भेरिएन्ट देखिएको जानकारी दिएको छ । कोरोना डेल्टा भेरियन्ट ६० देखि शतप्रतिशत बढी सङ्क्रामक हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहलाई उच्च सङ्क्रमण गर्ने र बढी फोक्सोलाई असर पार्ने डा. पाण्डेले बताए ।

       जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञा आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिए । नुवाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबार पाँच सय ५१ जना रहेको छ । बुधबार निको हुनेको सङ्ख्या ५३ र ६७ सङ्क्रमितको सङ्ख्या थपिएको जानकारी स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले दिए । उनले दिएको जानकारीअनुसार कोरोना भाइरसको पहिलो वेभबाट एक जना र दोस्रो वेभबाट ३६ जना गरी कोरोना सङ्क्रमणबाट ३७ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा २१ हजार चार सय ९९ वटा स्वाबको नमुना परीक्षण गर्दा ६ हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट पाँच हजार चार सय ५७ जना निको भएर घर फर्केका छन् । यो हप्ता कोरोना सङ्क्रमणदर पाँच सयको वरिपरि घुमिरहेको छ । आइतबार कोरोना सक्रिय सङ्क्रमित आठजना थपिँदा ४८ जना निको भएर घर फर्केका थिए भने उक्त दिन जिल्लामा सक्रिय सङ्क्रमित चार सय ७१ मा ओर्लिएको थियो । सोमबार कोरोना सङ्क्रमणदर बढेर सङ्क्रमित ५१ जना थपिँदा चार सय ८४ सक्रिय सङ्क्रमितको सङ्ख्या पुगेको थियो । उक्त दिन निको हुनेको सङ्ख्या ३८ मात्र रहेको थियो । त्यसैगरी, मंगलबार ७९ जना सङ्क्रमित थपिँदा २६ जना निको भएर घर फर्किएका थिए । मंगलबार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ३७ पुग्यो । कोरोना सङ्क्रमितको ग्राफ बढ्ने क्रम बुधबार पनि रोकिएन । बुधबार ६७ जना सङ्क्रमित थपिँदा निको हुनेको सङ्ख्या ५३ मात्र रह्यो । बुधबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ जना पुगेको छ । नुवाकोटमा पुष्टि भएका सङ्क्रमितमा कोरोना सङ्क्रमणको तेस्रो लहरसमेत प्रमाणित भइसकेकाले थप जोखिम बढेको भए पनि प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन फितलो भइरहेको छ । दैनिक रूपमा ठूलो सङ्ख्यामा सङ्क्रमितको पहिचान हुँदै आएको नुवाकोटमा तेस्रो चरणको सङ्क्रमणको भाइरससमेत पुष्टि भएपछि भयावह अवस्था आउन सक्ने स्वास्थ्य कार्यालयले बताएको छ ।

      जिल्लामा दैनिकजसो ५० भन्दा माथि कोरोना सङ्क्रमित थपिँदै गएका छन् । निषेधाज्ञा खुकुलो गरिएयताको तथ्याङ्कले कोरोना सङ्क्रमण र मृत्युदर बढेको देखाएको छ । असार १ गतेयता जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा लगाएको भनिए तापनि सबै क्षेत्रमा चहल–पहल बढ्दो रहेको छ । झनै हाल नुवाकोटमा कोरोना सङ्क्रमणको तेस्रो वेभको सङ्क्रमण पुष्टि हुँदासमेत प्रशासनले सुरक्षा सतर्कता अपनाउन सकेको छैन । थपिएको निषेधाज्ञामा पनि सुरक्षा मापदण्डको पालना गरेर निजी सवारीसाधन सञ्चालन गर्न पाउने जनाएको छ । पछिल्लो समय पसल, बजार र यातायात सञ्चालनमा अनुमति नदिए पनि सबै क्षेत्र खुलेआम सञ्चालन हुँदा सङ्क्रमणको जोखिम बढेको होे । बजारमा मानिसको भिडभाड बढ्न थालेको छ । जसका कारण कोरोना सङ्क्रमितको ग्राफ पनि बढिरहेको छ ।

       असार १ देखि हालसम्मको तथ्याङ्कलाई जोड्ने हो भने नुवाकोटमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । पछिल्लो आँकडा हेर्ने हो भने सङ्क्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने सङ्क्रमितको सङ्ख्या पनि बढ्दो देखिएको छ । सङ्क्रमण निको हुनेभन्दा थपिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पटक–पटक निषेधाज्ञा थपिरहने, तर त्यसको कार्यान्वयन नगर्दा नागरिकसमेत आजित भएका छन् । वैशाख २१ गते रातिदेखि जारी नुवाकोटको निषेधाज्ञा साउन १ गतेसम्मका लागि तोकिएको छ । यो निषेधाज्ञा साउन १ गतेपछि पनि थपिने तयारी प्रशासनले गरिरहेको छ । सरकारले दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने नीति बनाएकाले पनि जिल्लामा हाल रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा माथि रहेको छ । सरकारको त्यो नीति परिवर्तन नभएसम्म नुवाकोटमा निषेधाज्ञा हटाउन प्रशासनले सक्दैन । नुवाकोटको प्रशासन पटक–पटक निषेधाज्ञाको मिति थपिरहने, तर बजार क्षेत्रमा प्रहरी परिचालन गर्न नसक्ने अवस्थाका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएको हो ।