इमर्जेन्सी एन्ड रिकभरी हाइड्रोलिक बेड प्रदान

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०७:५२

विदुर: वैदेशिक रोजगारको सिलसिलामा रहेका नुवाकोटका युवाले जिल्लावासीको कोरोना उपचारका लागि दुईवटा इमर्जेन्सी एन्ड रिकभरी हाइड्रोलिक बेड प्रदान गरेका छन् ।

      नुवाकोट सेवा समाज युएईले जिल्ला अस्पताललाई करिब तीन लाख मूल्यबराबरको उक्त बेड र स्वास्थ्य सामग्री विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको रोहवरमा त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा मेयर पण्डितले उपलब्ध गराएको बेडले जटिल खालका बिरामीको उपचारमा सहज हुने अपेक्षा गरेका थिए । नुवाकोट जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा रहेका युवाको सक्रियतामा संकलित रकमले उक्त स्वास्थ्य सामग्री खरिद गरी त्रिशूली अस्पताललाई उपलब्ध गराइएको बेड हस्तान्तरण अभियानका नेपाल सहयोगी नीरजकुमार खड्गीले बताए । उनले समाजमा आबद्ध रहेका ६८ जना व्यक्तिबाट सङ्कलन भएको दुई लाख ५९ हजार रुपैयाँले अस्पताललाई पहिलोपटक यस किसिमको बेड हस्तान्तरण गरिएको जानकारी दिए ।

       जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले प्राप्त बेड कोरोना उपचार कक्षमा प्रयोग गरिने जानकारी दिए । महामारीको समयमा आफ्नो जिल्लाको अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको नुवाकोट सेवा समाज युएईका वरिष्ठ उपाध्यक्ष रविन खड्गीले बताए । युएईमा रोजगारीका सिलसिलामा गएका नुवाकोटका युवाले यसअघि पनि जिल्लाका विभिन्न सङ्घ–संस्थालाई सहयोग गरेको संयोजक जगन अधिकारीले बताए ।