अन्तर्वार्ता: केही वर्षमै सरकारी विद्यालयमा भर्ना नपाएपछि मात्र अन्यत्र जाने अवस्था आउँछ

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०८:०५

महेन्द्र राउत,
प्रधानाध्यापक
त्रिभुवन त्रिशूली मा.वि
विनपा–१, त्रिशूलीबजार, नुवाकोट

नुवाकोटको मात्र नभएर धादिङ–रसुवाकै पहिलो विद्यालयको रूपमा त्रिभुवन त्रिशूली माविलाई हेरिन्छ । यो विद्यालयमा ०४५ भदौ १ गतेदेखि विज्ञान शिक्षक मावि दरबन्दीमा सर्लाही जिल्ला कोडेना गाउँपालिका वडा नं.– १ स्थायी घर भएका महेन्द्र राउत प्रवेश गरेका थिए । ०४८ जेठ १ गते मावि विज्ञान शिक्षकमा स्थायी नियुक्त भई ०६२ असोज २१ मा द्वितीय श्रेणी र ०६९ जेठ २१ बाट मावि प्रथम श्रेणीको शिक्षक पदमा कार्यरत राउत ०६३ देखि ०६६ असोजसम्म सहायक प्रधानाध्यापक, ०६६ असोज ११ गतेदेखि हालसम्म प्रधानध्यापक पदमा कार्यरत छन् । तराईमा जन्मिएको मधिसे ठिटो २३ वर्षको उमेरमा पहाडी जिल्ला नुवाकोटमा शिक्षक भएर आएका थिए । जीवनको उर्वर समय नुवाकोटको शैक्षिकस्तरको श्रीवृद्धि गर्नमै समर्पण गरेका राउतको सर्वसुलभ रूपमा स्थानीयस्तरमा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति निर्माण गर्ने योजना रहेको छ । सादा जीवन उच्च विचारलाई जीवनको मार्गदर्शन बनाएका राउतले शिक्षण पेसा नगरेको भए इन्जिनियर हुने बताए पनि शिक्षण पेसाबाट पूर्ण सन्तुष्ट रहेको बताउँछन् । आफू इमानदार भएर जुन पेसामा लाग्यो त्यही पेसाले नै सन्तुष्टि प्रदान गर्ने बताउने प्रधानाध्यापक राउतसँग त्रिशूली प्रवाह साप्ताहिकले विद्यालयको शैक्षिक अवस्था, भावी योजना र समग्र जिल्लाको सरकारी विद्यालयको शैक्षिक अवस्थाबारे गरेको भलाकुसारीको सारसङ्क्षेप :

विद्यालयको पठनपाठनको अवस्था कस्तो छ ?
विद्यालयको अहिलेका अवस्थामा पठनपाठनको अवस्था सन्तोषजनक र सुधारोन्मुख छ । हामीसँग कक्षा नर्सरीदेखि १२ सम्म हाल एक हजार एक सय ५३ जना छात्रछात्रा अध्ययन गरिरहेका छन् । 
प्राविधिक शिक्षातर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा एक सय १० जना छात्रछात्रा अध्ययनरत छन् । हिजोका तुलनामा आजभोलि नुवाकोट, रसुवा र धादिङका केही भेगका विद्यार्थीको पहिलो 
रोजाइमा त्रिभुवन त्रिशूली मावि परेको छ ।

कोरोनाको कारण गत वर्षको शैक्षिक सत्र पनि प्रभावित भयो । यस वर्षको पनि अन्योलबीच कसरी पठन–पाठन गर्ने योजना बनाउनुभएको छ ?
गत शैक्षिक सत्रदेखि नै कोरोना महामारीलाई मध्यनजर गरेर अनलाइन कक्षा, सम्पर्क कक्षा, टोल शिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यस शैक्षिक सत्रमा पनि ती कार्यक्रमका 
अतिरिक्त टेलिकमको CUG सिमको प्रयोग गरी टेलिफोन कक्षा विद्यालयमा आलोपाले बोलाई विद्यालय क्लिनिक सञ्चालन गर्नका साथै सबै कक्षामा अनलाइन कक्षा सञ्चालन गरी शैक्षिक 
गुणस्तरसहित विद्यार्थीका शैक्षिक सत्र खेर जान नदिन हामी प्रतिबद्ध छौँ ।

विद्यालयको स्थापना प्रावि, निमावि, मावि र उमावि कहिलेदेखि सुरु भयो ?
विद्यालय स्थापना र प्रावि ००७, निमावि ०१३, मावि ०१५ र उमावि ०४९/५० मा सुरु भएको थियो ।

विद्यालयमा जनशक्ति पूर्वाधार स्रोत पर्याप्त हुँदा पनि विद्यार्थीको रोजाइमा विद्यालय पर्न नसक्नुको कारण ?
यो प्रश्नबारे अलिकति प्रस्ट्याउन चाहेँ । नुवाकोट जिल्लाको सदरमुकाम आसपासका सम्पूर्ण विद्यार्थीको एसइईपछिको रोजाइ त्रिभुवन त्रिशूली मावि नै हो । यसमा दुईमत छैन । हामीसँग कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायतका विषयमा पठन–पाठन हुने र प्राविधिकतर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा समेत पठनपाठन हुने हुँदा रोजाइमा नपर्ने कुरै भएन । तर, कक्षा नर्सरीदेखि १० सम्म सम्पूर्ण अभिभावकको माग अङ्ग्रेजी माध्यम भएको हुँदा यस वर्षबाट अङ्ग्रेजी माध्यममा समेत कक्षा सुरुवात गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको सङ्ख्या उल्लेखनीय छैन नि ?
शैक्षिक गुणस्तरका लागि हामी लागिपरिरहेका छौँ । अहिले विद्यार्थी सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भइरहेको छ । गत शैक्षिक सत्र ०७७ सम्म जम्मा विद्यार्थी सङ्ख्या एक हजार एक सय ५३ जना भएकोमा यस शैक्षिक सत्र ०७८ मा अहिलेसम्म दुई सय ५० नयाँ विद्यार्थी भर्ना भइसकेका छन् । अबका दिनमा गुणस्तर र विद्यार्थी सङ्ख्या दुवै एकसाथ बढ्दै जानेछ ।

विद्यालयलाई के समस्या छ, जसले गर्दा गुणस्तर र सङ्ख्या बढ्न नसकेको हो ?
विद्यालयमा खासै समस्या छैन अहिले । हिजो भूकम्पका कारण भौतिक पूर्वाधार ध्वस्त भएका कारणले शैक्षिक गुणस्तरमा समेत केही समस्या भएको थियो । तर, हालमा आएर विद्यालयलले आफ्नो सम्पूर्ण ध्यान आधुनिक प्रविधियुक्त शैक्षिक वातावरण र गुणस्तरमा केन्द्रित गरेको हुँदा अबका दिनमा गुणस्तरीय र विद्यार्थीकेन्द्रित शैक्षिक थलोको रूपमा त्रिभुवन त्रिशूली नै नुवाकोट, रसुवा र धादिङवासीको रोजाइ हुनेछ ।

नर्सरीदेखि १२ कक्षासम्म कति विद्यार्थी छन् । प्लस टुमा के–के विषय अध्ययन भइरहेको छ ?
हाल कक्षा नर्सरीदेखि १२ सम्म एक हजार दुई सय विद्यार्थी छन् । भर्नाको समय विद्यार्थी भर्ना हुने क्रम निरन्तर भइरहेको छ । साथै, प्राविधिकतर्फ डिप्लोमा इन सिभिलमा एक सय १० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । दुई जिल्लामा एक मात्र विज्ञान पढाइ हुने विद्यालय त्रिभुवन त्रिशुली नै हो भने त्यसका अलावा व्यवस्थापन, मानविकी र शिक्षा चारवटै सङ्काय पढाइ हुने जिल्लाकै एक मात्र विद्यालय पनि त्रिभुवन त्रिशूली नै हो ।

विद्यालयले सञ्चालन गरेको विज्ञान र तीनवर्षे इन्जिनियरिङ डिप्लोमाको अवस्था के छ ?
दुवैका अवस्था राम्रो छ । हाम्रो विद्यालयमा विगत १६ वर्षदेखि विज्ञान सङ्काय सञ्चालनमा रहेका कारण जिल्लाका धेरै गरिब तथा जेहेनदार विद्यार्थीले इन्जिनियर, डाक्टर हुने अवसर प्राप्त गरेका छन् भने डिप्लोमा इन सिभिल देशको नै उत्कृष्ट केन्द्रको रूपमा विकास भएको छ । हालसम्मको नतिजालाई हेर्ने हो भने डिप्लोमा इन सिभिल इन्जिनियरिङको नतिजा देशभरि नै तेस्रो स्थानमा रहेको छ । यसका कारण आफ्नै घरआँगनमा बसेर प्राविधिक शिक्षा हासिल गर्ने अवसरसमेत रसुवा–नुवाकोटका विद्यार्थीले पाएका छन् ।

विद्यालयको भावी योजना के छ ?
विद्यालयको भावी योजना नै सर्वसुलभ रूपमा स्थानीयस्तरमा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति निर्माण गर्ने हो । यो नमुना विद्यालयसमेत भएको हुँदा सम्पूर्ण दृष्टिकोणबाट नमुना नै भएर देखाउने योजना छ ।

सरकारी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउन के गर्नुपर्ला ?
भौतिक पूर्वाधारको विकास नयाँ–नयाँ प्रविधिको प्रयोग, दक्ष तालिमप्राप्त जनशक्ति र विद्यार्थी–अभिभावकको चाहना अङ्ग्रेजी माध्यमबाट पठन–पाठन गराउन सक्यौँ भने आगामी दिनमा अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सरकारी विद्यालय हुन्छन् । अबको एक–दुई वर्षमै सरकारी विद्यालयमा भर्ना नपाएपछि मात्र अन्यत्र जाने अवस्था आउँछ ।

तपाईं यो विद्यालयमा आएको तीन दशक भइसकेको छ । यसबीचमा के–के जिम्मेवारी पाउनुभयो ?
म यस विद्यालयमा ०४५ भदौ १ गते मावि अस्थायी विज्ञान शिक्षकको रूपमा प्रवेश गरेको हँु भने ०४८ जेठ १ गते मावि विज्ञान शिक्षकमा स्थायी नियुक्त भई ०६२ असोज २१ मा द्वितीय श्रेणी र ०६९ जेठ २१ बाट मावि प्रथम श्रेणीको शिक्षक पदमा कार्यरत छु । ०६३ देखि ०६६ असोजसम्म सहायक प्रधानाध्यापक, ०६६ असोज ११ गतेदेखि हालसम्म प्रधानाध्यापक पदमा कार्यरत छु ।

तराईवासी भएर पनि पहाडी क्षेत्रमा अध्यापन गराउँदा भाषाको समस्या परेन ?
सुरु–सुरुमा त केही भाषागत समस्या थियो नै, तर हाल आएर यी सम्पूर्ण समस्या समाधान भइसकेका छन् । म स्थानीयवासीकै जस्तो भाषा बोल्न सक्ने भएको छु ।

समुदाय र विद्यालयको तपाईंप्रतिको व्यवहार कस्तो पाउनुभएको छ ?
मलाई लाग्छ– समुदाय र विद्यालयको मप्रतिको दृष्टिकोण र व्यवहार सकारात्मक छ । म यही समुदायमा बसेको ३३ वर्ष भइसकेको हुँदा मलाई र समुदाय दुवैलाई फरक हो जस्तो नै लाग्दैन ।

शिक्षण पेसा नगरेको भए के गर्नुहुन्थ्यो । शिक्षण पेसाबाट सन्तुष्ट हुनुहुन्छ ?
शिक्षण पेसा नगरेको भए इन्जिनियरिङतिर गइन्थ्यो होला । तर, म मेरो पेसाप्रति पूर्ण सन्तुष्ट छु । आफू इमानदार भएर जुन पेसामा लाग्यो त्यही पेसाले नै हामीलाई सन्तुष्टि प्रदान गर्दछ ।