हाम्रा कुरा: कोरोना जोखिम कायमै

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:०६

सरकारले कोरोनाका कारण जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेपछि देशभरि कोरोना थप भयावह बन्ने अवस्था निर्माण भएको छ । निषेधाज्ञालाई कडाइपूर्वक लागू गरिरहँदाका अवधिको तुलनामा अहिले फेरि कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्ने क्रममा छ ।

       नुवाकोट जिल्लामा कोरोनाको सङ्क्रमणदर पाँच सयकै वरिपरि रहिरहेको छ । जिल्लामा कोरोनाको बढी सङ्क्रामक मानिएको नयाँ भेरियन्ट पनि फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले गत हप्ता विज्ञप्ति जारी गरेर त्रिशूली अस्पतालको पिसिआर प्रयोगशालाबाट पजिटिभ देखिएको चारवटा स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको चारवटा नमुनामध्ये एउटामा डेल्टा प्लस भेरियन्ट भेटिएको पुष्टि गरेको छ । डेल्टा प्लस भेरियन्ट पहिलेको भेरियन्टभन्दा ६० देखि १ सय प्रतिशतभन्दा बढी सङ्क्रमण रहेको अनुसन्धानबाट पुष्टि भइसकेकाले सजग र सतर्क रहन आवश्यक छ । डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि ज्येष्ठ नागरिकलाई उच्च सङ्क्रमण गर्न सक्ने क्षमता रहेकाले विश्व स्वास्थ्य सङ्गठनले सजग रहेर स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरिरहेको छ । महामारीको रूपमा रहेको कोरोना भाइरसको कारण चैत अन्तिमपछि हालसम्म जिल्लाका कोरोनाबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । सक्रिय सङ्क्रमत पाँच सयको हाराहारी रहिरहेको नुवाकोटमा गत वैशाखदेखि जारी निषेधाज्ञा नाम मात्रको रहेको छ । भाडाको सवारीसाधन बस, माइक्रोबसबाहेक सबै प्रकारको सवारीसाधन भरिभराउ भएर सञ्चालनमा रहेको छ । बस र माइक्रोबस कोरोना भाइरसको गुड नै भए जसरी प्रशासनले व्यवहार गरेको छ । आवत–जावतमा निगरानी र कडाइ नगर्दा एवम् स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना नहुँदा कोरोनाको सङ्क्रमणदर घटेको छैन ।

        एक सातामा मात्र कोरोनापीडित २५ प्रतिशतले बढेका छन् । स्वास्थ्य मन्त्रालयकै तथ्याङ्कबाट निषेधाज्ञा कडाइ गर्दा र खुकुलो तुल्याउँदा सङ्क्रमितको सङ्ख्यामा देखिएको भिन्नताले समेत फेरि कठोर निषेधाज्ञाकै आवश्यकताको औचित्य पुष्टि भएको छ । जनताको स्वास्थ्यलाई नै जोखिममा राखेर निषेधाज्ञा खुकुलो तुल्याउन किन हतार गरिएको भनेर सर्वत्र क्षेत्रले प्रश्न गरिरहेका छन् । त्यसै त स्वास्थ्य सावधानीको सवालमा लापरबाह र अटेर नेपाली, त्यसमाथि नाम मात्रको निषेधाज्ञाको कारण सङ्क्रमण डरलाग्दो हुन सक्ने अवस्था आएको छ । नुवाकोटमा जारी निषेधाज्ञा कार्यान्वयन नहुँदा सङ्क्रमित खुलमखुला आवत–जावत गर्ने, समुदायमा जमघट गरिरहेका छन् । सडकमा हिँड्ने कसैले स्वास्थ्य मापदण्ड अपनाएको देखिँदैन । चिउँडोमा मास्क प्रयोग गरेर सुरक्षा अनुभूति गर्ने जमातको बिगबिगी जिल्लामा रहेको छ । आफ्नो स्वास्थ्यको आफैँले ख्याल गर्नुपर्ने अवस्था प्रशासनले सिर्जना गरेको नागरिक अगुवाले बताइरहेका छन् । निषेधाज्ञालाई कडाइका साथ लागू गर्न स्वास्थ्यकर्मीले दबाब दिए पनि कार्यान्वयन भइरहेको छैन । खोप सबै उमेर समूहलाई सुनिश्चितता नभएसम्म निषेधाज्ञालाई पुनः कठोर निषेधाज्ञामा रूपान्तरण गर्न आवश्यक देखिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले आफ्नो स्वास्थ्यको ख्याल आफैँले गरौँ, अरूको भर नपरौँ ।