नुवाकोटमा अझै पाँच सय नौजना कोरोना सङ्क्रमित

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार ११:३८

विदुर, नुवाकोट जिल्लामा अझै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सयबाट तल ओर्लन सकेको छैन । बुधबार स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाका सक्रिय सङ्क्रमित पाँच सय नौजना रहेका छन् । बुधबार नै ६० जना कोरोना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने २१ जना थपिएका छन् ।

      स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार मंगलबार जिल्लामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको सङ्ख्या पाँच हजार सात सय चारजना पुगेको छ । त्यसैगरी, मंगलबार जिल्लामा ५१ कोरोना सङ्क्रमित थपिएका छन् । बुधबार भेटिएका सङ्क्रमितमध्ये विदुर नगरपालिकाका नौजना रहेका छन् । यस्तै, बेलकोटगढी नगरपालिकाका दुईजना, ककनी गाउँपालिकाका पाँचजना, किस्पाङ गाउँपालिकाका दुईजना, म्यागङ गाउँपालिकाका तीनजना रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नुवाकोटमा पाँच सय ४८ जना सक्रिय कोरोना सङ्क्रमित रहेका थिए । यो सङ्ख्या बुधबार घटेर पाँच सय नौजनामा आइपुगेको छ । नुवाकोटमा हालसम्म २२ हजार एक सय ८७ जनाको स्वाब परीक्षण भएको छ । उनीहरूमध्ये ६ हजार तीन सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म पाँच हजार सात सय ६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । कोरोनाबाट जिल्लामा ३७ जनाको मृत्यु भएको छ ।