नुवाकोटका ६ पालिकाको भवन निर्माण ककनीको शिलान्यास

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार ११:५३

रानीपौवा, नुवाकोटमा रहेका १२ वटा पालिकामध्ये ६ वटाको प्रशासकीय भवन निर्माण सुरु भइरहेको छ । सातवटामध्ये तादी गाउँपालिकाको भवन निर्माण सम्पन्न भइसकेको छ भने शिवपुरी गाउँपालिकाले भवन उद्घाटन नै नगराई नयाँ भवनबाट प्रशासकीय कार्य सुरु गरिसकेको छ ।

       पछिल्लोपटक ककनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गर्न शिलान्यास गरेको छ । गाउँपालिकाको वडा नं. ४ मा पुरानो गाविसको भवन रहेका स्थानमा सडक डिभिजन कार्यालयको नौ रोपनी जग्गा प्राप्त गरेर तीन तलाको भव्य भवन निर्माणको थालनी शुक्रबार गरेको छ । नौ करोड पाँच लाखको आन्तरिक स्रोतबाट भवन निर्माण गर्न शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिलान्यास गरेका थिए । भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको ककनी गाउँपालिकाले बहुवर्षीय योजनाको रूपमा भवन निर्माण थालनी गरेको छ । गाउँपालिकाले प्राप्त गरेको नौ रोपनी जग्गामा अस्पताल निर्माण सम्पन्न भइसकेको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य तामाङले स्थानीय तहलाई बलियो बनाउने आधारको रूपमा पालिकाको प्रशासनिक भवन रहेको शिलान्यासको क्रममा बताउँदै भवन निर्माणपछि कार्य सम्पादनमा सरलता आउने विश्वास गरेका छन् । स्थानीय तहको पुनर्संरचनापछि घरघरमा आएको सिंहदरबारलाई भौतिक रूपले सुसम्पन्न बनाउने अभियानमा नयाँ भवन सारथि बन्ने उनले बताए । ककनी गाउँपालिका– ४ रानीपौवामा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास भएसँगै निर्माणको प्रक्रिया सुरु भएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । उनका अनुसार ककनी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाको आन्तरिक स्रोतबाट नौ करोड पाँच लाख रुपैयाँ छुट्याइएको छ ।

       भवन निर्माणका लागि ककनी गाउँपालिकाले गाउँसभाबाट बजेट विनियोजन गरी निर्माण कार्य सुरु गरिएको ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र नेपालले जानकारी दिए । भवन निर्माणपछि गाउँपालिकाको कार्य सम्पादनमा सरलता र सेवाग्राहीलाई सुविधा पुग्ने उनले बताए । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएको चार वर्षको अवधिमा जिल्लाको शिवपुरी गाउँपालिकाले भवन निर्माण गरेर प्रशासनिक कार्यसमेत सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । तादी गाउँपालिकाले भवन निर्माण सम्पन्न गरेर प्रशासनिक कार्य सञ्चालनका लागि तयारी गरिरहेको छ । जिल्लाको दुप्चेश्वर, पञ्चकन्या, किस्पाङ, म्यागङ गाउँपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । जिल्ला समन्वय समितिले प्रत्येक पालिकालाई प्रमुख प्रशासकीय भवन, वडा कार्यालय भवन, अस्पताल, सामुदायिक विद्यालय र खानेपानी योजनामा खर्च गर्न सक्ने गरी एक–एक करोड रुपैयाँ विनियोजन गत आवमै गरिसकेको उनले बताए । विदुर र बेलकोटगढी नगरपालिकाले जिल्ला समन्वय समितिबाट प्राप्त सहयोगले वडा कार्यालय भवन निर्माण गरिरहेका छन् । जिल्लाको बेलकोटगढी र विदुर नगरपालिकासहित तारकेश्वर, सूर्यगढी, लिखु गाउँपालिकाका जनप्रतिनिधिले यो कार्यकालमा नयाँ प्रशासकीय भवन देख्न पाउने अवस्था छैन ।