विदुरमा वितरित पानी महँगो र धमिलो

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार ११:४९
  • सज्जन उत्सुक सापकोटा

विदुर, नुवाकोट जिल्लाको सदरमुकाममा वितरित खानेपानी महँगो र अस्वस्थकर भएपछि उपभोक्ताले प्रशासनमा उजुरी गरेका छन् । उपभोक्ताको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालित तेस्रो साना सहरी खानेपानी आयोजनाको विषयमा सोमबार सरोकारवालाबीच बृहत् छलफल गराएको छ ।

      जिल्ला प्रशासन कार्यालय नुवाकोटमा समितिमार्फत वितरण हुँदै आएको खानेपानी धमिलो आएको, पानीको शुल्क अत्यधिक निर्धारण गरेको र जडान भएका धारामा पानी नआएको भन्दै गुनासो गरेकाले छलफल गराइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । हाल विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत कार्यान्वयनमा रहेको तेस्रो साना सहरी खानेपानी आयोजनाको निर्माण चरण सकिएर दोस्रो चरणमा पुगेको छ । तर, समितिमार्फत कार्यान्वयन भइरहेको तस्रो साना सहरी खानेपानी आयोजनाको निर्माण कार्य पूर्ण रूपमा सकिएको छैन । पानी वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने, केही क्षेत्रमा मुख्य पाइपलाइन नै मजबुत बनाउन बाँकी रहँदारहँदै आयोजना दोस्रो चरण पुगेको जनाएपछि प्रशासनले समितिको ध्यानाकर्षण गराएको हो । आयोजनाले सडकमा बिछ्याएको पाइप मापदण्डअनुसार नरहेको, घरघरमा मिटर बेवारिस पाराले जडान गरेको गुनासो उपभोक्ताले गर्दै आएका छन् । आयोजनाले गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाको सडकमा निर्धारण गरिएको २१ मिटरपछाडि मूल पाइप गाड्नुपर्नेमा आफूखुसी १५ मिटरभित्रै गाडेको छ । विदुर क्षेत्रमा योजनाको काम सुरु हुँदा सडकमा गाडिएको पाइप सबै झिक्नुपर्ने अवस्था आउँछ कि भनेर उपभोक्ताले गुनासो गरिरहेका छन् । समितिले हाल जारी गरेको पानीको महसुल वैज्ञानिक पद्धतिअनुसार नभई अत्यधिक रहेकाले समायोजन गर्न उपभोक्ता समितिलाई छलफलका सहभागीले आग्रह गरेका थिए ।

       उक्त कार्यक्रममा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले खानेपानी आयोजनामा भएको ढिलाइ र थप ऋण सहायताका लागि एडिबीले प्रस्ताव गरेको दररेटमा सम्झौता गर्र्न बाध्यकारी भएको बताए । आयोजना पूर्ण रूपमा सञ्चालन गर्न थप ऋण आवश्यक पर्ने भएकाले हाल महसुल दर केही बढी नै तोकिएको बताए । तर, कार्यान्वयनको चरणमा भने महसुलदर घट्ने उनको भनाइ छ । आयोजनाको दिगोपनाका लागि संस्थागत रूपमा बढी दररेटमा सहमति गर्नुपरे पनि उपभोक्तालाई हाल तोकिएको दररेटमा समायोजन हुने उनले बताए । विदुर नगरपालिका जमानीमा रहेर एसियाली विकास बैंकले तेस्रो साना सहरी खानेपानी परियोजनाअन्तर्गत झन्डै एक अर्बको लगानीमा खानेपानी आयोजना निर्माण भइरहेको हो । विदुर नगरपालिकाको पाँच हजार चार सय २५ घरधुरीले हाल समितिमार्फत यो खानेपानीको सुविधा लिनेसमेत बताइएको छ ।