सवारी नियम उल्लङ्घन गर्नेबाट २४ करोड ७४ लाख सङ्कलन

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १२:०४

हेटौँडा,  बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने दुई लाख ५८ हजार नौ सय ७२ सवारीसाधनलाई कारबाही गर्दा २४ करोड ७४ लाख ४१ हजार पाँच सय रुपैयाँ जरिवाना सङ्कलन भएको छ ।

      बागमती प्रदेशमा आ.व.०७७/७८ मा ट्राफिकको राजस्वमा एक सय २५ प्रतिशतले वृद्धि भएको छ भने दुर्घटनामा ४० प्रतिशत कमी आएको छ । चितवनको रामनगरमा रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने दुईलाख ५८ हजार नौ सय ७२ सवारीमाथि कारबाही गरी २४ करोड ७४ लाख ४१ हजार पाँच सय जरिवाना गरिएको छ । गत आ.व.०७६/७७ मा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ५१ हजार एक सय २१ वटा सवारीसाधनलाई कारबाही गरी १० करोड ९८ लाख ६ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । गत आवमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट आन्तरिक शुद्धीकरणअन्तर्गत आचरणविपरीत कार्य गर्ने १५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको र असल कार्य गर्ने ५८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

      आर्थिक पारदर्शिता कायम गर्ने तथा प्रहरी कर्मचारीमा आन्तरिक शुद्धीकरण ल्याउने कार्ययोजना कार्यान्वयन गर्ने क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न एक हजार नौ सय ३८ सवारीसाधनका चालक/सहचालकले दिएको आर्थिक प्रलोभन रकम तीन लाख ५६ हजार आठ सय रुपैयाँ गत आवमा निजलाई नै फिर्ता गरिएको थियो । कसुरअनुरूप जरिवाना गर्दा २० लाख ३५ हजार पाँच सय राजस्व सङ्कलन भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । बढी भाडा लिई सञ्चालन गर्ने ६२ वटा सवारीसाधनले पाँच सय ६२ यात्रुबाट लिएको पाँच लाख ८५ हजार एक सय रुपैयाँ बढी भाडा फिर्ता गराई दुई लाख ८७ हजार जरिवाना गरिएको, लामो दूरीका यात्रुबाहक सवारीसाधनमा दोब्बर चालक नराखी सञ्चालन गरेका एक सय ६२ वटा सवारीसाधनलाई कारबाही गरी एक लाख ५४ हजार पाँच सय जरिवानासमेत गत वर्ष कार्यालयले गरेको थियो ।

      प्रयोजनविपरीत सञ्चालन भएका १६ हजार तीन सय ९५ वटा सवारीसाधनलाई कारबाही गरी एक करोड ७५ लाख ६ हजार जरिवाना गरिएको, मादकपदार्थ सेवन गरी सवारी चलाउने १४ सय ३७ वटा सवारीलाई कारबाही गरी १४ लाख ४७ हजार जरिवाना गरिएको, ओभरलोड बोकेका ६७ हजार दुई सय ९६ वटा सवारीसाधनलाई कारबाही गरी सात करोड २० लाख ६१ हजार जरिवाना गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ ।