हाम्रा कुरा नेपाली काङ्ग्रेसलाई अवसर !

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १२:०७

०७४ को निर्वाचनमा हार व्यहोरेको नेपाली काङ्ग्रेसकोे सत्तामा जाने सपना चकनाचुर भएको थियो । देशको राजनीतिमा असम्भव भन्ने नै हुँदो रहेनछ । जनताले प्रतिपक्षको कित्तामा पु¥याएको काङ्ग्रेसलाई कम्युनिस्ट पार्टीको आन्तरिक कलहले सोच्दै नसोचेको सत्ता हात प¥यो । दुई साताअघि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवाले संसद्बाट विश्वासको मत पाइसकेका छन् । असंवैधानिक बाटोबाट पटक-पटक विघटनको मारमा परेको प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित भएको छ ।

      झन्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारलाई सत्ता ‘बाँदरको हातमा नरिवल’ भएपछि पुनः काङ्ग्रेसको पोल्टामा पुगेको छ । सबैभन्दा धेरैपटक सरकारको नेतृत्व गर्ने दल नै काङ्ग्रेस हो । त्यसैले काङ्ग्रेसको सरकार बन्दा पाँच हात उफ्रिएर खुसियाली मनाउनुपर्ने अवस्था छैन । बहुदलपछिको लामो समय काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि त्यसले मुलुकको कायपलट भएन । देखिने गरी खासै केही परिवर्तन भएको अनुभव जनताले गर्न पाएनन् । राजाले शासन हातमा लिएपछि सबै दल मिलेर राजसंस्था सधैँका लागि हटाए । जनताको शासन भन्दै गणतन्त्र आयो । राज्यको पुनर्संरचना भएर शासन व्यवस्था परिवर्तन पनि भयो । पद्धति र विधिलाई आत्मसात् गरेर जनताको समस्यामा केन्द्रित शासन र सत्ताको अभ्यास गर्ने हो भने, भुइँतहका जनताले महसुस हुने गरी परिवर्तन भएको देख्न समय लाग्दैनथ्यो । तर, ‘जुन जोगी आए पनि कानै चिरिएको’ उखानजस्तै नेताहरूको प्रवृत्तिले जनताको समस्या ज्युँका त्युँ रह्यो । परिवर्तनपछि उछाल आउन सकेको छैन ।

      जुन दल सरकारमा गए पनि काम गर्दा दलभन्दा माथि उक्लिने परिपाटीको विकास गर्नु जरुरी छ । आफू सत्तामा हुँदा व्यक्तिवादी र गुटवादी काम गर्ने अनि सत्ता खुस्किएपछि सत्ताधारी दललाई गालीको वर्षा गर्न थाल्ने चलन छ । ‘आफूले गरेको सबै ठीक, अर्काले गरेको सबै बेठीक’ भन्ने प्रवृत्ति नेपाली राजनीतिमा हावी छ, जसले गर्दा ‘सेतोलाई कालो, कालोलाई सेतो’ देख्ने नेतृत्वको विकास हाम्रो देशमा भइरहेको छ । जुन दल सत्तामा गए पनि क्षमतावान्, अनुभवी, विषयवस्तुमा दक्षता राख्ने र पार्टीमा आजीवन दुःख गरेकालाई अवसर दिनेभन्दा पनि गुटगत भागबन्डा लगाउने, आफ्ना मान्छे कसरी पार्ने भन्नेमा नेताहरूको ध्यान गएको छ । नातावाद र कृपावादलाई ध्यानमा राखेर मन्त्री भाग लगाउने गलत अभ्यासले राजनीतिमा निरन्तरता पाइनै राखेको छ । यसले गर्दा अहिलेसम्म सरकारको चाबी हातमा पार्नेले हुँदा खाने जनताको दैनिकीमा परिवर्तन ल्याउन नसकेका हुन् । त्यसैले यो सरकारले सबैलाई साथमा लिएर खोपको पूर्ण व्यवस्थापन गर्ने, उकालो लागिरहेको महँगी घटाउने, थिलथिलो भएको उद्योग क्षेत्रलाई उकास्ने, समाजमा बढिरहेको दण्डहीनतालाई अन्त्य गर्ने, दलगत आक्षेप होइन सबैलाई समान व्यवहार गर्नेलगायतका काम गर्न सक्नुपर्छ । नयाँ प्रधानमन्त्रीका सामु धेरै चुनौती भए पनि, त्यसलाई अवसरको रूपमा लिएर जनमुखी काम सुरु गरे जनताको मन जित्न बेरै लाग्दैन । काङ्ग्रेसले यो अवसरलाई सदुपयोग गर्न सक्ला भन्ने प्रश्न चौतर्फी उठेको छ । नेपालका राजनीतिक दलहरू सत्ताबाहिर हुँदा एक हुने, सत्तामा पुगेपछि फुट्ने संस्कार स्थापित भएको छ । भलै काङ्ग्रेसको विभिन्न खेमाले टुटफुटको संस्कारलाई निरन्तरता देलान् कि एक भएर सरकार चलाउने अवसरलाई सदुपयोग गर्लान् ।