बायोफ्लक प्रविधिबाट माछापालन

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-४ मणिगाउँमा पहिलोपटक बायोफ्लक प्रविधिबाट दुईजना किसानले माछापालन सुरु गरेका छन् ।

     मणिगाउँका स्थानीय दाजुभाइ अमृत लामा र अमित लामाले तीन लाखको लगानीमा माछापोखरी निर्माण गरी टिलपिया, नैनी, रहु र कमनकार्प जातका माछाका भुरा मत्स्य अनुसन्धान केन्द्र नुवाकोटबाट खरिद गरेर आधुनिक तरिकाबाट माछापालन सुरु गरेका हुन् । उनीहरूले व्यवस्थित दुई पोखरी निर्माण गरी एउटामा तीन हजार र अर्कोमा चार हजार माछाका भुरा मत्स्य अनुसन्धान केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा हुर्काइरहेका छन् । लामा दाजुभाइले बायोफ्लक प्रविधिबाट व्यवसाय सुरु गरेका हुन् । १० वर्षदेखि सामान्य पोखरी निर्माण गरी माछापालन गरिरहेका लामा दाजुभाइले विगत तीन वर्षदेखि व्यवस्थित रूपमा नै आधुनिक शैलीमा व्यवसाय गरिरहेका छन् । लामा बायोफ्लक माछापालन तथा कृषि फर्म दर्ता गरी काम सुरु गरेको फर्ममा माछा सँगसँगै तरकारी, फलफूल, कफी, माछा, लोकल कुखुरा, कटकनाथ कुखुरा, हाँस, खरायोसमेत पालन गरिरहेका छन् ।

     लाखौँ खर्च गरेर विदेश जाने युवाका लागि प्रेरणादायी काम गरिरहेका लामा दाजुभाइका लागि आफ्नै गाउँ मलेसिया, अमेरिका र अस्ट्रेलिया बनिरहेको छ । लामा दाजुभाइले गत वर्ष किसानलक्षित कार्यक्रमअन्तर्गत उत्तरगया गाउँपालिकाको ५० प्रतिशत अनुदानमा ६ वटा टनेलघर निर्माण गरी गोलभेंडा र अकबरे खुर्सानी लगाउने तयारीसमेत गरिरहेका छन् । सम्भवतः बायोफ्लक प्रविधिबाट जिल्लामा माछापालन गर्ने पहिलो कृषक र उदाहरणीय कृषि व्यवसायी अमित र अमृत लामा बनेका छन् । आफ्नै लगानी र सीप प्रयोग गरी काम गरिरहेका अमित र अमृत दाजुभाइ गाउँ, टोलकै लागि प्रेरणाका स्रोत र उदाहरणीय व्यक्ति बनेका छन् ।