हाम्रा कुरा : खोप केन्द्र बढाऔँ

  • त्रिशूली प्रवाह
  • २१ श्रावण २०७८, बिहीबार १२:२५

कोरोना महामारी अझै निर्मूल हुन सकिरहेको छैन । पछिल्लो समय झनै कोरोनाको सङ्क्रमण दर बढ्दो छ । यस्तोमा स्वास्थ्य सुरक्षाका मापदण्डमा खेलाँची गर्नु हुन्न, यसले नै कोरोना भाइरसबाट जोगिन सहयोग पु¥याउँछ । खोपले महामारीको नियन्त्रण गर्छ भनिए पनि हाम्रोमा पर्याप्त मात्रामा खोपको आयात हुन सकिरहेको छैन । आएका खोपको पनि व्यवस्थापन गर्न सरोकारवाला निकायले सकिरहेको छैन । खोप केन्द्र नबढाइँदा खोप लगाउन अत्यधिक भिडभाड भइरहेको छ । खोप लगाउन जाँदा पनि सङ्क्रमित भइएला कि भन्ने डरपोकको अवस्था विद्यमान छ । खोप आयात गर्नु मात्र सबथोक होइन, आएका खोप लगाउने खोप केन्द्र बढाउनमा सरकारको ध्यान जानु जरुरी छ ।

     साउन लागेसँगै निषेधाज्ञा खुकुलो हुँदा कोरोनाको सङ्क्रमण दर दिनानुदिन बढ्दै गइरहेको छ । अल्फा, डेल्टा, कप्पालगायत कोरोनाका भेरियन्ट नेपालमा देखिइसकेका छन् । यी नयाँ भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने जानकारीसहितको विज्ञप्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै निकालेको छ । उक्त विज्ञप्ति बाहिर आएपछि जनमानस थप त्रसित बनेका छन् । महामारी नियन्त्रण तथा रोकथामका लागि अहिल्यै सरकार गम्भीर नभए आगामी दिनमा सङ्क्रमण झनै भयावह हुने देखिन्छ । अस्ट्रेलियामा जनताले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेकाले कोरोनाको तेस्रो लहरलाई फैलन नदिन स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ । कोभिडविरुद्धको खोप लगाउन जनताले आनाकानी गर्न थालेपछि अमेरिकी राष्ट्रपतिले खोप लगाउनेलाई प्रतिव्यक्ति सय अमेरिकी डलर दिने घोषणा गरे । हाम्रोमा कोरोनाको दोस्रो लहरका कारण धेरैले स्वास्थ्य सेवा समयमै नपाएर अकालमै ज्यान गुमाउनुप¥यो, अझै स्थिति सहज भएको छैन । पछिल्लो केही दिनको तथ्याङ्कले भयावह स्थितिको सङ्केत गर्छ । विज्ञले आगामी असोजबाट तेस्रो लहर सुरु हुने अनुमान गरिरहेका छन् । हालसम्मको अनुभवबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु नै सङ्क्रमणबाट बच्ने उत्तम उपाय हो भन्ने प्रमाणित भइसकेको छ । तर, विकसित मानिने देशका शिक्षित जनताले त यसको पालना गरेका छैनन् भने हामी त कता हो कता यो मामिलामा धेरै पछाडि छौँ ।

      सुरक्षा मापदण्ड पालना गरौँ भनेर सरकारी तथा निजी क्षेत्रबाट पनि जनचेतना जगाउने काम पछिल्ला वर्षमा नभएका होइनन्, तैपनि यसको पालना हुन सकेको छैन जसको पुष्टि बढ्दो सङ्क्रमण दरले गर्छ । पहिलो त, स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरौँ, गराऔँ । दोस्रो, सरकारले खोप आयात र यसले वितरणमा ध्यान दिनुपर्छ । अहिले पनि देशका विभिन्न भेगमा स्थानीय स्वास्थ्यचौकीमार्फत खोप वितरण भइरहेको छ, तर वितरण योजनामा हेरफेर ल्याउनुपर्ने आवश्यकता देखिएको छ । उमेरको आधारमा भन्दा पनि भिडभाडमा रहेर काम गर्नेहरू खोपको प्राथमिकतामा पर्नुपर्छ । साथै, खोपको वितरणमा पनि अनियमितता भइरहेका समाचार बाहिर आइरहेका छन्, यसलाई रोक्नु अति जरुरी छ । सङ्क्रमण दर बढ्दै गएका ठाउँमा परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । परिआए सङ्क्रमण बढेका स्थानमा निषेधाज्ञालाई झनै कडा पनि पार्नुपर्छ । कोरोनाको तेस्रो लहरको तयारी आजैबाट नगर्ने हो भने पहिलो र दोस्रो बेलाको जस्तै नागरिकको जीवन कष्टकर बन्ने निश्चित छ । राज्यले भोलि कोरोनाको कारण मृत्यु हुनेको तथ्याङ्क सङ्कलन र सार्वजनिक गर्नेबाहेक अरू काम हुने छैन ।