रसुवा ट्राउट माछाको स्रोत केन्द्र

धुन्चे, रसुवा जिल्लालाई पछिल्लो समय रेन्बो ट्राउट माछाले चिनाइरहेको छ । सात वर्षअघि मत्स्य अनुसन्धान केन्द्र स्थापना भएपछि रसुवा जिल्लामा माछापालन गर्न चाहनेका लागि स्रोत केन्द्र बनिरहेको छ । रसुवामा उत्पादित रेन्बो ट्राउट माछाको भुरा अहिले नेपालको २० वटाभन्दा बढी जिल्लामा निर्यात भइरहेको छ ।

      जिल्लामा रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी रहेकाले निजी क्षेत्रका केही व्यवसायीले सफलता पाइरहेका छन् । पछिल्लो समय जिल्लामा उत्पादित ट्राउट माछाको भुरा नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला जिल्लासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञान र औजार, उपकरण, अनुदानसमेत प्रदान गरी भुरा उत्पादन गर्न प्रोत्साहन गरिरहेको छ । वि.सं.०७१ देखि जिल्लामा स्थापना भएको मत्स्य अनुसन्धान केन्द्रले जापानी रेन्बो ट्राउट माछा र भुरा उत्पादनका साथै चीनबाट ल्याइएका दानासेन र सुइकी वान नामक चिनियाँ माछाका भुरासमेत परीक्षण उत्पादन सुरु गरिरहेको छ । त्रिशूली नदीको पानी प्रयोग गरी उक्त केन्द्रले धुन्चेको इमरुङ क्षेत्रमा लाखौँ माछाका भुरा उत्पादन गरिरहेको छ, तर स्थानीयस्तरमा पालन गर्ने किसानको सङ्ख्या भने घट्दै पाँचजनामा सीमित भएको छ । विगतमा हिमाली परियोजना लागू भएको समयमा अनुदान लिन झन्डै एक दर्जन व्यवसायी रहेका थिए । वि.सं.०७२ को विनाशकारी भूकम्पले अधिकांश माछाका पोखरी क्षति पु¥याएपछि आर्थिक समस्याले पोखरीको पुनर्निर्माण हुन नसक्दा रसुवाका कृषक र माछापालन व्यवसायीबाट पलायन हुने क्रम सुरु भएको थियो ।

      आर्थिक अवस्था कमजोर भएको र क्षतिको मूल्याङ्कन गरी राहत दिने एवम् सुनुवाइ गर्ने निकायको अभाव भएपछि चाहना हुँदाहुँदै माछापालनमा लगनशील हुन नसकेको पदम रुम्बा तामाङले बताए । माछाका भुराको उत्पादन एवम् प्राविधिक ज्ञानबाहेक पूर्वाधार निर्माणको काम गर्न नसक्ने भएका कारण मत्स्य केन्द्रले पालनको सूचीकृत भएका अन्य जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । रेन्बो ट्राउट माछाका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ५५ जिल्लामा उपयुक्त प्रमाणित गरेका कारण कृषकको चाहनाका आधारमा कार्यक्षेत्र फराकिलो पार्दै लगिएको उक्त केन्द्रका प्रमुख महेन्द्र भण्डारीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । माछाका लागि वैज्ञानिक संस्था भएको केन्द्र किसानको चाहना एवम् मागअनुरूप भौगर्भिक अवस्था, पानीको उपयोगिता तापक्रमसमेतको अध्ययन र तालिमलगायतको प्राविधिक ज्ञान प्रदान गरी कार्यक्षेत्र विस्तार गरिरहेको छ ।

      दार्चुलाका साथै गुल्मी, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा र नुवाकोट जिल्लामा समेत कार्यथलोका रूपमा विस्तार भइसकेको मत्स्य प्राविधिक विशेष कोइरालाले बताए । माछापालन गर्ने इच्छा देखाई सीप लिन आउने किसानलाई प्राविधिकको साथमा सातदेखि २१ दिनसम्म सौद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिने गरेको छ । हिमाली क्षेत्र चिसो स्थान भएका कारण ज्ञान सिक्ने किसानलाई केन्द्रको हाताभित्रै बसोवासको व्यवस्था मिलाइएकाले बिहानदेखि बेलुकासम्म सीप हासिल गर्न सहज भएको छ । रेन्बो ट्राउट माछाबाट लाभ लिन दुई सय ग्रामसम्मको तौल हुनुपर्ने र यसको हुर्कने अवधि भने आठदेखि १३ महिनासम्म लाग्ने प्राविधिक कोइरालाले बताए । हालसम्म जापानी ट्राउटको भालेपोथीको बीजारोपण गराई उत्पादन गराउँदै आएकामा चिनियाँ जातसमेत आनुवंशिक सुधारका लागि विभिन्न देशबाट बीज आयात गरी प्राविधिक विस्तार गर्ने लक्ष्य केन्द्रले बनाएको छ ।

     एउटै वंशको भन्दा अर्को वंशसँग मिश्रण गराउँदा छिटो बढ्ने र धेरै उत्पादन लिन सकिन्छ कि भन्ने सोचाइका साथ परीक्षण गर्न लागिएको प्रमुख भण्डारीले बताए । दानासेन एवम् सुइकी जात माछापालन गर्न चाइना नेपालको अपरेसन परियोजनामार्फत रसुवागढी नाकाबाट आँखा उम्रेका माछाका अन्डा सहयोगस्वरूप निःशुल्क प्राप्त भएको छ । चिनियाँ प्रविधिको ज्ञान हस्तान्तरणका लागि एकजना चिनियाँ विज्ञसमेत केन्द्रमा रहने गरेका छन् । केन्द्रले ३९ वटा पोखरी निर्माण गरेको छ । तीमध्ये भुरा पोखरी २४, हुर्काउन नौ र माउ राख्ने पोखरी ६ वटा रहेको छ । केन्द्रको कार्यालयका लागि समेतको पूर्वाधार निर्माणमा हालसम्म करिब ३० करोडभन्दा बढी रकम राज्यकोषबाट खर्च भइसकेको छ । गत वर्ष उत्पादन गरिएकामध्ये ४० हजार भुरा र ६४ हजार आँखा उम्रेका अन्डा कृषकलाई केन्द्रले हस्तान्तरण गरेको थियो । रेन्बो ट्राउट माछाको उत्पादनका लागि स्थानीयस्तरमै ज्ञानसीप भएका कारण पालन कार्यमा सहभागी भई घरआँगनमै बसेर आयवृद्धि गर्ने कार्यमा सहभागी भइदिन रसुवावासी कृषकलाई केन्द्र प्रमुख भण्डारीले आग्रह गर्दै आएका छन् ।