पञ्चकन्या गापा-२ बाट हराएको सामाजिक सुरक्षाभत्ता खोजी गर्न ध्यानाकर्षण

पञ्चकन्या, गत चैत २४ गते राति नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को कार्यालयबाट चोरी भएको ५३ लाख रुपैयाँ चार महिना बितिसक्दा पनि प्रहरीले चोरीमा संलग्न व्यक्ति पहिल्याउन सकेको छैन । प्रहरीले अनुसन्धान भने जारी राखेको छ ।

     चार महिनाअघि हराएको उक्त सामाजिक सुरक्षाभत्ता र राजस्व खोजी गर्न नेपाली काङ्ग्रेस, पञ्चकन्या गाउँ इकाइले गत महिना सम्बन्धित निकायलाई दबाब दिन वडा कार्यालयमा तालाबन्दीसमेत गरेको थियो । उक्त चोरीमा संलग्न व्यक्तिको यथाशीघ्र खोजी गर्न नेकपा माओवादी केन्द्र पञ्चकन्या सङ्गठन कमिटीले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । अझै पत्ता लगाउन नसकेको वडा कार्यालयबाट हराएको सामाजिक सुरक्षाभत्ता र राजस्वको रकम चोरीको विषयमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रले अति अशक्त, ज्येष्ठ नागरिक, एकल महिलालगायतका नागरिकको सामाजिक सुरक्षाभत्ता तत्काल वितरणका लागि वैकल्पिक व्यवस्थाको मागसमेत गरेको छ । चोरी भएको चार महिना बितिसक्दा पनि प्रहरी प्रशासनले पछिल्लो समयमा चासो नदिँदा चोर उम्किन सक्ने भन्दै स्थानीय आन्दोलित हुँदै आएका छन् ।

      गत चैत २४ गते राति चोरी भएको ५३ लाख रुपैयाँ चार महिना बितिसक्दा पनि प्रहरीले चोरी गर्ने व्यक्ति अझै पत्ता लगाउन सकेको छैन । ध्यानाकर्षणपत्रमा चोरी प्रकरणमा वडाकै कर्मचारीको स्पष्ट संलग्नता रहेको सिसिटिभी फुटेजमा देखिएको छ । वडा कार्यालयले अनुसन्धानलाई सहयोग गर्दै सिसिटिभी फुटेज उपलब्ध गराउँदासमेत प्रहरीले अनुसन्धानलाई फितलो बनाउँदै लगेको आरोप गाउँपालिकाले लगाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको दायरामा आएकालाई जिल्ला अदालत नुवाकोटले धरौटीमा रिहा गरेको छ ।

       वडा तथा गाउँपालिकाले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आवश्यक सहयोग गरिरहेको भए पनि प्रहरी प्रशासनबाटै चोरी गर्ने व्यक्तिको संरक्षण गर्दै आएको माओवादी केन्द्र पञ्चकन्याले जनाएको छ । ध्यानाकर्षण गराउँदै माओवादी केन्द्र पञ्चकन्याले प्रहरी प्रशासनको अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै तत्कालै दोषी पत्ता लगाउन आग्रह गरेको छ । सामाजिक सुरक्षाभत्ताजस्तो संवेदनशील विषयमा प्रहरी प्रशासनले समयमै अनुसन्धान नटुङ्ग्याउँदा गाउँमा अशक्त, ज्येष्ठ नागरिक र एकल महिला मारमा परेको ध्यानाकर्षणपत्रमा उल्लेख भएको छ । ध्यानाकर्षणपत्रमा वडाध्यक्ष धु्रवकुमार मिश्र र कार्यालय सहायक रामकुमार गिरीबीच पटक–पटक विवादस्पद अभिव्यक्ति आइरहेकाले वडाध्यक्ष मिश्रलाई समेत अनुसन्धानको दायरमा ल्याउन माग गरिएको छ ।

      माओवादी केन्द्र पञ्चकन्याका अध्यक्ष मीनबहादुर खत्रीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा घटनाको सत्यतथ्य पत्ता लगाउने गरी थप अनुसन्धानका लागि नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन गृह मन्त्रालयलाई आग्रह गरिएको छ । घटनामा संलग्नलाई तत्कालै कानुनबमोजिम कारबाही गरी स्थानीय नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण व्यवस्थित बनाउँदै अगाडि बढ्न आग्रह गरेको नेकपा माओवादी केन्द्र पञ्चकन्या गाउँ कमिटीका अध्यक्ष मीनबहादुर खत्रीले बताए । ध्यानाकर्षणपत्रमा उल्लेख भएअनुसार चोरी घटनाको पृष्ठभूमि, सिसिटिभी क्यामेरामा कैद भएको दृश्यमा वडाकै कर्मचारीको संलग्नता भएको स्पष्ट हुँदाहुँदै पनि कारबाहीको दायरामा नल्याई दोषीलाई खुलेआम छोड्नाले प्रहरीको अनुसन्धान र विश्वसनीयतामा आमनागरिकले शङ्का गर्ने ठाउँ रहेको स्थानीयले बताए ।

       घटनामा संलग्न व्यक्तिको आफन्त देशको उच्च ओहोदामा रहेकाले प्रहरीलाई दबाबमा पार्दै घटना ढिसमिस बनाउने तयारीसमेत प्रहरीले गरिरहेको आशङ्का माओवादी केन्द्रले गरेको छ । प्रहरीले तत्कालै दोषीलाई सार्वजनिक गरी कारबाहीको प्रक्रिया अगाडि नबढाए चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पञ्चकन्या गाउँ कमिटीले जनाएको छ । घटना भएको चार महिना बितिसक्दा पनि प्रहरी चुपचाप बस्नाले दोषी उम्कने समय पाएको भन्दै माओवादी केन्द्रले चरणबद्ध आन्दोलन घोषणा गर्न लागेको हो । उक्त रकम गाउँ नै नआइपुगेकोसमेत स्थानीयले बताउने गरेका छन् ।