सदरमुकामको भगवती मन्दिर खण्डहर

धुन्चे, रसुवा जिल्ला साबिकको धुन्चे गाविस हाल गोसाइँकुण्ड गाउँपालिका-६ सदरमुकाम धुन्चेमा रहेको भगवती मन्दिर मर्मत, संरक्षण र रेखदेखको अभावमा खण्डहर बनेको छ ।

     ०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत र स्थानीय बुद्धिजीवीसँगको सहकार्यमा त्यसबेलाका प्रमुख जिल्ला अधिकारी रामेश्वर देवकोटाको पहलमा मन्दिर निर्माण भएको थियो । हिन्दूलगायत बौद्वधर्म मान्ने समुदायले पूजाआजा गर्दै आएको मन्दिर संरक्षण र रेखदेखको अभावमा खण्डहर बनेको छ । तत्कालीन प्रजिअ देवकोटाले आफ्नो कार्यकालमा केही न केही गर्नुपर्छ भन्ने सोचले आफ्नो संस्कृति-परम्परालाई निरन्तरता दिँदै भगवती मन्दिर बनाएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।

      अहिले संरक्षण र रेखदेखको अभावमा रहेको आस्थाको धरोहर भगवती मन्दिरबारे युवापिँढी अनभिज्ञ छन् । धुन्चे वरपर भगवती मन्दिरजस्तै अरू पनि मन्दिर रहेका छन् । धुन्चे आसपासमा स्थानीयले मानिआएका घ्याङगुम्बा, एक मानेदेखि ६ माने छुर्तेन रहेको छ । धार्मिक पर्यटनका लागि महत्वपूर्ण धरोहरबारे चासो राख्ने समूह स्थानीय क्षेत्रमा नहुँदा सरोकारवाला निकायको ध्यान पुगेको छैन । उत्तरगया धाम खुट्टासिर गोसाइँकुण्ड शरीर कालिकामाईबीचको अरू भाग यस्तै शक्तिपीठले गर्दा नै रमणीय ठाउँ रहेको, भगवतीको महत्व हुँदा पनि यसको संरक्षण नहुनु दुर्भाग्य रहेको रसुवाका ज्येष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपानेले बताए ।