शक्तिमायालाई कृष्णमाया-लीलानाथ स्मृति पत्रकारिता पुरस्कार

विदुर, नुवाकोट जिल्लाकी क्रियाशील पत्रकार शक्तिमाया तामाङ कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक समाचार सङ्कलन र संप्रेषण गरेबापत यस वर्षको कृष्णमाया-लीलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट शुक्रबार सम्मानित भएकी छिन् ।

      शुक्रबार सदरमुकाम विदुरमा आयोजित उत्तरगया दैनिकको चौथां वार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रकाशक एवम् नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले आफ्ना स्वर्गीय माता-पिताको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट तामाङलाई सम्मानित गरेका हुन् । त्यस क्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले पत्रकार तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए । विगत आठ वर्षदेखि नुवाकोटको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार तामाङ बिबिसी नेपाली सेवाको नुवाकोट संवाददाताको रूपमा कार्यरत छिन् । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य केसीले सत्ताको भन्दा सत्यको महत्वबोध गर्ने र समाजका विकृति र विसङ्गतिको अन्त्यका लागि निरन्तर खबरदारी गर्ने भएकै कारण सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्ग मानिएको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिताले मुलुकको समृद्धिको आधारशिला तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

      नेपाली काङ्ग्रेस सदैव प्रेस स्वतन्त्रताको पक्षपाति रहेको बताउँदै त्यस क्रममा काङ्ग्रेस नेता केसीले स्वतन्त्रताको नाममा देखिने स्वच्छन्दताले पार्न सक्ने नकारात्मक प्रभावबारे सञ्चारकर्मी निरन्तर चिन्तनशील हुनुपर्नेमा समेत जोड दिए । त्यस क्रममा संविधानसभा सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले सञ्चार क्षेत्रको विकास र सञ्चारकर्मीको हकहितका पक्षमा नेपाली काङ्गे्रस सदैव प्रतिबद्ध रहेको बताउँदै आग्रह र पूर्वाग्रहरहित पत्रकारिताबाट मात्र यस क्षेत्रप्रति सबैको अपनत्व रहने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र विदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले स्थानीय तहको सुदृढीकरण र विकास निर्माणका काममा प्रभावकारिता वृद्धि गर्न सञ्चार क्षेत्रको सकारात्मक भूमिका अपेक्षित रहेको बताउँदै जिल्लाका सञ्चारमाध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

      त्यस क्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, माओवादी केन्द्रका सचिवालय सदस्य रामचन्द्र पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट अध्यक्ष कुलबहादुर खड्गी, नुवाकोट काङ्ग्रेसका प्रवक्ता राजु थापा, महिला अधिकारकर्मी बिन्दा अर्याल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुवकुमार रावल, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, प्रदेश सदस्य रामहरि गजुरेल, पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपाने, पर्यटन, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका बागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेती, नुवाकोट रेडक्रसका मन्त्री हरि श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डित, प्रेस चौतारीका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका अध्यक्ष नवराज सुवेदी, नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेव दाहालले सञ्चार क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानबारे धारणा राखेका थिए ।