पहिरोमा परी एकै घरका चारजनाको मृत्यु

धुन्चे, रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका-५ कोलडाँडामा गत बिहीबार रातिको पहिरोले घर बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको छ ।

     रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र पाण्डेका अनुसार ३२ वर्षकी कमला तामाङ, उनका ११ वर्षीया छोरी सोकिता, आठ वर्षीया छोरी सुकुमाया र सात वर्षका छोरा आशिष तामाङको मृत्यु भएको छ । डिएसपी पाण्डेका अनुसार पहिरो पन्छाउने क्रममा कमला र छोराछोरीको शव भेटिएको थियो । पहिरोमा परेर घाइते भएका कमलाका श्रीमान् श्यामबहादुर तामाङलाई सुरुमा त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फबाट ठूलोभोर्ले र धुसेनी गाउँको बीचमा पर्दछ ।