तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ भाद्र २०७८, शुक्रबार ११:४९
Buddha Eyes

तातो मौसम बिस्तारै सेलाउँदै चिसो हुँदै छ । कोरोनाको महामारी मत्थर भएको हो कि भन्ने भ्रम बढेको छ । राजनीतिक दलका गतिविधिले कोरोना तेस्रो लहरलाई छिट्टै स्वागत पाउने अवस्थामा पुगेको छ । राजनीति खेती फेरि फस्टाउन थालेको छ । हलक्कै गाली बोली मौलाएको छ । अर्थहीन बनाइरहेका कार्जेकर्तालाई महाधिवेशन आउँदा, पार्टी फुट्दा र चुनाव लाग्दा बढी सोधखोज हुने विगतको परम्पराले निरन्तरता पाउन थालेको छ । आस र त्रास फैलाउँदै कार्जेकर्ता तानातानमा परेका छन् । मन नमिल्ना साथ कम्युनिस्ट सजातीय गाली गर्न बुर्जुवाभन्दा एक कदम अगाडि देखिएको छ । काङ्ग्रेसको पनि पारा उही ! काङ्ग्रेसको महाधिवेशनको रमिता र एमाले फुटको तरङ्गले जिल्लावासीको तरङ्गित मौकामा सरकारी गाडी दुरुपयोग त हुने नै भयो । जुन जोगी आए पनि कानै चिरेको भनेझैँ सरकारी साधन स्रोत दोहन गर्न माहिर काङ्ग्रेसीजनले महाधिवेशनलाई सरकारी सम्पत्ति दुरुपयोग गर्ने अवसरमा परिणत गर्दा प्रशासन ट्वाँ ! ट्राफिक प्रहरी पनि सेतो र रातो नम्बर प्लेट छुट्टाउन नसक्दा के साँझ-बिहान, के सार्वजनिक बिदा पत्ता लगाउन नसक्दा सरकारी दुईदेखि चारपाङ्ग्रे सवारीसाधन दुरुपयोगलाई ट्वाल्ल मात्रै । सर्वसाधारणलाई भने बिलबुक र लाइसेन्स अनिवार्य ठूलालाई चैन, सानालाई ऐन भएन र ट्राफिक सर ?