मनलाई फोहोरी र अपवित्र बनाउने तत्व

  • हरिप्रसाद रिमाल

हामी बाहिरी ज्ञानेन्द्रिय, कमेन्द्रियलगायतका अङ्गलाई स्याम्पु, साबुनलगायतको प्रयोग गरी सफा गर्छौँ, नुहाउँछौँ, सुनपानी र पञ्चगव्य छर्किएर पनि पवित्र बनाउँछौँ । यसरी नै भित्री अङ्ग मस्तिष्क, मुटु, कलेजो, फोक्सो, मिर्गौला, सानो-ठूलो आन्द्रालगायतलाई पनि ठीक राख्ने प्रयास गर्छौँ, तिनमा कुनै समस्या पैदा भएमा रक्त आदि विभिन्न प्रकारका परीक्षण गरी उपचार गर्छौँ र ठीक दुरुस्त राख्ने प्रयत्न गर्छौँ । तर, अत्यन्त सतर्कताका साथ सुरक्षित राख्नुपर्ने मानसिक अवस्थाको प्रमुख नायक मनका बारेमा भने त्यति ध्यान दिँदैनौँ । वास्तवमा मानसिक अवस्था मात्र होइन कि सम्पूर्ण शारीरिक अवस्था ठीक राख्नसमेत मनको अहम् भूमिका हुन्छ । मानवदेहमा मन नै यस्तो छ जुन हरबखत ठीक हुनुपर्छ । त्यो नियन्त्रित, व्यवस्थित, सफा र पवित्र भएन भने त्यसले विभिन्न प्रकारका समस्या पैदा गर्छ । अझ मन ठीक नहुँदा सामान्यदेखि लिएर गम्भीर प्रकृतिका मानसिक रोगसमेत पैदा हुन्छन् । मनोविकार हुर्कँदै गयो भने त्यसले उग्र खिन्नता र विषादमा पु¥याएर जीवनकै अन्त्यसमेत गराउन सक्छ । यसरी मन कुमार्गमा लाग्यो भने त्यसले घोर अन्धकारमा डुबाउँछ, नरकमा फसाउँछ । त्यसैले त मनलाई बन्धन र मोक्षको समेत कारण मानिएको छ । (‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।’) यो यति चञ्चल छ कि यसलाई नियन्त्रण गर्नु आँधीबेहरीलाई नियन्त्रण गर्नु जस्तै कठिन हुन्छ । शरीरलाई विभिन्न प्रकारका रोग र फोहोर, मैला आदिले दूषित बनाउँछन् भने मनलाई दूषित बनाउने तत्व त अझ धेरै छन् र ज्यादै खतरनाक छन् ।

– मनलाई शब्द, रूप, रस, गन्ध, स्पर्शलगायतका कामनाले दूषित बनाउँछन् ऊ भोगमा लिप्त हुन पुग्छ र त्यसैमा भुलेर कर्तव्यच्युत हुन पुग्छ ।
– अरूको नोक्सान गर्ने क्रोध मनमा पैदा भयो र त्यसलाई मनले नियन्त्रण गर्न सकेन भने त्यसबखत विभिन्न प्रकारका अनर्थ र अनिष्टहरू पैदा हुन्छन् । निरीह प्राणी क्रोधको सिकार हुन पुग्छ, विवेकको घाँटी निमोठिन्छ ।
– मनलाई दूषित बनाउने तत्वमध्येको लोभले अरूको धनमाल, सामथ्र्य देखाएर लोभ्याउँछ मनलाई । यसरी पापको भयानक कारणमध्येको लोभले पनि मनलाई अपवित्र बनाउँछ ।
– ईश्वरीय सत्ता, धर्म र नैतिकताको सुमार्ग चटक्कै बिर्सिएर सांसारिक वस्तुमा नै मोह-ममता गर्न थाल्छ मन र त्यसबाट पनि अकल्याणका पहाड खडा हुन्छन् ।
– मदले मात्तिएको मत्ता हात्तीजस्तो हुनु वा ‘मजस्तो ठूलो, जान्ने र शक्तिमान अरू कोही छैन भन्ने घमण्डले चुर भएर उल्टा–सुल्टा कर्म गर्नु मद हो । त्यसले पनि मनलाई बिटुल्याउँछ र पथभ्रष्ट गराउँछ ।
– अरूको डाह वा ईष्र्या गर्नु मात्सर्य हो र त्यसले पनि मनलाई दूषित र अपवित्र बनाउँछ ।

यसप्रकार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य मनलाई फोहोरी र अपवित्र बनाउने कुतत्व हुन् । निश्चय नै गृहस्थीमा बसेपछि मनलाई बिगार्ने नै भए पनि यी कुरा लोक-व्यवहारमा केही न केही त आउँछन् नै । तर, यिनकै पछि लागेर जतासुकै लगामबिनाको घोडाझैँ बुर्कुसी मार्न थाल्यो भने मनले व्यक्ति स्वयम्को जीवनमा, परिवारमा र समाजमा पनि धेरै विपत्ति ल्याउन सक्छ र कल्पना नै नगरिएको दुर्घटना घटित हुन पुग्छ । त्यसकारण मनलाई नियन्त्रित, अनुशासित र व्यवस्थित गर्नुपर्छ ।

मनको स्वच्छता, पवित्रता र व्यवस्थापनका उपाय :
मनलाई विभिन्न विसङ्गत कुराले धुमिल र विकृत बनाइरहेका हुन्छन् । तिनलाई पग्लेर मन वा चित्तलाई सफा र पवित्र बनाउने, व्यवस्थित गर्ने उपाय पनि छन् नभएका त होइनन् । तर, तिनलाई प्रयोगमा ल्याउन भने अलि बढी नै मिहिनेत गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा आद्य शङ्कराचार्यले ‘अपरोक्षानुभूति’ नामक ग्रन्थमा सुझाउनुभएका उपाय उल्लेखनीय छन् । उहाँले बताउनुभएका उपायहरू ‘साधन चतुष्टय’ नामले प्रख्यात छन् । शङ्कराचार्य भन्नुहुन्छ, ‘वर्णाश्रम धर्ममा बसेर परमेश्वरलाई प्रसन्न तुल्याउने कार्य पूजा, कीर्तन आदि गरी साधन चतुष्टयको पालना गर्दा मनलाई सफा र पवित्र बनाउन सकिन्छ ।’ ‘साधनचतुष्ट’मा वैराग्य, विवेक, षट्सम्पत्ति र मुमुक्षुता पर्दछन् । मनलाई शुद्ध तुल्याउन वैराग्यको महत्वपूर्ण हात हुन्छ । भोग्य विषयमा आसक्ति वा राग नहुनु वैराग्य हो । वैराग्यको अर्थ घृणा भने होइन । घृणाले त निकृष्ट बुद्धि पलाउँछ । वैराग्य द्वेष पनि होइन । द्वेषले त चित्तमा जलन हुन्छ । कुनै पनि विषयमा आसक्तिको अभाव भएपछि वैराग्य सहज रूपमा प्राप्त हुन्छ । चित्त शुद्धिका प्रसङ्गमा विवेक अर्को महत्वपूर्ण तत्व हो । सत् र असत् वा भ्रम र वास्तविकताको पहिचानको नाम नै विवेक हो । यथार्थ र सही निर्णयका लागि रागद्वेषरहित अन्तः करण (शुद्धचित्त) आवश्यक हुन्छ । त्यो शुद्ध चित्त बनाउने काम विवेकले गर्ने भएकाले मनलाई व्यवस्थित गर्न र सही बाटोमा हिँडाउन विवेक अत्यावश्य मान्नुभएको छ शङ्कराचार्यले । त्यसैले कुनै पनि काम गर्दा सचेत मनमा विवेकको साथ निरन्तर आवश्यक छ ।

शङ्कराचार्यले चित्त अथवा मनको शुद्धिका लागि सुझाउनुभएका चार तत्वमध्ये तेस्रोमा पर्छ षडङ्ग र षडङ्गभित्र पर्छन्श-म, दम, उपरति, तितिक्षा, श्रद्धा र समाधान ।
– उत्ताउलो वासना मनमा बस्न नदिनु, कुनै पनि दुर्भावना मनमा उठ्न नदिनु ‘शम’ हो ।
– जथाभावी बोल्न वा दुष्कर्म गर्नबाट मनलाई रोक्नु वा बाहिरी वाक्य आदि इन्द्रियका वृत्तिको दमन गर्नु हो ‘दम’ ।
– आँखा, जिब्रो, नाक, छाला र कानका विषय रूप, रस, गन्ध, स्पर्श र शब्द आदि विषय वृत्तिबाट हट्नुको नाम हो ‘उपरति’ ।
– जस्तोसुकै दुःख, कष्ट, जाडो, गर्मी आदि सहेर मनमा कुनै विकार उत्पन्न हुन नदिनुको नाम हो ‘तितिक्षा’ हो ।
– शङ्कराचार्यका अनुसार वेदशास्त्र र गुरुवाक्यमा भक्ति अथवा विश्वास ‘श्रद्धा’ हो ।
– सत् लक्ष्य अथवा आत्मादेखि अभिन्न ब्रह्ममा चित्तको एकाग्रताको नाम ‘समाधान’ हो ।

संसार बन्धनबाट मेरो मुक्ति कहिले र कसरी होला भन्ने जुन मोक्षको तीव्र इच्छा हो त्यसलाई शङ्कराचार्यले ‘मुमुक्षुता’ भन्नुभएको छ । यसप्रकार विवेक, वैराग्य, षट्सम्पत्ति र मुमुक्षुता नामका जुन चार साधन छन् ती बहिरङ्ग साधन हुन् । यी साधनको अभ्यासबाट साधकको अन्तः करण शुद्धि हुन्छ । अनि संसार बन्धनरूप दुःख र मृत्युको भयबाट मुक्त हुन सहज हुन्छ भनी आद्य शङ्कराचार्यले बताउनुभएको छ । यी उपर्युक्त उपायका साथै काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यमा जोडिएर आउने आवेग अर्थात् काम आवेग, क्रोध आवेग, लोभ आवेग, मोह र मात्सर्यका आवेगलाई नियन्त्रण गर्दै जान सकियो भने पनि मन शान्त हुँदै जान्छ । मनको शान्तिको अर्को उपाय मौन व्रत हो । मन ज्यादै नै तनावमा भएका बखत एकान्त स्थान वा उद्यानमा धैर्यताका साथ मौन व्रतमा बसेर पनि मनमा शान्ति ल्याउन सकिन्छ । यसरी नै योग, प्राणायाम, ध्यान आदि पनि तनाव-व्यवस्थापन, मनको शुद्धता र प्रसन्नताका उल्लेखनीय माध्यम हुन सक्छन् ।

(लेखक : पुख्र्याैली घर नुवाकोट भएका उनी पूर्वप्रशासक,
साहित्यकार तथा आध्यात्मिक चिन्तक हुन् ।)