वृक्षारोपणको सदुपयोग कसरी गर्ने ?

हाम्रो देशको हरियाली क्षेत्र धेरै भए तापनि त्यसको दोहोरो फाइदा लिन सकिएको छैन । प्राकृतिक रूपमै उमेर हुर्केका रूख मात्र धेरै छन् । सरकारी र सामाजिक समूहबाट गरिने वृक्षारोपणमा दोहोरो-तेहोरो फाइदा लिन सकिने बिरुवाको छनोट गर्ने निकायको कमी देखिन्छ । वर्षैपिच्छे लाखौँ बिरुवा रोपेर फोटो खिचाएर टिभी र रेडियोमा प्रदर्शन गरेर काम देखाउने होडबाजी र बजेट दुरुपयोग गर्नु प्रतिस्पर्धा स्थापित भइरहेको देखिन्छ । हरेक नर्सरीले वर्षैपिच्छे साना थैलीमा हजारौँ बिरुवा उमारेर साना त्यान्द्रे बिरुवा पठाइरहेको देखिन्छ, तर ती बिरुवा कति प्रतिशत सरेर हुर्के त भनेर अनुगमन भएको देखिँदैन । चार इन्चीको बिरुवालाई दश इन्चीको झार बुट्टाले छोप्छ, मरिजान्छ । एक हजार रोप्नुभन्दा एक सय बिरुवा रोपेर हुर्काउने प्रथा थाल्यौँ भने मात्र विकास हुन्छ । कलिलो बिरुवा बाँडेर ठूलाबडाको सहभागिता गराएर फोटो खिच्ने र सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा समाचारमा छापेर मात्र विकास हुँदैन भन्ने हेक्का राख्ने समूह कम हुँदा वृक्षारोपण सफल हुन सकेको छैन ।

      यससँग सम्बन्धित निकाय र जनता सबैले बसेर कार्ययोजना बनाएरै नर्सरी स्थापनादेखि रोपेका बिरुवाको संरक्षण र त्यसबाट लिने फाइदासमेत कसले कहाँ, कसरी, केका लागि कुन जातका रूखबाट, फल, पात, बोक्रा, जरासमेतबाट नगद आर्जन हुने खालका वनस्पतिको छनोट गर्न सक्यौँ भने मात्र उद्देश्य पूरा गर्न सकिन्छ । जडीबुटीजन्य वनस्पतिको छनोट गरेर हावा, पानी, माटो र जनउपयोगिता अनुकूल हुने गरी कार्ययोजना बनाएर मात्र कार्य विभाजन र जिम्मेवारी दिनुपर्छ । राजनीतिक दलका कार्यकर्ताले पनि वृक्षारोपण गर्नेभन्दा पनि गरेपछि बिरुवा हुर्काउने योजना बनाएर अघि बढ्न सके दिवंगत नेताको आत्माले शान्ति मिल्थ्यो कि भनेर सोच्नुपर्ने बेला आएको छ । हाम्रा देशभरिका जङ्गलमा उम्रेर स्वयम् हुर्केर विशाल रूख बनेर वातावरण विकास र कार्बन उत्सर्जन गरिरहेका जङ्गलमा दाउरा र काठ मात्र होइन, उत्तम जडीबुटीजन्य रूख, बिरुवा, झार, पातसमेत धेरै छन् ।

       तर, ती रूख कहाँ कति छन् भनेर थाहा पाइँदैन । किनकि घनाजङ्गलको बीचबीचमा रहेका छन् । त्यस्ता रूखको फलबाट बिरुवा उत्पादन गरेर ठाउँ र माटो अनुकूल हुने गरी छट्टा-छुट्टै क्षेत्रमा हुर्काएर त्यसबाट लाखौँ रुपैयाँ आय-आर्जन गर्न सकिन्छ । त्यस्ता जङ्गली बिरुवाको नेपाली नाम र उपयोगिता १. अमला, २. हर्रो, ३. बर्रो, ४. क्यामुन, ५. खमारी, ६. सतिसाल, ७. रातो ओखती, ८. तेजपात, ९. काउलोअर्जुन, १०. हर्चुल, ११. मुसुरेकटुस, १२. खराने, १३. ओखर, १४. काफल, १५. फलिट, १६. लोठसल्लो । यी भए रूखसम्बन्धी । भुइँमा हुने बुट्यान वनस्पति १. रातो ओखती, २. भट्टे, ३. सेतो चितु, ४. पुनर्नवाँ, (मिखासःझा), ५. गुन्दुरगानु, ६. गाईतिहारे, ७. सहश्रबुटी, ८. चौलानी झार, ९. गान्टे झार (द्रोणपुष्प), १०. लज्जावती, ११. सर्पगन्धा, १२. अपमार्ग, १३. आँखाको फुलो झार्ने दुधे झार, १४. धँगेरो हाम्रा घरवरिपरिका जङ्गलमा प्रशस्त पाइन्छ । युवापिँढीलाई यसबारे जानकारी नै छैन । औषधिजन्य रूख र बुट्यानमध्ये पहाडीदेखि बेंसीका टारमा हुने औषधिजन्य रूख-बिरुवा हुन् । अहिले धेरैजस्तो लोप हुने अवस्था पुगेको छ । नुवाकोटकै विगतको खड्गभञ्ज्याङ गाउँ हालको विनपा– ३ को वनपाखामा भएका वनस्पतिमा लोप भइसकेका १. गोब्रेको लहरा, २. जङ्गली बिमिरो, ३. डुम्राई, ४. थाकल, ५. धँगेरो, ५. अमला रहेका छन् ।

      देशका अन्य पहाडी भूभाग र हिमाली भेगमा हुने वनस्पतिबारे मलाई थाहा छैन । माथि लेखिएका औषधिजन्य वनस्पतिबाहेक अरू धेरै वनस्पति पहिचान हुन बाँकी छ । पहिचान भएकाजतिको नाम मैले देखेको महसुस गरेको कुरा सार्वजनिक गर्ने जमर्को मात्र गरेको हुँ । हाम्रो घरवरिपरि पाइने वनस्पतिका पात, बोक्रा, जरा र फलसमेत उत्तम जडीबुटीमा पर्छन्, तर ती वनस्पतिको क्षेत्र छुट्याएर खेती गरेर व्यावसायिक उत्पादन गर्न सकिन्छ । व्यावसायिक उत्पादन गरेमा वैद्यनाथ, डाबर, पतञ्जलीजस्ता भारतमा ख्याति कमाएका कम्पनीले समेत चासो लिएर हाम्रोमा आउने छन् । त्यसपछि हामी समृद्ध बन्नेछौँ । अबको शिक्षाले वन, वनस्पति, जडीबुटी विषयको अध्ययन गराउने हुनुपर्छ । यो विषय पढेका विद्यार्थीले जडीबुटीको पहिचान गर्ने, अन्न उब्जनी नहुने जमिनमा खेती गर्न सक्ने प्रविधि हासिल गराउने नीति सरकारले ल्याउनुपर्छ । जडीबुटी खेतीमा लाग्नेलाई हौसला र प्रोत्साहन दिने कार्यक्रम स्थानीय सरकारले पनि बनाउनुपर्छ ।

पुनश्चः हाम्रा गाउँमा बुढाले (हलीले) जुवा बनाउन खमारीकै काठ खोजेर बनाउँथे, गोरुको काँधमा शीतल हुने घाउ निको हुने भनेर खमारीकै काठबाट जुवा बनाउँथे । अहिले थाहा भयो पतञ्जलीले त्यसको पात, बोक्रा,फल, जरासमेत स्त्रीरोग निवारणमा उपयोगी भनेर खेती गरिरहेको छ । यस्ता धेरै उदाहरण छन् । खोजीको विषय धेरै छन् । हाम्रो समृद्धिका लागि विदेशीसँग हात फैलाउनुपर्दैन । हाम्रा स्रोत र साधनको समुचित विकास गर्न सके समृद्धि टाढा छैन । सबैलाई चेतना भया !

रामहरि रिमाल बाजे
विनपा-१, ढुङ्गे, नुवाकोट